नेकपा सचिवालय बैठक आज : चर्काचर्की बहस हुने सम्भावना

मंगलबार, २५ चैत्र २०७६, ०९ : ३६
नेकपा सचिवालय बैठक आज : चर्काचर्की बहस हुने सम्भावना

काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दैछ । अपरान्ह ४ बजेका लागि सचिवालय बैठक तय भएको छ । कोरोना भाइरस (कोविड १९) संक्रमणका विषयमा पार्टीमा कुनै औपचारिक छलफल नगराईएका, औषधी तथा स्वास्थ्य उपकरण खरिद प्रकरणमा अनियमितिता भएको र नेताहरु संलग्न रहेको आरोप लागेको र अन्ततः नागरिक प्रशासन कमजोर पार्ने गरि खरिदमा सेनालाई जिम्मा दिएकोमा नेकपाभित्र चर्काे विवाद देखिएको छ । 

पार्टी बैठक बोलाउन नेताहरुले आग्रह गर्दागर्दै पनि त्यसप्रति अटेरी गर्दै आलटालमा रमाउदै आएका प्रधानमन्त्री ओली अन्ततः बैठक बोलाउन तयार भएका हुन् । पार्टी बैठकमा आफ्नो चर्काे आलोचना हुने देखेपछि उनले त्यसलाई पहिले नै सामसुम पार्नका लागि बैठक अगाडी नै कतिपय विषयमा देशवासीका नाममा गर्ने सम्बोधनमार्फत नै सम्बोधन गर्ने प्रयास समेत गर्न लागेका छन् ।

नेकपामा चैत ५ यता सचिवालयको बैठक बस्न सकेको थिएन् । राष्ट्रिय संकटका बेला राष्ट्रिय सहमति कायम गरेर जानुपर्नेमा सरकार एकलौटी हिडन खोजेको, पार्टीमा समेत कतिपय विषय जानकारी नगराईएको, कोरोना सकंटसँग जुध्ने सवालमा पार्टीलाई समेत सरकारले जोडन नचाहेको जस्ता आरोप मात्र सरकारलाई लागेको छैन, यतिवेला देशलाई प्रधानमन्त्रीको आवश्यक परेका बेला प्रधानमन्त्री आफै हराईरहेको र खरिद प्रकरणमा अनियमितताका कारण पार्टी बदनाम हुन पुगेको जस्ता आरोप लागेको छ ।

नेताहरुले यही विषयमा छलफलका लागि सचिवालय बैठकको माग गर्दै आएका थिए ।  त्यसो त नेकपाभित्र अन्य कतिपय मुख्य मुद्दाहरु पनि निरुपण हुन सकेका छैनन् । आफु समेत सहभागी सचिवालय बैठकले सर्वसम्मत गरेको निर्णयलाई समेत प्रधानमन्त्री ओलीले कार्यान्वयन गर्न अटेरी गरेपछि नेकपाभित्र पछिल्ला चरणमा विवाद चर्किदै आएको थियो । अझ ओली निकट नेताहरुले पार्टीका अन्य नेताहरुको बदनाम गर्नका लागि सामाजिक सन्जालमार्फत अनावश्यक भ्रम सिर्जना गर्न ‘वार गु्रप’ नै सञ्चालन गरेपछि नेताहरुका बिचमै अविश्वास र विवाद बढ्दै आएको थियो ।

यो बैठक सोही कारण पनि चर्काचर्की हुने अपेक्षा नेताहरुले गरेका छन् । नेताहरुले यस्तो संकटमा पनि सरकारले प्रभावकारी काम गर्न नसकेको, अनेकौ कमजोरी सरकारले गरेको भन्दै प्रश्न उठाईरहेका छन् । सोमबार मात्रै वरिष्ठ नेता माधव नेपालले आफ्नो धारणा सार्वजनिक गर्दै सरकारको कमजोरीलाई सच्याएर अगाडी बढनुको विकल्प नभएको बताएका थिए ।

नेता झलनाथ खनालले त अझ स्वास्थ्य सामग्री खरिद प्रकरणमा भएको आर्थिक अनियमितताका विषयमा पार्टीमा छलफल गर्नुपर्ने र आवश्यकता पर्दा छानविन समिति समेत बनाउनु पर्ने र दोषी देखिएकालाई कडा कारवाही गर्नुपर्ने सार्वजनिक अभिब्यक्ती दिदै आएका थिए ।  यसले पनि नेताहरुका बीचमा आरोप प्रत्यारोप चर्केको छ । यही बीच सचिवालय बैठक बस्न लागेकोले नेकपा बैठक आम पार्टी नेता कार्यकर्ता र सर्वसाधारणलाई पनि अहिले अपेक्षाको विषय बन्न पुगेको छ ।