निजी स्वास्थ्य संस्थाले दायित्व भुले दर्ता खारेज गरिन्छ : शर्मा (अन्तर्वार्ता)

बुधबार, २६ चैत्र २०७६, १७ : १६
निजी स्वास्थ्य संस्थाले दायित्व भुले दर्ता खारेज गरिन्छ : शर्मा (अन्तर्वार्ता)

विश्वमा महामारीको रुप लिएको कोरोना भाइरसको जोखिम नेपालमा खास नदेखिए पनि चितवन सबै हिसाबले अग्रणी स्थानमा रहेकाले त्यसको प्रकोप कतै चितवनमा त फैलिँदैन भन्नेमा आममानिसहरुको चिन्ता र चासो छ ।  यहाँ ठुला ठुला अस्पताल भएकाले देशभरका बिरामी उपचारका लागि ल्याईंदा त्यसको संक्रमण चितवनमा बढ्ने त होइन भन्ने चिन्ता पनि चितवनवासीलाई छ । यी सबै चिन्ता र गुनासा सम्बोधन गर्न, चितवनलाई भयरहित र सुरक्षित जिल्लाका रुपमा विकास गर्न यहाँको प्रशासन, स्वास्थ्य संस्था, स्थानीय सरकार, चिकित्सक सचेतताका साथ लागेका छन् । 

चितवनमा भरतपुर महानगरको पहलमा छुट्टै ब्यवस्थित कोरोना अस्पताल स्थापना भएको छ भने कोरोना परीक्षण ल्याब पनि खडा भएको छ । कोरोनाको जोखिमबीच चितवनको अवस्था कस्तो छ ? प्रशासनले आफनो भूमिका कसरी निर्वाह गरेको छ ? प्रस्तुत छ, यही बिषयमा चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्मासंग सफल खबर सम्बाददाता प्रकाश सिग्देलले गर्नु भएको कुराकानी ।

चितवनको वर्तमान अवस्था कस्तो छ ? बताइदिनुहोस् न ।

नेपाल सरकारको आदेश बमोजिम कार्यान्वयन गरिएको लकडाउन आदेशलाई कार्यान्वयन गर्ने काम प्रभावकारी रुपमा भएको छ । चितवनको सन्दर्भमा समग्र पक्षबाट खास गरिकन प्रहरी, प्रशासन, जनप्रतिनिधि, स्थानिय तहहरु र सर्वसाधारणले लकडाउनको आदेशलाई कार्यान्वयन गरेका छन् । छिटफुट रुपमा केही मान्छेमा केही अज्ञानता केही दम्भ पनि देखिन्छ । क्रमिक रुपमा कार्यान्वयन प्रभावकारी भएको छ । सतर्कताको सम्बन्धमा सबै पक्षहरु जिम्मेवार रुपमा प्रस्तुत भएको हामीले महसुस गरेका छौँ ।

जिल्ला सुरक्षा समितिले सुरक्षा सतर्कताको सन्दर्भमा गर्नु पर्ने कामहरु पूर्ण रुपमा गरेको छ । त्यसैगरी जिल्ला बिपद ब्यवस्थापन समिति यो महामारीले कुनै पनि बिपद निम्त्याउन सक्छ भन्ने सन्दर्भमा सचेत छ । 

क्वारेन्टाईन ब्यवस्थापन र अनुगमनको पक्षलाई प्रभावकारी रुपमा अगाडि बढाउने, बाहिरबाट नौलो मान्छे कोही आयो कि तत्काल अनिवार्य रुपमा क्वारेन्टाईनमा राख्नै पर्ने बाध्यकारी ब्यवस्थाहरु कार्यान्वय गर्ने गराउने भन्ने सन्र्दभमा एकमत भएको छ । लकडाउन पूर्णरुपमा कार्यान्वय भएको छ ।   

अहिलेको अवस्थामा जिल्लामा कस्ता खालका चुनौतीहरु देख्नु भएको छ  ?

चुनौती भनेको खास गरिकन हामी  नेपालकै ट्रान्जिट प्वाईन्टमा छौँ । हामी कहाँ यसबाट सृजना हुन सक्ने चुनौतीहरु छन् । खास गरिकन हामी बिचमा छौँ । हामीकहाँ बाहिरबाट आएका सवारी साधन र मान्छेको प्रवाह हामीले रोक्न चाहँदाचाहँदै पनि नसकिने एक खालको चुनौती छ ।

काठमाडौँदेखि धादिङहुँदै, पोखरादेखि तनहुँहुँदै प्रवेश गर्ने गाडीहरु, पश्चिम तथा पूर्वतिरबाट छुटेका गाडीहरु यहाँ आएर रोक्ने र मानिसहरु पनि यहाँ आएर झर्ने खालको अवस्था देखिएको छ । कामदारहरु पनि त्यसरी नै आउने, केहि हिँडेर आउने अवस्था छ । यसरी बाहिरबाट आउने मान्छेले ल्याउने नतिजा चुनौतीपूर्ण रहेको देखिन्छ ।

चितवनमा पास धेरै जारी भयो भन्ने पनि सुन्नमा आएको छ । खास के हो यथार्थ ?

