सेनालाई अघि सार्ने डिजाइन !

पत्रपत्रिकाबाट

सोमबार, २४ चैत्र २०७६, ०७ : ४०
सेनालाई अघि सार्ने डिजाइन !

काठमाडौं । चीनबाट अत्यधिक महँगो मूल्यमा मेडिकल सामग्री खरिद ‘डिल’ नागरिक दबाबमा रद्द भएपछि सरकारले त्यो कामको जिम्मा सेनालाई दिएको छ। सरकारको यो कदमबारे अहिले भिन्नभिन्न कोणबाट बहस भइरहेका छन्।

सेनाको प्राथमिक दायित्व भनेको राष्ट्रिय सुरक्षा हो। आपत्विपत्मा नागरिक र सरकारलाई सघाउनु उसको कर्तव्य हो। प्रकृति तथा पर्यावरण संरक्षण, महत्वपूर्ण विकास परियोजना, खेलकुद र अन्य सामाजिक क्षेत्रमा सेनाको योगदान महत्वपूर्ण छ। सेना पछिल्लो समय आफ्नो मूलभूत दायित्वभन्दा व्यापार, परियोजना र ठेक्कापट्टातिर बढी अलमलिएको आम आरोप छ। यो केही हदसम्म सत्य पनि हो। यही पृष्ठभूमिमा सरकारले मेडिकल सामग्री खरिदको जिम्मा दिएपछि उसको भूमिका र चरित्रबारे नागरिकस्तरबाटै प्रश्न उठेको छ।

सेना सरकारकै अंग हो। संकटका बेला उसको साथ लिनु र उसले पनि सरकारलाई सक्दो सहयोग गर्नु स्वाभाविक हो। सरकारले अह्राएको काम गर्नु सेनाको कर्तव्य पनि हो। तर, यति खेर जुन कामको डिल गर्न सेनालाई जिम्मा दिइएको छ, यसको पृष्ठभूमि र यसका पछाडि लुकेको नियतबारे सेना सुसूचित र सचेत हुनुपर्छ। मेडिकल सामग्री खरिदमा घोटालाको योजना खुलासा भएपछि सबैतिरबाट छानबिनको माग भइरहेको छ। संकटको मौका छोप्दै राजनीतिक तहको इसारामा रचिएको कमिसनको डिजाइन असफल भएपछि पानीमाथिको ओभानो बन्‍ने प्रयासस्वरूप यो 'डिल'को जिम्मा सेनालाई दिइएको छ।

पहिलो प्रश्न, यो काम सरकारअन्तर्गतका नागरिक निकाय (स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभागलगायत)ले किन गर्न सक्दैनन् ? सेनाले त्यही काम गर्न सक्ने अनि सरकारी निकायले नसक्ने भन्ने प्रश्न हुँदैन। जब कि स्वास्थ्य सेवा विभागले यो काम गर्न सक्दिनँ भनेर हात उठाएको अवस्था होइन। औषधि आपूर्ति र व्यवस्थापनको जिम्मा लिएको त्यो निकायमा अनुभवप्राप्त विज्ञ जनशक्ति छ। संकटका बेला त्यो जनशक्तिलाई उपयोग गर्नुको सट्टा किन उपेक्षा गरिँदै छ ? आफूमातहतका निकायको क्षमता र विश्वसनीयतामाथि सरकारलाई किन शंका लाग्यो ? नागरिकस्तरबाट यस्ता थुप्रै प्रश्न सोधिएका छन्।

नागरिक निकायको मनोबल गिराएर तथा सार्वजनिक प्रशासनलाई होच्याएर सेनालाई अनावश्यक रूपमा उक्साउने जुन प्रयास भएको छ त्यसको नकारात्मक प्रभाव र प्रतिक्रिया राजनीतिक नेतृत्वले पछिसम्म सामना गर्नुपर्नेछ। अन्नपूर्ण पोस्टमा खबर छ ।