विराटनगरमा तास खेलिरहेका नौ व्यापारी पक्राउ

सफल खबर संवाददाता

आइतबार, १५ चैत्र २०८२, १० : २१
विराटनगरमा तास खेलिरहेका नौ व्यापारी पक्राउ

विराटनगर । मोरङको विराटनगरमा तास खेलिरहेको आरोपमा नौ व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार (चैत १४) राति विराटनगरस्थित मनोज राठीको घरबाट उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ पर्नेमा शेरसिंह दुगड, राजबिहारी बिहानी, पवन शर्मा, बासु राठी, बलराम खत्री, महेश राठी, बजरंग राठी, विनीतलाल लालबनी छन् । पक्राउ परेका मध्ये शेरसिंह दुगड विराटनगर महानगरपालिका–२ का वडा सदस्य समेत हुन् । उनी स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट निर्वाचित भएका थिए ।

उनीहरूका साथबाट झन्डै एक लाख रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ । तास खेलिरहेको अवस्थामा नै उनीहरूलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एवं एसपी कवित कटवालले जानकारी दिए ।

उनीहरूमाथि आइतबार (चैत १५) म्याद थप गरी अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस