मुस्लिम धर्मावलम्बीलाई अन्यथा नसोच्नुहोस् : सिद्धिकी

बुधबार, १० बैशाख २०७७, १४ : ११
मुस्लिम धर्मावलम्बीलाई अन्यथा नसोच्नुहोस् : सिद्धिकी

- प्रकाश सिग्देल
चितवन । मुस्लिम धर्मावलम्बीहरु कोरोनाको जोखिमका बिषयमा सचेत रहेको मुस्लिम संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य मोहम्मद सिद्धिकीले बताउनु भएको छ । 

पहाडी जिल्लाबाट बसाई सरेर आएका चितवनका मुस्लिम धर्मावलम्बीहरुले यहाँ कसैलाई मस्जिदमा संरक्षण दिएर राख्नु पर्ने अवस्था नरहेको र आफुहरु यसको जोखिम जिल्लामा फैलन दिन हुँदैन भन्ने बिषयमा पुर्ण सचेत रहेर चितवन प्रशासनको समन्वयमा रहिराखेको उहाँले बताउनु भयो ।  

आफुहरुले सावधानीका लागि सरकारी निर्देशन पूर्ण रुपमा पालना गर्दै सामुहिक नवाज पनि पढ्न छाडेकाले चितवनका मुस्लिम धर्मावलम्बीका सम्बन्धमा अन्यथा सोच्नु पर्ने अवस्था जिल्लामा नरहेको उहाँको भनाइ छ । 

भरतपुर महानगर ३ को  बेलचोकको मस्जिदमा  रहेका ८ जना पाकिस्तानी र लिलाचोकमा रहेका १४ भारतीय सहित १९ जना र अन्यलाई चितवन प्रशासनले पश्चिम चितवनको मस्जिदमा राख्नका लागि लगेपनि पुनः ल्याएर उनीहरु बसैकै स्थानमा छाडेको र उनीहरुलाई बाहिर हिँड्न नदिनु भनी प्रशासनले आफुहरुलाई भनेकाले आफुहरुले सोही अनुरुपको ब्यवस्था मिलाएको उहाँ बताउनु हुन्छ । ८ जना पाकिस्तानी भारतमा आयोजित धार्मिक सभामा जान नपाएपछि चितवनमै अड्कीएको र अरु भारतीयहरु भने चितवनमा नै ज्यामी काम गर्ने र मस्जिदमा कोठा भाडामा लिएर बस्नेहरु रहेको उहाँको भनाई छ । उनीहरुबाट कोरोनाको कुनै प्रकारको जोखिम नरहेको हुँदा चितवनमा आत्तिनु पर्ने अवस्था नभएको सिद्धिकिले बताउनु भयो ।

पाकिस्तानीहरुको पासपोर्टको फोटोकपी समेत प्रशासनमा बुझाएको उहाँको भनाइ छ । 
चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले चितवनका ५४ मध्ये सप्तरी घर भएका १२ जनालाई समन्वय गरी त्यहीँ पठाएको र बाँकी अहिले पुरानै ठाउँमा सुरक्षित रुपमा बसेका बताउनु भयो । उनीहरु सबैलाई  ब्यवस्थित रुपमा एकै ठाउँमा क्वारेन्टाईनमा राख्न पश्चिम चितवनको झनझनेमा लगिएपनि त्यहाँ राख्ने बिषयमा स्थानीयले असहमति जनाएपछि उनीहरु बसेकै ठाउँमा तत्कालका लागि खानपानको ब्यवस्थासहित राखिएको शर्माको भनाइ छ । 

उनीहरुलाई बाहिर नहिँड्न निर्देशन गरिएको र उनीहरु भित्रै सुरक्षित रुपमा बस्ने शर्मा बताउनु हुन्छ । उनीहरुकै सुबिधाका लागि प्रशासनले यस्तो प्रयास गरेको शर्माले बताउनु भयो । 
चितवनमा कोरोनाको संक्रमण फैलन नदिन आफुहरु अहोरात्र खटिएको र जिल्लाका सबै नाकाहरुमा कडाईसंगै लकडाउन पुर्णरुपमा पालना गराउने र  स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुलाई पुर्ण सुरक्षासहित तयारी अवस्थामा राख्नेतर्फ आफुहरु पुर्णरुपमा लागिपरेको शर्माको भनाई छ ।

प्रतिक्रिया दिनुहोस