अख्तियार आयुक्तको लोभमा प्रयोग भए पूर्व आईजीपी सर्वेन्द्र खनाल !

प्रहरी महानिरीक्षक रहँदा कहिल्यै राम्रो सम्बन्ध नभएका प्रधानमन्त्री ओली र सर्वेन्द्र खनालको सम्बन्ध एकाएक कसरी राम्रो बन्यो र उनी ओलीका लागि सांसद अपहरण सम्म किन प्रयोग हुन पुगे ? प्रश्न गम्भिर छ

शुक्रबार, १२ बैशाख २०७७, ०९ : ४६
अख्तियार आयुक्तको लोभमा प्रयोग भए पूर्व आईजीपी सर्वेन्द्र खनाल !

काठमाडौं । प्रहरी महानिरीक्षक रहँदासम्म प्रधानमन्त्री केपी ओलीले सर्वेन्द्र खनाललाई कहिल्यै रुचाएनन् । निर्मला बलात्कार पछिको हत्याकाण्ड देखि प्रहरीका कतिपय काममा उनी असफल ठहरिएको निश्र्कष पछि ओली उनीसँग सन्तुष्ट थिएनन् ।

२०७४ चैत २७ मा प्रहरी कमाण्ड सम्हाले पछि लगत्तै रमेश खरेलले खनालको नेतृत्व सक्षमतामा प्रश्न उठाउदै राजीनामा दिएका थिए । पछिल्ला दिनमा उनलाई सरकारले हटाउने तयारी गरिरहेको समाचार दिनहँ जसो सञ्चारमाध्यममा आउथ्यो पनि । उनको अमेरिका लगायत केही देशको भ्रमणमा गृहमन्त्रीले प्रस्ताव लगेपनि प्रधानमन्त्री ओलीले रोक्ने काम गरिदिएका थिए  ।  

नेपाल प्रहरी, सशस्त्र प्रहरी र गुप्तचर विभागका प्रमुखसमेत तीनै सुरक्षा प्रमुखहरुले अमेरिकामा एउटा कार्यक्रममा सहभागी हुन गृहमार्फत क्याबिनेटमा प्रस्ताव पु¥याएका थिए । तर, मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री रिसाएपछि त्यो भ्रमण स्वीकृत भएन ।  एआईजी नियुक्तिको सिफारिस देखि भक्तपुरको फेक इन्काउन्टर प्रकरणमा पनि सर्वेन्द्रको भूमिकासँग ओली सन्तुष्ट थिएनन । त्यसबेला उनको कार्यसम्पादन सन्तोषजनक नदेखिएको प्रधानमन्त्री ओलीको सैधभरको गुनासो गृहमन्त्रालयसँग हुने गर्दथ्यो । 

गृहमन्त्रालय र सरकारसँग पनि समन्वय गरि कतिपय योजना आफै बनाई प्रहरीपरिचालन गर्ने गरेको आरोप पनि उनी माथी लागेको थियो । निर्मला हत्यकाण्ड देखि चितवनमा रवि लामिछाने प्रकरण हुदा सम्म आफै राजनीतिक दलका नेता जस्तो उनको दौडधुपलाई सरकारले रुचाएको थिएन ।  त्यक्तिमात्र होइन,  उनले थाइल्यान्डको बँककमा भएको बहुपक्षिय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडी राष्ट्रहरुको प्रयास (विमस्टेक) राष्ट्रका सुरक्षा प्रमुखहरुको बैठकमा नेपालको परराष्ट्र नीति उल्लंघन गदै भारतीय सुरक्षा सल्लाहकार अजित डोभलको प्रस्तावलाई नेपाल सरकारको अनुमति बिनै आफै समर्थन जनाएर फर्केका थिए ।

क्षेत्रीय मञ्चबाट भारतीय रणनीतिलाई समर्थन जनाएर फर्केपछि सरकार समेत आईजिपि खनालसँग झस्केको थियो । यो विषयमा परराष्ट्रले नेपाल सरकारको त्यस्तो धारणा नरहेको भन्दै प्रष्टिकरण नै दिनु परेको थियो । विप्लवका सर्लाही इन्चार्ज कुमार पौडेललाई आफ्नै टिम केन्द्रबाटै परिचालन गरेर इन्काउन्टर गर्ने सम्मका विवादास्पद काम गरेर उनले सरकारलाई समेत अप्ठयारोमा पार्ने काम गरेका थिए । जसकाकारण उनका लागि ओलीको बालुवाटार निवासको ढोका आक्कलझुक्कल मात्र खुल्ने गरेका थिए ।  सर्वेन्द्रले अवकास पाउदै गर्दा पनि उनले सेवा अवधी थप गर्न लविङ पनि गरेका थिए । तर त्यसवेला पनि प्रधानमन्त्री उनीसँग सन्तुष्ट नदेखिएकै कारण सम्भव भएको थिएन । 

अहिले उनै खनाल प्रहरी महानिरीक्षक पदबाट रिटायर्ड भएसँगैे ओलीका लागि कति विश्वास पात्र बन्न पुगेका रहेछन भन्नेकुरा समाजवादीका सांसद डा. सुरेन्द्र यादवको अपहरण काण्डसम्म जोडिन पुगेपछि खुलेको छ । प्रधानमन्त्रीको निर्देशनमा नेकपाका सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठलाई साथ लिएर आईजिपी खनालले सांसद यादवलाई समाजवादी पार्टी फुटाउने प्रधानमन्त्रीको योजना कार्यान्वयनका लागि फिल्ड कमाण्डर वन्न महोत्तरीसम्म पुगेयता खुलेको छ । खनाल ओलीको चाकडी र योजना कार्यान्वयनमा नजुटेसम्म कुनै लाभको पद लिन नसक्ने निश्र्कषमा पुगेपछि ओलीले जे भने पनि मान्ने अवस्थामा पुगेका हुन् ।

प्रहरी प्रधान कार्यलयको खरिद प्रकरणमा अनियमिततामा अख्तियारमा उनको विरुद्धमा मुद्धा कायमै छ । तर प्रधानमन्त्री ओलीले उनलाई अख्तियारमा मुद्दा होइन, मुद्दा छिनोफानो गर्ने गरी आयुक्त बनाएर लैजान खोजेको बताएपछि उनी ओलीका लागि राम्रो नराम्रो जे पनि गर्न तयार भएका थिए । पदका निक्कै आसक्ति र चाकडीमा लिप्त सर्वेन्द्रका स्वभाव देखेपछि प्रधनमन्त्रीले सर्वेन्द्रलाई प्रयोग गर्न योजना बनाए ।

आश्वासनका पुलिन्दा दिदै प्रधानमन्त्रीले प्रहरी महानिरीक्षक भईसकेका ब्यक्तिलाई अपराध कर्ममा प्रयोग गरेका छन् । प्रधानमन्त्रीको कुर्सीमा बसेर अरुका पार्टी विभाजन जस्तो असफल कुकृत्यमा लागेका प्रधानमन्त्री ओलीले सोही कारण पनि सर्वेन्द्रलाई प्रयोग गर्न सफल भएका थिए ।