पशुको दर्द सुन्ने कसले ? संरक्षणको जिम्मेवारी सरकारको होइन ?

आइतबार, ०७ बैशाख २०७७, १४ : ०२
पशुको दर्द सुन्ने कसले  ? संरक्षणको जिम्मेवारी सरकारको होइन  ?

फाइल फोटो

काठमाडौं । कोरोना भाइरसकेको संक्रमणको जोखिमका कारण मुलुकमा लकडाउन लागु भएको झण्डै एक महिना पुग्न लागेको छ ।

यो अवधिमा मानिस मात्रै होइन छाडा रहेका पशुसमेत नराम्ररी प्रभावित बनेका छन् । मुख्यगरी मानिसको छेउठाउँ बस्ने बाँदर र कुकुर प्रत्यक्ष प्रभावित भएका छन् । यी दुई जनावर मानिसबाटै प्राप्त खानेकुरामा बढी आश्रित हुने जनावर हुन् । 

लकडाउनको एक हस्तासम्मत त्यस्तो समस्या थिएन । त्यसपछि लगातार मान्छे देख्न नपाउँदै यस्ता जनावर मानिसको पछि लाग्न थाल्यो । पशुपंक्षिको क्षेत्रमा काम गर्दै आएकी बीना पन्तले सडकका कुकुरहरु भोकले पछिपछि लागेपछि खाना खुवाउने अभियान थालेको बताइन् । 

अहिले यसरी खाना खुवाउने अभियानमा दर्जनौँ संघसंस्था लागेका छन् । स्वयंसेवी समुहले पनि आआफ्नो समुहमा सडकका जनावरलाई खाना खुवाउन थालेपछि भने पछिल्लो समयमा यसरी कुकुर बाँदर मानिसको पछिलाग्ने क्रम केही कमि भएको छ । तर अझै तिनिहरुको पुरा पेट भनिन पाएको छैन ।
 
यसरी कुकुर बाँदर र चराहरु भोकै भएपछि स्नेहाज केयरले पनि दैनिक ५० हजार खर्चेर खाना खुनाउने अभियान नै चलाएको छ । जनावर एम्बुलेन्स लिएरै उनीहरु खाना खुवाउन निस्किन्छन् । कतिपय ठाउँमा भोकले कुकुर मरेको फेला परेको छ । कतिपय भोकले हिंड्न नसक्ने भएर बसेको देखियो, स्थिति नाजुक देखेर उद्धार र उपचारको कामलाई तत्काल रोकेर खानेकुरा खुवाउने अभियानमा लागेको उक्त संस्थाकी अध्यक्ष्ँ स्नेहा श्रेष्ठले बताइन् ।

भृकुटीमण्डपमा यसैगरी पुग्दा उनले ४ वटा कुकुर मरेको देखिन् । अन्यत्र क्षेत्रमा पनि कुकुर मरेको अलपत्र परेको खबर उनलाई आइरहेको छ । त्यसैले विहान ६ बजेदेखि राती ६ बजेसम्मै सडकमा कुकुरलाई खाना खुवाउँदैमा बित्छ । उनको दैनिकी । उनीसँग अन्य पशु चिकित्सक तथा स्वयंसेवीहरु समेत खटिने गरेका छन् ।

मानिसका नजिकका मित्र मानिन्छन् घरपालुवा पशु, मन्दिर परिसरमा रहेका कुुकुर, बाँदर तथा अन्य चौपाया । वर्तमान परिस्थितिमा मानिसको आवतजावत बन्द भएको र खाना पाक्ने तथा दिने अवस्था नभएपछि पशु भोकभोकै छन् । पशु भोको हुँदा झन् आक्रामक हुने र नजिकका घर तथा बस्तीमा समेत प्रवेश गर्ने सम्भावना बढ्ने पशु अधिकारकर्मी बताउँछन् । 

यो अवस्था उपत्यकामा मात्रै होइन मुलुकभरि देखिएको छ । पशुको अवस्था दयनीय देखेपछि मानिस स्वतःफूर्तरुपमा जनावर तथा चराचुरुङ्गीलाई खाना खुवाउने गरेको देखिएको छ । 

