काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान चुनौतीपूर्ण घडीमा पार्टी एकताप्रति संवेदनशील रहन, पार्टीलाई एकताबद्ध बनाइराख्न र आपसी हार्दिकता अभिवृद्धि गर्न आह्वान गर्नुभएको छ । वरिष्ठ नेता नेपालले नेपाल कम्युनिस्ट पार्टीको ७१औँ स्थापना दिवसका अवसरमा संस्थापक महासचिव पुष्पलाललगायत संस्थापकहरुको स्मरण गर्दै आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा बलियो र एकताबद्ध पार्टीबाट मात्रै मुलुकको आमूल परिवर्तनको नेतृत्व गर्न र जनताले सुम्पेको जिम्मेवारी कुशलताका साथ पूरा गर्न सकिने उल्लेख छ ।
कम्युनिस्ट आन्दोलनका विगतका टुटफुट र विभाजनका नकारात्मक अनुभवबाट पाठ सिक्दै दुई वर्षअघि गरेको पार्टी एकतालाई अझ सुदृढ, दिगो र बलियो बनाउनु यतिबेला सबै नेता–कार्यकर्ताको गहन जिम्मेवारी भएको उहाँले उल्लेख गर्नुभएको छ । “मुलुक चुनौतीपूर्ण अवस्थामा रहेको बेलामा पार्टीको दायित्व अझै बढेको छ, नयाँ संविधान जारी भएपछि सम्पन्न निर्वाचनमा जनताले पार्टीलाई दिएको अभिमत सामाजिक न्यायसहितको समुन्नत र समृद्ध मुलुक निर्माणको अभिभारा पूरा गर्नका लागि हो”, विज्ञप्तिमा भनिएको छ, “नेपालको राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, अखण्डता र स्वाभिमानलाई बलियो तुल्याउनको लागि हो ।”
राष्ट्रिय राजनीतिमा पार्टीले निर्वाह गरिरहेको नेतृत्वदायी भूमिका पार्टीको विधि–पद्घति तथा सङ्गठनात्मक प्रणाली, नेतृत्व तहबीचको विश्वास, कार्यकर्ताहरुबीचको एकताबद्ध सहकार्य र जनसमुदायको समर्थनबाट मात्र सफलताका साथ पूरा गर्न सकिने विज्ञप्तिमा उल्लेख छ । “सिङ्गो पार्टी पंक्तिलाई भावनात्मक रुपले एकताबद्ध बनाउन जिम्मेवारीका साथ अघि बढ्नुपर्दछ”, विज्ञप्तिमा भनिएको छ, “पार्टीलाई विधिका आधारमा सहमति, समझदारी र विश्वासका साथ अघि बढाउने कुरामा आ–आफ्नो ठाउँबाट योगदान गर्न पनि म सबैलाई आग्रह गर्दछु ।”
कोरोना भाइरसको महामारीले विश्वसहित नेपाललाई आक्रान्त पारिरहेको बेला सरकार तथा सरकारको नेतृत्व गरिरहेको पार्टीका हैसियतले सिङ्गो राष्ट्र, पार्टीसहित अन्य पार्टीका नेता, कार्यकर्ता र जनताको ध्यान महामारीको सङ्क्रमणका विरुद्ध लड्ने काममा केन्द्रित हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ । साथै, सरकारले गरेका निर्णयको पालना गर्दै आफू पनि सुरक्षित रहँदै जनताको स्वास्थ्य र जीवन सुरक्षामा केन्द्रित रहन र जनसेवाको भावनाबाट अग्रसर हुन नेता नेपालले सबैलाई अनुरोध गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०९ बैशाख २०७७, १९ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वप्रधानमन्त्री नेपालको पक्षमा सयभन्दा बढी वकिल, वरिष्ठ अधिवक्ता सुशील पन्तले अख्तियारको नेतृत्व गर्ने
प्रचण्ड र माधव नेपालबिच भेटवार्ता
माधवकुमार नेपालको सांसद पद निलम्बन
माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पूर्वराजालाई नेपालको सुझावः शासनमा फर्कन चुनावबाहेक अर्को बाटो छैन
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रूपान्तरणका लागि हुनुपर्छ : माधव नेपाल