अध्यादेश प्रकरण

बालुवाटारमा ‘बामदेव’ ले तातोपानी खान नपाएपछि...

बुधबार, १० बैशाख २०७७, ०८ : ३५
बालुवाटारमा ‘बामदेव’ ले तातोपानी खान नपाएपछि...

काठमाडौं ।
स्थान : प्रधानमन्त्री निवास बालुवाटार ।
समय : साँझ ६ वजे
मिति : २०७७ वैशाख ८ गते ।

सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै थियो । छलफलको विषय थियो – प्रधानमन्त्री केपी ओलीले पार्टीमा छलफल नै नगरी ल्याईएको दुई वटा अध्यादेश । ओलीले सोही दिन दिउँसो बसेको क्याबिनेट बैठकबाट राजनीतिक दल सम्बन्धि ऐन संसोधन गर्न विधेयक र सम्वैधानिक परिषद् सम्बन्धि ऐन संसोधन गर्ने दुई वटा विधेयक एकाएक ठाडो प्रस्तावका रुपमा ल्याई निर्णय लिएका थिए ।

दुवै विधेयक जारी गर्नका लागि राष्ट्रपति कार्यालयमा समेत हतारमा पठाउने निर्णय जब गरियो, त्यसपछि सत्तारुढ दल नेकपाभित्र हलचल पैदा भयो । पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई खुमलटारबाटै टेलिफोन गरे –‘लौ तपाँईले त दुई वटा यति महत्वपूर्ण विद्येयक छलफल विनै सुटुक्कै ल्याई पो दिनुभयो । यो शैली ठीक भएन ।’ पछिल्ला दिनमा प्रधानमन्त्रीको एकलौटी निर्णय गर्ने र आफै ब्रम्हज्ञानी झै गरी कसैसँग सरसल्लाह बिनै अगाडी बढ्ने प्रवृक्ति झाङगिन थालेपछि दुई अध्यक्षका बीचको सम्बन्धमा चिसोपना देखिएको थियो । यही बीच ओलीले नेताहरुलाई समेत सुइको नदिई अध्यादेश नै ल्याएपछि प्रश्न उठाउनु दाहालले स्वभाविक थियो ।

कम्युनिष्ट पार्टीमा सरकार पार्टी मातहत हुने सामान्य सैद्धान्तिक नियमलाई ओलीले सरकारको नेतृत्व सम्हाले यता नै बारम्बार तोडदै आएका थिए । बारम्बार ओलीको कार्यशैली एकल निर्णय गदै अगाडी बढ्ने देखिएसँगै सचिवालयले मौखिक रुपमा एउटा विधि बनाएको थियो – कुनै पनि निर्णय गर्दा पार्टी सचिवालयमा सल्लाह गरेर मात्र गर्ने, सचिवालयका सबै सदस्यको धारणा सुन्ने, त्यो सम्भव नदेखिए दुई अध्यक्ष र महासचिव बस्ने र छलफल गरी सहमतिका आधारमा गर्ने ।  यो विधिलाई पनि ओलीले टेरेका थिएनन । झण्डै दुई तिहाई मत सहित सरकारको नेतृत्व गरिरहेको पार्टीकै अर्का अध्यक्ष ओलीले पार्टीसँग सल्लाह नगरी अध्यादेश ल्याएपछि प्रचण्ड आक्रोशित हुनु स्वभाविक नै थियो । 

उनले तत्काल सचिवालय बैठक बोलाउन ओलीलाई टेलिफोनमै भने । ‘साथीहरु बैठकको माग गरिरहनुभएको छ, तत्काल अहिले नै सचिवालय वैठक बसौं, तपाई तयार हुनुहुन्न भने म धुम्बाराहीमा बैठक बोलाउँछु’ प्रचण्डलाई ओलीले बालुवाटार छलफलका लागि बोलाउदै गर्दा प्रचण्डको जवाफ थियो । त्यसपछि बोलाईएको थियो नेकपा सचिवालय बैठक । यहाँ उल्लेख गर्न खोजिएको विषय त्यही सचिवालय बैठकको हो – जँहा उपाध्यक्ष वामदेव गौतमले तातोपानी खान खोज्दा पनि पाउन सकेनन । सचिवालय बैठकको शुरुमै नेताहरुका बीचमा चर्काचर्की परिहाल्यो । एक सचिवालय सदस्यका अनुसार, बैठकको शुरुमै प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्डले बैठकको माग गर्नुभएकोले बैठक बोलाईएको बताए ।

