सामाजिक सन्जालहरुको भ्रामक समाचार प्रति नेपाली सेनाले किन गरायो ध्यानाकर्षण ?

सफल खबर संवाददाता

शनिबार, ०८ चैत्र २०७६, १८ : ४२

काठमाडौं । विभिन्‍न सामाजिक सञ्‍जालहरुमा नेपाली सेनाको हेलिकप्टर प्रयोग गरि आकाशबाट कोरोना भाईरस (कोभिड–१९) विरुद्ध किटनासक ‍औषधी छोडिने भन्‍ने समाचार प्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सेनाले प्रेस विज्ञप्ती जारी गर्दै भनेको छ–‘हाल विश्वभर फैलिदै गएको कोरोना भाईरस (कोभिड–१९) को उच्‍च जोखिमलाई मध्यनजर राखि नेपाली सेनाले आन्तरिक रुपमा उक्त भाईरसको रोकथाम तथा संभावित महामारी विरुद्ध न्युनिकरण तथा प्रभावकारी व्यवस्थापनको लागि आवश्यक तयारी शुरु सकिएको छ ।

यसको अलावा नेपाली सेनाले हेलिकप्टर प्रयोग गरि किटनासक औषधी छाड्ने कुनै योजना नभएको स्पष्ट पारेको छ । विज्ञप्तीमा हालको संवेदनशिल घडीमा यस प्रकारको भ्रामक, झुटो तथा मनगढन्ते समाचारमा विश्वास नगर्न  सम्पूर्ण पाठक वर्गहरुमा अनुरोध समेत गरेको छ ।  

कोरोना भाईरस प्रतिकार्यमा नेपाली सेनाको गतिविधि सम्बन्धमा आम जनमानसमा कुनै दुविधा भएमा  सेनाको श्री जनसम्पर्क तथा सूचना निर्देशनालयको सम्पर्क नम्बर ९८५१०८३२८८ र ९८५१०७९९१७ मा सम्पर्क गर्न  अनुरोध गरेको छ । 

सेनाले कोरोना भाईरस (कोभिड–१९) विरुद्ध आवश्यक आन्तरिक तयारी गरी संक्रमणबाट सुरक्षित रहँदै रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारलाई पूर्ण रुपमा सहयोग गर्ने र उक्त भाईरसको उच्च जोखिम विरुद्ध बचाउ तथा रोकथामका लागि उपलब्ध सबै उपायहरु अवलम्बन गर्न सधैं प्रतिवद्ध रहेको विज्ञप्तीमा उल्लेख छ ।