कोरोना संक्रमणको जोखिम कम गर्न दाङका युवाले बनाए स्वचालित ‘सेनिटाइजर टनेल’

आइतबार, ३० चैत्र २०७६, ०८ : १७
कोरोना संक्रमणको जोखिम कम गर्न दाङका युवाले बनाए स्वचालित ‘सेनिटाइजर टनेल’

दाङ । कोरोना संक्रमणको जोखिम कम गर्न घोराहीका एक युवाले स्वचालित रूपमै सेनिटाइजर छर्किने उपकरण तयार गरेका छन् । यसअघि विभिन्न प्राविधिक सामग्री र उपकरण बनाएर ‘युवा वैज्ञानिक’ का रूपमा चिनिएका मार्सल रोकाले अहिले कार्यालय प्रवेश गर्दा गेटमा अटोमेटिक सेनिटाइजरको फोहरा छर्ने उपकरण तयार गरेका हुन् । यसलाई उनले ‘सेनिटाइजर टनेल’ नाम दिएका छन् ।

रोकाको नेतृत्वमा १० युवाको टोलीले सेनिटाइजर टनेल तयार पारेका हुन् । उक्त टनेल घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेटमा जोड्न थालिएको छ । रोकाले स्थापना गरेको संस्था मेल्टा टेक्नोलोजीले उक्त टनेल अहिले प्रतिष्ठानमा निस्शुल्क जडान गरिदिन थालेको छ । मान्छे गेटमा पुग्नेबित्तिकै मेसिनको सेन्सरले थाहा पाउँछ र आवाज निकाल्दै ६ वटा नोजल ९प्वाल० बाट पूरै शरीरमा पर्ने गरी सेनिटाइजर छर्किन्छ । १० फिट लम्बाइ, ६ फिट चौडाइ र आठ फिट उचाइको टनेलमा मोटरसाइकल, स्कुटर लगायतका साधनसमेत सहजै प्रवेश गर्न सक्छन् ।

‘भित्र पस्दा हेल्मेट फुकालेर, हात माथि गर्दै जानुपर्छ । यसो गर्दा शरीरका हरेक भागमा सेनिटाइजर पर्छ र कीटाणु भए मर्छन्,’ रोकाले भने, ‘मानिस गएपछि पाँच सेकेन्डसम्म नोजलबाट सेनिटाइजर आउँछ र त्यसपछि आफैं बन्द हुन्छ ।’ उक्त उपकरण २४सै घण्टा आफैं चल्ने र रात परेपछि अटोमेटिक बत्ती पनि बल्ने व्यवस्था गरिएको उनले जनाए । उनका अनुसार कुनै कारणवश स्वतस् नचलेमा आफैं स्विच अन गरेर चलाउन मिल्नेछ । उपकरण बनाउन स्थानीय सामग्रीहरूको प्रयोग गरिएको र यसका लागि एक लाख ५० हजार रुपैयाँ खर्च लागेको उनले बताए । सेनिटाइजर पनि विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नै तयार गरेको उनले दाबी गरे । ‘यसमा प्रयोग भएका पदार्थले शरीरमा कुनै असर गर्दैन । छालामा कुनै समस्या पनि आउँदैन,’ उनले भने, ‘सबै परीक्षण गरेर रसायनशास्त्रीको प्रत्यक्ष निगरानीमा तयार गरिएको हो । यो हरेक कार्यालयमा उपयोगी हुनसक्छ ।’


उनका अनुसार एक जना मानिसलाई एक पटकमा ५० देखि ७० मिलिलिटर सेनिटाइजर लाग्ने र दैनिक एक हजार मानिस प्रवेश गरेमा ८६ लिटर खपत हुनेछ । टनेलमा एक हजार लिटर क्षमताको ट्यांकी जडान गरी सेनिटाइजर राखिएको छ । ‘सेनिटाइजर सकिएपछि थप्नेबाहेक अरू केही गर्नु पर्दैन । सबै प्रविधि अटोमेटिक चल्छ,’ रोकाले भने, ‘सेनिटाइजर पनि हामीले नै उत्पादन गरिरहेकाले नियमित चलाउन समस्या छैन ।’ १० दिनमा यस्ता १५ वटा टनेल तयार गर्न सकिने उनले दाबी गरे ।


विभिन्न ठाउँबाट माग पनि आउन थालेको मेल्टा टेक्नोलोजीका निर्देशक रविन पोख्रेलले बताए । उनका अनुसार दैनिक पाँच हजार लिटर सेनिटाइजर उत्पादन गर्न सकिने र यसको मूल्य प्रतिलिटर ५० देखि ७० रुपैयाँ मात्रै पर्नेछ । ‘स्थानीय कच्चा पदार्थ प्रयोग हुने भएकाले धेरै सस्तोमा तयार गर्न सकिन्छ । यसको गुणस्तरमा कुनै समस्या छैन,’ उनले भने, ‘बजारमा पनि छर्किने योजना बनाएका छौं । बजारका विभिन्न ठाउँमा छर्केर कोरोनाको जोखिमबाट बचाउन भूमिका खेल्न सकिन्छ ।’ कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस