न्युजिल्यान्डमा कसरी सम्भव भयो त कोरोना संक्रमण निर्मूल ?

मंगलबार, १६ बैशाख २०७७, ०७ : ५१
न्युजिल्यान्डमा कसरी सम्भव भयो त कोरोना संक्रमण निर्मूल ?

अकल्यान्ड । न्युजिल्यान्डले समुदायमा हुने स्थानीय संक्रमण रोकेको जनाउँदै कोरोना भाइरस (कोभिड–१९) लाई निर्मूल पारेको दाबी गरेको छ । केही दिनयता दैनिक नयाँ संक्रमित एक जना मात्र भेटिएको जनाउँदै प्रधानमन्त्री जसिन्डा आर्डर्नले कोभिड–१९ हालका लागि निर्मूल भएको बताएकी हुन् ।

उनका अनुसार आइतबारमात्र एक जना नयाँ संक्रमित भेटिएका हुन् । तर अधिकारीहरूले उक्त घोषणाबाट उत्साहित नहुन चेतावनी दिएका छन् । प्रधानमन्त्रीको भनाइको अर्थ भाइरसको संक्रमण अन्त्य भएको वा हुन नसक्ने निष्कर्ष निकाल्न नहुने उनीहरूको भनाइ छ ।

न्युजिल्यान्डले कडा प्रतिबन्धहरू हटाउनुभन्दा केही घण्टा अगाडि प्रधानमन्त्रीले उक्त घोषणा गरेकी हुन् । न्युजिल्यान्डमा मंगलबारदेखि स्वास्थ्य तथा शिक्षा र अन्य व्यवसायहरू सुचारु हुने गरी प्रतिबन्ध हटाइएको हो । तर अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन तथा र सामाजिक जमघट गर्न नहुने नियम कायमै छन् । ‘मानिसको सामाजिक जीवन होइन, हामी अर्थतन्त्रलाई खोल्दैछौं,’ नियमित पत्रकार सम्मेलनमा आर्डर्नले भनिन् ।

उनले ठूलो संख्याको समुदायमा संक्रमण फैलिन नपाएको भन्दै कोरोनाविरुद्धको युद्ध जितेको बताइन् । भाइरस अहिले निर्मूल भए पनि देश सावधान अवस्थामा रहनुपर्ने आर्डर्नको सुझाव छ । न्युजिल्यान्डमा कोभिड–१९ बाट संक्रमित भएका १ हजार ४ सय ६९ मध्ये १९ जनाको मृत्यु भएको छ । न्युजिल्यान्डका स्वास्थ्य महानिर्देशक एस्ले ब्लुमफिल्डले पछिल्ला दिनमा देखिएको तथ्यांकले संक्रमण निर्मूल पार्ने लक्ष्य प्राप्त भएको विश्वास गर्न सकिने बताए । तर यसलाई नयाँ संक्रमण हुँदै नहुने रूपमा अर्थ लगाउन नहुने उनको भनाइ छ ।

न्युजिल्यान्डले संक्रमण फैलिन सुरु भएलगत्तै सीमा नाकाहरू बन्द गरेको थियो । त्यसपछि बृहत् रूपमा भाइरसको परीक्षण गरिएको थियो । ‘बेलैमा त्यसो नगरेको भए न्युजिल्यान्डमा दैनिक हजारको संख्यामा संक्रमित थपिने थिए,’ आर्डर्नले भनेकी छन् । कान्तिपुर दैनिकमा खबर छ ।