त्यसपछि प्रचण्डले गुपचुप अध्यादेश ल्याउनुभयो ? यसरी पार्टीमा छलफल गर्नुपदैन ? प्रश्न के गरेका थिए, ओलीले कडकिदै भने,–‘हल्ला नमच्चाउन गुपचुप गरेको ।’ पार्टीमा केही विषय छलफलमा आउनै हुदँैन बाहिर सार्वजनिक हुने र त्यसले गर्न खोजिएको काममा नै अवरोध उत्पन्न गर्ने गरेकोले बाहिर हल्ला नहोस भन्नका लागि आफुले गुपचुप निर्णय लिएको प्रधानमन्त्री ओलीको प्रष्टोक्ति थियो । राष्ट्रिय महत्वको यति सम्वेदनशील विषयमा पार्टी बैठकलाई छल्ने र पार्टी नेताहरुलाई नै विश्वास नगरी बाहिर हल्ला हुने हुँदा गुपचुप गर्नुपरेको जस्ता प्रधानमन्त्री ओलीको गै¥ह जिम्मेवार जवाफ पछि सचिवालय बैठक चर्काचर्की हुन थाल्यो ।

त्यही बीच अध्यादेश उचित लागेको भनी धारणा राखेका उपाध्यक्ष वामदेव गौतमले बैठकको चर्काचर्कीलाई डाइभर्ड गर्न खोजे । तर माहोल झन तात्तिदै जान थाल्यो । कुनै नेता साम्य हुने संकेत देखिएन । त्यसपछि गौतमले तातोपानी खान खोजे । ‘मलाई तातोपानी खान प¥यो, लौन मगाउनुप¥यो ’ गौतमले बैठकका नेताहरुको ध्यानाकर्षण गराए । कोही सहयोगी थिएनन् । होउन पनि कसरी, पार्टी बैठकको बन्द कोठा । त्यसमाथी मुलुक लकडाउनमा रहेको र कोरोना विरुद्द जुध्न सामाजिक दुरी कायम गरि राखिएको सचिवालय बैठक ।

अघिपछि बाक्लो उपस्थिती रहेन सहयोगीहरु प्रधानमन्त्री निवासमा त्यसदिन पातलिएका थिए । कोही सहयोगी नदेखेपछि गौतमले पार्टी महासचिव बिष्णु पौडेललाई चिया बिस्कुट मगाउन पनि भने । गौतमले तातोपानी खान, चिया बिस्कुट मगाउन आग्रह गरेपछि महासचिव पौडेल आफै मगाउन उठेर गएका पनि थिए तर चिया त के तातोपानी पनि उनले ल्याउन सकेनन् । बैठकमा इश्वर पोखरेलले मात्र प्रधानमन्त्री ओलीको प्रस्तावमा सही भएको वताए । अन्य नेताहरुले अध्यादेश सही भएको बताउनेले पनि समय र सन्र्दभ उचित नभएको टिप्पणी नै गरेका थिए ।

बैठकमा नेताहरुले अध्यादेश फिर्ता नै गराउन प्रधानमन्त्रीलाई दबाब बढाउने गरी धारणा राखिरहेका पनि थिए । तर त्यही बीच राष्ट्रपतिले अध्यादेश जारी गरिदिए । त्यसपछि भने बैठक नै चर्काचर्कीका बीच साम्य हुने र छोटिने प्रक्रियामा गयो । नत्र बैठक लम्बिन सक्थ्यो सचिवालयका ति सदस्यले भने । त्यसपछि त वामदेवको माग अनुसारको न तातोपानी नै बैठक कक्षमा पुग्यो, न चिया बिस्कुट नै । त्यसदिन नेताहरुले तातोपानी समेत नखाई बालुवाटारबाट निस्केका थिए ।