डिजिटल माध्यमबाट भुक्तानी गर्दा एनआईसी एशिया बैंकले मासिक ४ हजारसम्म फिर्ता दिने

सफल खबर संवाददाता

सोमबार, २४ चैत्र २०७६, १६ : ०१
डिजिटल माध्यमबाट भुक्तानी गर्दा एनआईसी एशिया बैंकले मासिक ४ हजारसम्म फिर्ता दिने

काठमाडौं । एन आई सी एशिया बैंकको मोबाइल बैकिङ्ग, क्रेडिट तथा डेबिट कार्ड जस्ता डिजिटल भुक्तानीका माध्यमबाट रकम भुक्तानी गर्दा महिनामा ४ हजार रुपैयाँ सम्म रकम फिर्ता (क्यास ब्याक)को सुविधा पाउन सकिने बैंकले जनाएको छ । 

कोरोना भाइरसको यस विषम परिस्थितिमा बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भन्दै रकम फिर्ताको सुविधा दिएको जनाएको छ ।
एन आई सी एशिया बैंकको ग्राहक भएकै आधारमा उक्त बैंकको डिजिटल माध्यमबाट यस्ता सामग्रीको रकम भुक्तानी गर्दा आफ्ना ग्राहकहरुको फाइदाको लागि यो सुविधा ल्याएको बैंकले दाबी गरेको छ ।

के बाट कति रकम फिर्ता ?
यसअघि मोबाइल बैंकिङ्ग प्रयोग नगरेका एन आई सी एशिया बैंकका ग्राहकहरुले मोबाइल बैकिङ्ग पहिलोपटक रकम भुक्तानी गर्दा शत प्रतिशत तथा अधिकतम १०० रुपैयाँ क्यास ब्याक खातामा हालिदिने बैंकले जनाएको छ । 

त्यसैगरी एन आई सी एशिया बैंकमा अनलाइन खाता खोली ग्राहकहरुले मोबाइल बैकिङ्ग पहिलोपटक रकम भुक्तानी गर्दा शतप्रतिशत तथा अधिकतम ५०० रुपैयाँ क्यास ब्याक खातामा हालिदिने बैंकले जनाएको छ । मोबाइल बैंकिङ्ग सुरु गर्दा अन्य कुनै पनि अतिरिक्त शुल्क पनि तिर्नु पर्दैन । 

त्यस्तै, बैंकले हरेक शुक्रबार राति ८ बजेदेखि शनिबार बिहान ८ बजे सम्मको १२ घण्टालाई ह्याप्पी आवर मानेको छ । 

उक्त समय भित्र भएको कुनै पनि कारोबारको रकम मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्दा ५ प्रतिशत तथा अधिकतम १०० रुपैयाँ क्यास ब्याक दिँदै आएको छ । 

यस हिसाबले एन आई सी एशियाका ग्राहकहरुले हरेक महिना ४ सय रुपैयाँ सम्म क्यास ब्याक फाइदा पाउन सकिने बैंकले जनाएको छ ।

त्यसैगरी बैंकले विद्यार्थीको सुविधाको लागि न्यू सुपर चमत्कारिक विद्यार्थी बचत खाता ल्याएको छ । उक्त बचत खाता खोली मोबाइल बैंकिङ्ग सुचारु गर्दा मात्रै एक सय रुपैयाँ तपाईको खातामा हालिदिने बैंकको दाबी छ । 

एन आई सी एशिया बैंक र किराना सामान अनलाईन बिक्री गर्ने मेरो किराना बीच गत हप्ता सम्झौता भएको छ । 

उक्त सम्झौता बमोजिम मेरो किरानाबाट सामान खरिद गरी एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्गमार्फत रकम भुक्तानी गर्दा १० प्रतिशतसम्म वा बढीमा ५०० रुपैयाँसम्म क्यास ब्याक सुविधा लिन सकिने भएको छ ।

त्यसबाहेक डेबिट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा अर्काे १० प्रतिशत वा ५०० रुपैयाँसम्म रकम फिर्ताको सुविधा पाउन सकिने बैंकले जारी  विज्ञप्तिमा उल्लेख छ ।

एन आई सी एशिया बैंकले दैनिक खाद्य सामग्री उपलब्ध गराउने फुडमान्डुसँग पनि सम्झौता गरेको छ । सम्झौता अनुसार फुडमान्डुबाट खाद्य समग्री खरिद गरी एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा ५०० रुपैयाँसम्म रकम फिर्ता हुन्छ । त्यस्तै फुडमान्डुुकै सामग्री खरिद गरी एन आई सी एशियाको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा अर्काे १० प्रतिशत वा ५०० रुपैयाँसम्म रकम फिर्ता हुन्छ । 

यस्तै दराज अनलाईनमा गई बिगमार्टका दैनिक घरायसी सामग्रीको खरिद गरी डेबिट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा ५०० रुपैयाँसम्म रकम फिर्ता हुने बैंकले जनाएको छ । 

यसबाहेक हरेक बुधबार दराज अनलाईन सपिङ स्टोरबाट सामान अर्डर गरी एन आई सी एशियाको डेबिट वा क्रेडिट कार्डबाट रकम भुक्तानी गर्दा ५०० रुपैयाँ थप रकम फिर्ता हुने बैंकको दाबी छ । 

यी सबै सुविधा बाट एन आई सी एशिया बैंकको एक जना ग्राहकले महिना भरिमा ४ हजार रुपैयाँसम्मको क्यासब्याकको फाइदा पाइने बैंकको दाबी छ । 

यस बाहेक बैंकले संचालन गरेको “जति धेरै कारोबार, त्यति धेरै उपहार” योजना अन्तर्गत मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ३ जना भाग्यशाली ग्राहकले प्रत्येक हप्ता जनही ५०० का दरले क्यासब्याक पाउन सकिने भएको छ ।

त्यस्तै मासिक रुपमा अधिक्तम कारोबार गर्ने ग्राहक महानुभावले अर्काे १,००० सम्मको क्यास ब्याक दिदै आाएको बैंकले जानकारी दिएको छ । 

यसबाहेक देशै भरि २,५०० भन्दा बढी मर्चेन्टहरुसँग पनि एन आई सी एशियाले सम्झौता गरेको जनाएको छ ।

उक्त मर्चेन्टहरु मार्फत सामान खरिद गरी एन आई सी एशिया बैंकको डिजिटल माध्यमबाट रकम भुक्तानी गर्दा अन्य विभिन्न छुट सुविधा समेत पाउन सकिने बैंकले जानकारी दिएको छ । 

मोबाइल बैंकिङ्ग, डेबिट तथा क्रेडिट कार्ड मार्फत कारोबार गर्दा ग्राहक महानुभावले एन आई सी एशिया बैंकसँग आबद्ध भएका देशभरका २,५०० भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतबाट कारोबार रकमको ३० प्रतिशतसम्म छुट सुविधा समेत बैंकले उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ ।

यी सबै सुविधाको लागि ग्राहकले कुनैपनि अतिरिक्त शुल्क तिर्नु पर्दैन । यस कठिन परिस्थितिमा आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै एन आई सी एशिया बैंकले सबै विद्युतीय बंैकिङ्ग माध्यमबाट हुने अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्कलगायतका भुक्तानीहरू निःशुल्क गर्न सकिने सुविधा दिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस बाहेक, बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी पनि निःशुल्क उपलब्ध छन् ।