चितवन आफैमा मेडिकल सिटि हो । यहाँ प्राईभेट र सरकारी संस्थामा कार्यरत झण्डै ४ हजार जना त स्वास्थ्यकर्मी नै भएको देखिन्छ । सुरक्षाकर्मीहरु र अत्यावश्यक काममा खटिने जनशक्तिहरुका कारणले केही पास पहिलो चरणमा गएका हुन् कि भन्ने लाग्छ ।

तैपनि हामीबाट जारी भएको पासको संख्या सुरक्षाकर्मीलाई चाहिनेभन्दा पनि कम छ । यो सुरुको चरणको कुरा भयो । पछिल्लो चरणमा सरकारले एक वटा स्थानीय तहबाट अर्कोमा प्रवेश गर्दै गर्दा एउटा जिल्ल्लाबाट अर्को जिल्लामा प्रवेश गर्दै गर्दा र एउटा प्रदेशबाट अर्को प्रदेशमा प्रवेश गर्दै गर्दा पास नदिने, कडाई गर्ने, परिस्थितिलाई आँकलन गरेर मात्र पास जारी गर्न निर्देशन भएको छ । त्यसलाई पूर्णरुपमा प्रभावकारी तवरले कार्यान्वयन गरेका छौँ ।  

मान्छेको मृत्यु भएको अवस्थामा अस्पतालले रिफर गरेको अवस्थामा वा त्यस्तै परिस्थिति जहाँ मान्छे नपुगी नहुने अवस्था छ । त्यस्तो अवस्थामा बाहेक पास जारी भएको छैन ।  अहिले पूर्णरुपमा कडाई छ । पास पाइँदैन ।

चितवनमा कोरोना परीक्षणको ल्याब पनि खडा गरिएको छ । त्यसको प्रभावकारिता कस्तो छ ?

कोरोना परीक्षणको ल्याब भर्खरै मात्र सन्चालनमा आएको छ । यसको रामै नतिजा आउँछ भन्ने कल्पना गरौँ ।

चितवन मेडिकल सिटि तर अस्पतालहरुले बिरामी नलिने, निजीमा डाक्टरहरुले ज्वरोको बिरामी आउनासाथ चेकजाच नगरी कोरोना अस्पताल पठाउने अवस्था छ । यो बिषयमा कति जानकारी पाउनु भएको छ ?

त्यो खालका गुनासाहरु बहिरबाट कहिँ कतै सुनिएको छ । तर औपचारिक रुपमा प्रशासन समक्ष यस्ता गुनासाहरु आइपुगेका छैनन् । यो जटिल परिस्थितिमा कुनै पनि जिम्मेवार ब्यक्ति र संस्थाले आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्दैन । कसैबाट त्यस्ता खालका गुनासाहरु हामीकहाँ प्राप्त भए भने पहिले त अनौपचारिक रुपबाट प्राप्त गुनासाहरु सत्य हुन कि हैनन् भनी हामीले सुक्ष्म रुपबाट आफै पनि स्वास्थ्य संस्थामा पुगेर निगरानी गरिरहेका छौँ । 

अहिलेको समय भिडभाडमा अनुगमन भनेर नजाने जाने हैन । हिजो पनि हामी त्यसरी नै परिचालित भएका थियौँ, आज पनि अनुगमन गर्दैछौँ । यस्ता कुराहरु औपचारिक च्यानलबाट हामीकहाँ आए भने त्यसलाई सम्बोधन गर्छौं । त्यस्तो खालको छ भने प्राईबेट खालका संस्था हुन वा सरकारी हुन, तत्तत्  नियम अनुसार प्राईभेट संस्थाको हकमा ती संस्थाको दर्ता खारेजीसम्मको प्रक्रियामा जान हामीलाई आपत्ति हुने छैन ।

पछिल्लो समय बजारमा कालोबजारी बढेको, खाद्य बस्तु अभाव हुन थालेको भन्ने गुनासा पनि आएका छन् । कस्तो छ बजारको अवस्था ?

यो बिषम परिस्थितिमा खास गरिकन ब्यक्तिगत फाईदा उठाउने, नाजायज फाईदा लिने, कालोबजारी गर्ने, जमाखोरी गर्ने, कृत्रिम अभाव सृजना गर्ने तत्वहरु निश्चित रुपमा देखिन्छन् । यो संसारकै एकखालको गलत अभ्यासका रुपमा देखिएको छ । हामीकहाँ त्यस्ताखालका हर्कत नहोलान् भन्न सकिन्न । यसलाई सतर्क भएर चितवन प्रहरी, चितवन प्रशासन र समग्र चितवन अलिकति अलर्ट अवस्थामा बसेको छ । 

हामीले चितवन उद्योग संघ, उद्योग बाणिज्य संघ र यस अन्तर्गतका अन्य निकायहरु, स्थानीय तहहरुसंग समय समयमा छलफल गर्ने गरेका छौँ । तत्तत् क्षेत्रको माग र आपूर्तीलाई सन्तुलित गर्ने गरी उपलब्ध खाद्य बस्तुहरुको अवस्था कस्तो छ । भन्ने बिषयमा हामी राम्ररी जानकार छौँ ।  हामीसंग ति तथ्यांकहरु पनि मोटामोटी रुपमा छ । 

हामीलाई सम्बन्धित उद्योग ब्यववसायीले दिएको तथ्यांक अनुसार झण्डै ६ महिनालाई पुर्याउन सक्ने खाद्य बस्तु मौजदात छ । त्यसै गरिकन हामीलाई बाह्य क्षेत्रबाट आयात नगरेपनि पुग्ने तरकारीहरु यहि जिल्लामा उत्पादन भएको छ । त्यसैले चितवनवासी चिन्तित हुनु पर्ने अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस