‘सचिवालय बैठक’ बोलाउन नेकपा शीर्ष नेताहरुको माग

प्रधानमन्त्री केपी ओलीको अनिच्छा र आलटालका कारण नेकपा बैठक बस्न सकिरहेको छैन

आइतबार, २३ चैत्र २०७६, ०९ : १५
‘सचिवालय बैठक’ बोलाउन नेकपा शीर्ष नेताहरुको माग

काठमाडौं । सत्तारुढ दल नेकपाका शीर्ष नेताहरुले तत्काल पार्टी बैठक बोलाउन माग गरेका छन् । पार्टीका दुवै अध्यक्षलाई बैठक बोलाउन सचिवालय सदस्यहरुले नै माग गरेका हुन् । वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले सार्वजनिक रुपमै आफुहरुले पार्टी बैठक बोलाउन अध्यक्षद्धयलाई आग्रह गरेको बताएका छन् ।

दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पनि सचिवालय बैठक बोलाउन यो बीचमा छलफल गरेका छन् । अध्यक्ष प्रचण्डले शुक्रबार देखि नै प्रधानमन्त्री ओलीलाई सचिवालय बैठक बोलाउने विषयमा छलफल गरिरहेका छन् । तर ओलीले बैठक बोलाउने विषयमा सहमति जनाएपनि कहिले, कँहा र कुन समयमा बैठक बोलाउने भन्नेमा कुनै संकेत गरेका छैनन् । ओलीकै मौनताका कारण सचिवालय बैठक टुंगो लागेको छैन । 

नेकपाले टुंग्याउनु पर्ने विषय धेरै छन् । एमसिसि कार्यदलले दिएको प्रतिवेदनमा पार्टीको आधिकारिक धारणा, सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रिय सभाको रिक्त एक सदस्य देखि पार्टीभित्र देखा परेका विभिन्न अन्तरविरोधको निरुपण सम्म नेकपाका कार्यसूचिमा छन् ।

त्यसमाथी सरकारले पार्टी सँगको परामर्श बिनै गर्ने गरेका निर्णयले पनि नेकपा र सिंगो सरकारलाई नै बदनाम गराउदै आएको छ । पार्टी नियन्त्रित सरकार हुनुपर्नेमा सरकार एकलौटी ढंगले अगाडी बढ्न खोज्दा आलोचित बनिरहेको छ । 

पछिल्लो चरण कोरोना राकेथामका लागि आवश्यक औषधी तथा स्वास्थ्य उपकरण खरिदका विषयमा स्यवं जिम्मेवार मन्त्री तथा पार्टी नेताहरु कमिसनको चक्करमा विवादमा परेको देखि नागरिक सरकारले गर्ने सक्ने खरिद प्रक्रिया सम्मका विषय सेनालाई जिम्मा लगाउने सम्मका सरकारले गरेका निर्णय अहिले विवादमा छन् । यी लगायत समसामायिक विषयमा छलफलका लागि नेताहरुले पार्टी नेतृत्वलाई बैठक बोलाउन माग गरेको ग¥यै छन् । तर ओलीको आलटालले बैठक बस्न सकेको छैन् । 

‘हो हामीले पार्टीको सचिवालय बैठक बोलाउन समसामयिक विषयमा छलफल गर्न माग गरेका गरयै छौं, तर बैठक बोलाउनेमा दुई अध्यक्षको सहमति बनेको भन्ने छ, तर कहिले बोलाउने भन्नेमा टुंगो लागिसकेको छैन,’ प्रवक्ता श्रेष्ठले सफलखबरलाई बताए । वरिष्ठ नेता खनालले पनि सरकारका पछिल्ला निर्णय, कोरोना संक्रमणसँग जुध्ने पार्टी रणनीति लगायत समसामायिक विषयमा छलफल गर्नका लागि बैठक बोलाउन माग गरिएको बताए ।

‘मैले पार्टीका कार्यकारी अध्यक्षलाई तत्काल पार्टी बैठक बोलाउन माग गदै आएको छु, उहाँले प्रधानमन्त्रीसँग समन्वय गदै हुनुहुन्छ होला,’ खनालले सफलखबरसँग भने,– ‘हेरौं अब बस्छ की ?’ औषधी तथा स्वास्थ्य उपकरण खरिद प्रकरणमा सचिवालय सदस्य समेत रहेका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल देखि स्वास्थ्यमन्त्री भानुभक्त ढकालसम्म कमिसन काण्डमा मुछिएपछि नेकपाभित्र विवाद छ । 

औषधी खरिद काण्डले सरकार बदनाम हुदै गएको छ भने नेकपालाई समेत नराम्ररी कालो दाग लाग्न पुगेको छ । यस विषयमा पार्टीमा छलफल गरी आवश्यक पर्दा छानविन समेत गर्नुपर्ने माग नेताहरुको छ । तर प्रधानमन्त्री ओली यस प्रकरणमा आफु निकट नेताहरुकै संग्लन्नता देखिएपछि त्यसको पार कसरी लगाउने भन्नेमा केन्द्रीत रहदा पार्टी बैठक टाँरिरहेका छन् ।