संसदीय दलमा बहुमत जुटाउने प्रयासमा प्रधानमन्त्री ओली

पत्रपत्रिकाबाट

बुधबार, १७ बैशाख २०७७, ०६ : ५६
संसदीय दलमा बहुमत जुटाउने प्रयासमा प्रधानमन्त्री ओली

काठमाडौँ । राजीनामाका लागि पार्टीभित्र दबाब बढ्दै गएपछि प्रधानमन्त्री केपी ओली संसदीय दलमा बहुमत पुर्‍याउने प्रयासमा जुटेका छन् । उनले पूर्वएमाले मात्र होइन, पूर्वमाओवादीका सांसदलाई सामूहिक र व्यक्तिगत रूपमा भेट गरिरहेका छन् । 

पार्टी सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा समेत अल्पमतमा रहेका ओली संसदीय दलमा भने टक्कर लिने मनस्थितिमा छन् । प्रधानमन्त्री पदको निर्णय पनि संसदीय दलले गर्ने संवैधानिक व्यवस्था छ । संसदीय दलमै बहुमत पुर्‍याएर प्रचण्ड–नेपाल समूहको प्रयास बिफल बनाउन सकिनेमा ओली समूह आशावादी पनि छ । 

‘संसदीय दलमा बहुमत पुग्छ भन्नेमा उहाँहरू ढुक्क देखिनुहुन्छ, जस्तोसुकै परिस्थितिको पनि सामाना गर्न तयार हुन सांसदहरूलाई निर्देशन पनि दिनुभएको छ,’ मंगलबार बालुवाटार भेलामा सहभागी एक सांसदले नयाँ पत्रिकासँग भने ।

नेकपामा एक सय ७४ सांसद छन् । संसदीय दलमा बहुमतका लागि ८८ सांसद आवश्यक पर्छ । नेकपा संसदीय दलमा पूर्वएमालेको एक सय २१ तथा पूर्वमाओवादी समूहका ५३ सांसद छन् । वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमसहित नेपाल समूहमा ४३ सांसद भएको सो समूहको हिसाब छ । यसरी आफ्नो पक्षमा ९६ जना भएको र ओली समूहबाट पनि केही मान्छे जोडिँदा एक सय नाघ्ने हिसाब प्रचण्ड–नेपाल समूहको छ । उता, अहिलेसम्म ओली एक्लैसँग ७८ सांसद रहेको उनीनिकट नेताहरूको दाबी छ । बहुमतका लागि ८८ जना सांसद आवश्यक हुने भएकाले थप १० सांसद जोड्न सो समूह सक्रिय छ । 

त्यति मात्र होइन, नेपाल समूहको मुख्य स्तम्भ मानिएका घनश्याम भुसाल र योगेश भट्टराई अहिले निष्क्रिय छन् । उनीहरू पनि तटस्थ रहने ओली समूहको विश्वास छ । नेपाल समूह मात्र होइन, पूर्वमाओवादी समूहलाई आकर्षित गर्ने ओलीको प्रयास निरर्थक भएको छैन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योग–वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ओलीलाई समर्थन गर्ने संकेत गरेका छन् । 

उद्योगमन्त्री भट्टले भने अहिले सरकारको नेतृत्व खोज्दा जनमतको अपमान हुने टिप्पणी गर्दै आएका छन् । उनी ओली समूहले सोमबार बालुवाटारमा बोलाएको भेलामा पनि सहभागी थिए । 

स्थायी समिति सदस्य टोपबहादुर रायमाझीलाई मनाउन प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेललाई जिम्मा दिएका छन् । रायमाझीले भने आफू पार्टी एकताको पक्षमा रहेको भन्दै संस्थागत विधि र प्रक्रियाभन्दा बाहिर गएर समस्या समाधान खोजिए आफ्नो साथ नरहने बताए । आजको नयाँ पत्रीका दैनिकमा खबर छ ।