काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश आफ्नोभन्दा पनि अरू पार्टीलाई लक्ष्य गरेर ल्याएको स्पष्टीकरण नेकपा सचिवालय बैठकमा दिएका छन् । अध्यादेश जारी गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेपछि आकस्मिक रूपमा डाकिएको पार्टी सचिवालय बैठकमा ओलीले ‘पार्टी त्यागेर आउँछौं’ भन्नेहरुलाई परेको बाधा खुलाउन आवश्यक परेको बताए ।
‘अरू पार्टीका केही नेतासंँग त्यही ढंगले कुराकानी भइरहेको थियो,’ ओलीको भनाइ उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘पार्टीमा पनि संसदीय दलमा पनि ४० प्रतिशत चाहिने कुराले पार्टी त्यागेर आउँछौं भन्नेहरुलाई बाधा भयो ।’ बैठकमा प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउनु कुनै ठूलो कुरा नभएको बताएका थिए । ‘लामो छलफल जरुरी छैन भनेर ल्याइयो, ल्याउनै पर्ने थियो,’ ओलीले बैठकमा भनेका थिए । स्रोतका अनुसार ओली ‘अध्यादेश नल्याएको भए धेरै कुरा बिग्रिन्थ्यो’ भन्ने शैलीमै प्रस्तुत भएका थिए ।
साँझ साढे ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूले अहिले नै अध्यादेश ल्याउनुको कारणबारे बताएका थिए । उनले विभिन्न संवैधानिक आयोगमा रिक्त स्थानमा पद पूर्ति गर्नै पर्ने भएकाले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र अरू दलले पनि पहिल्यैदेखि आग्रह गरेकाले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउनुपरेको बताएका थिए । उनले यसअघि एउटा अध्यादेश ल्याएर सहमति गर्नकै लागि फिर्ता गरिएको भए पनि पाँच/पाँच महिनासम्म पनि कुनै उपलब्धि नभएपछि फेरि अध्यादेश ल्याउनुपरेको उल्लेख गरेका थिए । ‘यत्रो समय सहमति हुन्छ कि भनेर कुरिएकै हो,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘कोरोना कोरोना भनेर मात्रै पनि भएन, सरकारको नियमित काम पनि गर्नुपर्यो ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०९ बैशाख २०७७, ०६ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
ओलीको रिस बादलमाथि पोखियो, एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत
ओलीको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पोखरेलको इजलासमा