काँग्रेसले किन उठायो राष्ट्रिय सहमतिको सरकारको एजेण्डा ?

प्रतिपक्ष काँग्रेसले घुमाउरो भाषामा राष्ट्रिय सहमतिको सरकारमा जोड दिएको संकेत

सफल खबर संवाददाता

शुक्रबार, १४ चैत्र २०७६, १० : १२
काँग्रेसले किन उठायो राष्ट्रिय सहमतिको सरकारको एजेण्डा ?

काठमाडौं । प्रतिपक्षी काँग्रेसले कोरोना भाइरस (कोविड १९) को सामना सत्ता र प्रतिपक्ष नभनी राष्ट्रिय एकताका साथ गर्नुपर्ने बताएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले एक सन्देश जारी गदै आमसहमती जुटाएर नागरिकका समस्या समाधान गर्न सरकारसँग आग्रह गरेका छन् ।

गत प्रतिनिधीसभा चुनावमार्फत निक्कै कमजोर अवस्थामा पुगेको काँग्रेसले अहिले राष्ट्रिय सहमतिको आवश्यकतातर्फ संकेत गदै राष्ट्रिय सहमतिको सरकार निर्माणमा जोड गर्न खोजेको छ । मुलुकमा आइपरेको समस्यासँग जुध्न सहमतिको सरकार बनाउने संसारमा प्रचलन रहेको स्मरण गर्दै काँग्रेस वरिष्ठ नेता पौडेलले सरकारको त्यसतर्फ ध्यानाकृष्ट गरेको हो ।

कोरोना भाइरस (कोभिड १९) ले विश्वव्यापी महामारीको रुप लिइरहेको बेला बिहीबार एक सन्देश जारी गर्दै नेता पौडेलले सरकारका निर्णय कार्यान्वयनका लागि पनि आमसहमति आवश्यक रहेकोमा जोड दिएका थिए । भूकम्पपछिको राष्ट्रिय संकटका बेला पनि राजनीतिक दलहरुका बीचमा सहमतिको प्रयास भएको थियो । त्यसपछि नै दलहरुका बीचमा सहमति बनेपछि संविधान निर्माण सम्भव भएको थियो । ‘सरकारलाई आग्रह गर्न चाहन्छु, यस्तो बेलामा आमसहमति जुटाएर नागरिकका समस्या समाधान गरिनुपर्छ ।

यस्तो बेलामा आम सहमति आवश्यक हुन्छ । जसका कारणले सरकारका निर्णय कार्यान्वयनमा समस्या नहोस्’, नेता पौडेलले सन्देशमा भनेका छन्, यस्तो बेलामा आवश्यक प¥यो भने सहमतिको सरकार पनि बनाउन सक्नुपर्छ । दुनियाँमा यस्तो प्रचलन पनि छ । मुलुक जोगाउनका लागि लकडाउनको समयमा घर घरमा बसेर चिन्तन गर्न आवश्यक रहेको भन्दै उनले विपन्न नेपालीका लागि तत्काल राहतको घोषणा गर्न सरकासँग माग गरे ।

सरकारबाट बाहिर रहेको काँग्रेस सरकारमा नपुग्दा अहिले निक्कै छटपटिएको छ । पार्टीभित्रको आन्तरिक किचलोका कारण पनि काँग्रेसको संगठन दिन प्रतिदिन कमजोर बन्दै गएको छ । यस्तो बेला सरकारमा पुग्ने उसको सम्भावना अझै अर्काे चुनावमा पनि कमजोर अवस्थामै देखिन्छ । यही बेलामा राष्ट्रिय सहमतिको सरकारतर्फ जोड गरेर काँग्रेसले सत्ता र प्रतिपक्ष नभनी राष्ट्रिय संकटको समाधान एकता कामय गरेरै गर्नुपर्नेमा जोड दिन थालेको छ ।

पौडेलले सन्देशमार्फत राष्ट्रिय सहमति, राष्ट्रिय एकता र आम सहमतिको कुरा उठाएर यसकै संकेत गरेको राजनीतिक विश्लेषकहरुले बताउन थालेका छन् । तर काँग्रेस सभापति शेरवहादुर देउवाको तफबाट भने यस्तो अभिब्यक्ती र सन्देश आईसकेको छैन ।

सत्तारुढ दल भित्रको पनि आन्तरिक किचलो, प्रधानमन्त्रीको अस्वस्थता र सरकारका मन्त्रीहरुको प्रभावकारी कामको संयोजन हुन नसक्दाको फाइदा उठाउदै काँग्रेसले यस्तो एजेण्डा उठाउन खोजेको रुपमा बुझुनु पर्ने विश्लेषकहरु बताउँछन् । तर देउवाले यस विषयमा मुख नखोलिसकेका कारण यो काँग्रेसको औपचारिक धारणा हो होइन भन्ने विषयमा अहिले केही खुलिसकेको छैन् ।
 

प्रतिक्रिया दिनुहोस