स्नेहाज केयरले पनि दैनिकरुपमा यस्ता पशुलाई खाना खुवाउन थालेको छ । उक्त समूहले दैनिक एक हजार कुकुर र एक हजार बाँदरलाई काठमाडौँ र ललितपुरमा खाना खुवाउँदै आएको छ । 

बाँदरलाई उसिनेको आलु, चना केराउ दिने गरिएको छ, काग परेवालाई चामल गेँडागुडी दिइन्छ । गाईलाई बन्दा र कुकुरलाई उसले मन पराउने खाना दिने गरिएको छ । यसरी सधैँ गर्न नसक्ने भएकाले राज्यले नै दायित्व लिनुपर्ने उनको भनाइ छ । संरक्षणको जिम्मेवारी सरकारकै हुने उनीहरुको भनाई छ ।

पशुको क्षेत्रमा काम गर्ने १० स्वयंसेवी समूहलाई उक्त संस्थाबाट खाना लिएर कुकुर, बाच्छाबाच्छी तथा बाँदरका लागि खाना दिने गरेको छ । त्यो खाना उनीहरुले ठाउँठाउँमा पुगेर खुवाउने गरेका छन् । सडकका बेवारिसे मानवको उद्धार गर्ने मानवसेवा आश्रमले भोकाएका मानिसलाई मात्रै होइन भोकाएका पशुलाई समेत खाना खुवाउँदै आएको छ । सडकका कुकुर तथा बाच्छालाई समेत खानेकुरा दिने गरिएको आश्रमका प्रवक्ता सुमन वर्ताैलाले बताए ।

कतिपय स्थानीय तहले बेलाबेलामा खाना खुवाएको देखिए पनि नियमित हुन सकेको छैनन् । मुलुकका अन्य विभिन्न स्थानमा पनि छाडा चौपायाको अवस्था दयनीय बन्दै गएको छ । सडकमा मान्छे देख्ने बित्तिकै कुकुर खानेकुराको आसमा पछि लाग्ने गरेका छन् ।

सडक बजारमा पशु चोपाया (बाँदर, कुकुर, गाईबाच्छा) यत्रतत्र छ । कतिपय संस्थाले गाई बाच्छाबाच्छीको उद्धार अभियान थालेको छ भने कतिपयले खाना खुवाउन थालेका छन् । काठमाडौँका उत्तम पुडासैनीले सडकबाट गाईबाच्छा उठाएर संरक्षण दिन लागेका छन । यस्तै अन्य संस्था एसपिसिए नेपाल, क्याट सेन्टर, एनिमल नेपाल, न्वार्क नेपाल, पशु कल्याण सङ्घले समेत अभियान चलाइरहेका छन् ।

नेपाल भेटेरीनरी एशोसिएशन नेपालका अध्यक्ष पशुचिकित्सक डा शीतककाजी श्रेष्ठ यो एक संस्थाको मात्रै नभइ सबैको अभियान हो भन्छन् । पशुको अधिकारमा पनि राज्य गम्भिर हुनुपर्ने उनको भनाई छ । 

पशु चौपाया बोल्न सक्दैनन् । यिनले अरु सामान्य समयमा घुम्न आएका मानिसले दिएर खान्थे । लकडाउनपछि यी भोकै छन् । सरकारी तवरबाट यस्ता पशु चौपायाको विषयमा कुनै पहल हुन सकेको छैन ।

सरकारले गत चैत ११ बाट थालेको लकडाउन वैशाख १५ गतेसम्म रहने निर्णय गरिसकेको छ । कोभिड १९ को संक्रमण बढिरहेका बेला अझै लकडाउन बढ्ने संकेत प्रधानमन्त्री केपी शर्मा ओलीले दिइसकेका छन् । 

मुलुकमा आजको मितीसम्म ३१ जनामा कोरोना देखिइसकेको छ । जसमा १३ जना भारतीय नागरिक छन् । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना संक्रमण हुने क्रम बढ्दो छ । नेपालमा पनि जोखिम उत्तिकै छ । 

प्रतिक्रिया दिनुहोस