काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाल कम्युनिस्ट पार्टीलाई पनि निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिनुभएको छ।
नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पूर्वप्रधानमन्त्री, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरु प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार आउनुभएको थियो।
उहाँहरुबीच हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचन र समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो।
प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘तपाईँहरुले निर्वाचनमा भाग लिइदिनुभयो। यो निर्वाचनको पक्षमा वातावरण बनाउनुभयो र मुलुकलाई शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट निकास दिन सहयोगी भूमिका खेल्नुभयो। यसका निम्ति धेरै धन्यवाद छ।’
उहाँले निर्वाचनमा विजय हुनुभएका नेताहरुलाई बधाई दिनुभयो र अन्य नेताहरुलाई अर्कोपटकका लागि शुभकामना दिनुभयो।
नेकपाका नेताहरुले प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न भई देशले निकास पाएको भन्दै बधाई दिनुभयो।
संयोजक प्रचण्डले भन्नुभयो, ‘यो निर्वाचन नभएको भए मुलुक अर्को ठूलो दुर्घटनामा जान्थ्यो। यसमा जुन साहस र मेहनतका साथ तपाईँले काम गर्नुभयो, यो निकै महत्त्वपूर्ण र प्रशंसालायक छ।’
सुरुकै दिनदेखि आफू र आफ्नो पार्टी निर्वाचनको पक्षमा उभिएको पनि उहाँले स्मरण गर्नुभयो।‘
‘हामीले सुरुबाटै निर्वाचनको विकल्प छैन भनेर उभिएका हौँ। इफ बट केही नभनी निर्वाचन हुनुपर्छ भन्ने त्यतिबेला हामी मात्रै थियौँ,’ उहाँले भन्नुभयो।
पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, ‘प्रधानमन्त्रीमा सुशीला कार्की आउने भन्ने सुनेको दिन निकै राहतको महसुस भएको थियो। तर पछि तपाईँले नआउने भन्नुभयो भन्ने समाचार पनि आयो। त्यस कुराले हामी सबै आत्तिएका थियौँ। तपाईँ आइदिएपछि संविधान बाँच्छ, व्यवस्था जोगिन्छ र अवस्था सम्हालिन्छ भन्ने विश्वास थियो।’
अस्तव्यस्त अवस्था सम्हालेर ६ महिनाभित्रै चुनाव गराउने कार्य निकै चुनौतीपूर्ण भए पनि प्रधानमन्त्री कार्कीको छवि, इमान र दृढताका कारण सम्पन्न भएको उहाँहरुको भनाइ थियो।
तस्बिर : केशव थापा / प्रधानमन्त्रीको सचिवालय
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ चैत्र २०८२, १३ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘निर्वाचन सम्पन्न भएकोमा धन्यवाद’: प्रधानमन्त्री कार्की
शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न सहयोग गरेको भन्दै प्रधानमन्त्री कार्कीद्वारा एमाले नेतृत्वलाई धन्यवाद
ओलीलाई समवेदना दिन गुण्डु पुगिन् प्रधानमन्त्री कार्की
‘नियुक्ति र बढुवामा कुनै चलखेल हुन दिएनौँ’: प्रधानमन्त्री कार्की
‘जेन जेड आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन मन्त्रिपरिषदमा पेश गरिन्छ’ : प्रधानमन्त्री कार्की
‘महिलाको अर्थपूर्ण र गुणस्तरीय सहभागिता सुनिश्चित गर्न आवश्यक छ’ : प्रधानमन्त्री कार्की