विश्व शान्तिमा नेपाली सेनाको गर्व लायक उपस्थिति

रासस

शुक्रबार, ०१ फागुन २०८२, ११ : १५
विश्व शान्तिमा नेपाली सेनाको गर्व लायक उपस्थिति

काठमाडौँ । विश्व शान्तिमा नेपाली शान्ति सैनिक आफूलाई साहसिक, अनुशासित एवं व्यावसायिक परिचय दिलाउन सफल भएका छन् । सन् १९५८ मा लेबनानमा पाँच सैनिक पर्यवेक्षक खटाइ संयुक्त राष्ट्रसंघको विश्व शान्ति अभियानमा सहकार्य सुरु गरेको नेपाली सेना अहिले उक्त विश्व मञ्चको दह्रो सहयात्री बनेको छ ।

राष्ट्रसंघको छातामुनि रही नेपाली सेनाले जोखिमयुक्त कार्य र जिम्मेवारीलाई समेत सहजै स्वीकार गरी इमान्दार, व्यावसायिक र आदेशपालक ‘च्याम्पियन’ सैनिकको परिचय दिलाउन सफल रहेको सिरियास्थित युएन शान्ति मिसनका पूर्वफोर्स कमाण्डर ईश्वर हमाल बताउँछन् ।

पूर्वरथी हमाल भने, ‘नेपाली शान्ति सैनिक अनुभवी, अनुशासित, तटस्थ, व्यावसायिक, आदेशपालक र भरपर्दो सैनिकका रूपमा परिचित छ । जोखिम अवस्थामा पनि तत्कालै परिचालित हुने भएकाले पनि नेपाली शान्ति सैनिकलाई सबैले मन पराउँछन् ।’

विश्व शान्ति, सुरक्षा, समानता र परस्पर सम्मानको साझा उद्देश्यका साथ स्थापना भएको विश्व मञ्चमा नेपालको प्रवेश भने सन् १९५५ डिसेम्बर १४ मा भएको थियो । नेपालले सन् १९६९–७० र सन् १९८८–१९८९ मा दुईपटक राष्ट्रसंघको सुरक्षा परिषद्को अस्थायी सदस्यको भूमिकासमेत सफलतापूर्वक निर्वाह गरिसकेको छ । त्यसो त नेपालको परराष्ट्र नीतिमै पनि राष्ट्रसंघकै बडापत्रको सिद्धान्तलाई सर्वाधिक प्राथमिकता दिइएको छ । द्वन्द्वग्रस्त मुलुकमा शान्ति सैनिक पठाइने सिलसिलामा युएनको झण्डामुनिमात्र जाने नेपालले राष्ट्रिय नीति अवलम्बन गरेको छ ।

राष्ट्रको आह्वानमा पुरानो गोरख गण सन् १९७४ मा इजिप्टमा पहिलोपटक तैनाथ भएको थियो । त्यस समयदेखि संघका अधिकांश शान्ति ‘मिसन’मा सक्रिय सहभागी हुँदै आएको छ । यस अवधिमा ४४ मिसनमा एक लाख ६२ हजार ४९६ ‘ब्लु हेल्मेट धारी’ शान्तिकामी नेपाली सैनिकले योगदान पुर्‍याइसकेका छन् । त्यसबापत सोही सङ्ख्यामा ‘राष्ट्रसंघीय शान्ति पदक’ प्राप्त गरिसकेका छन् । विश्व शान्ति अभियानमा तीन हजार ६६६ बढी नेपाली महिला शान्ति सैनिकको योगदान छ । यसबीचमा सेनाले इन्जिनियर, मेडिकल र विशेष फौजको टुकडीजस्ता विशिष्ट क्षमताको फौज सहभागी गराएर राष्ट्रसंघको शान्ति कार्यमा महत्त्वपूर्ण योगदान दिइरहेको छ ।

साइप्रस मिसनमा खटिनुभएका नेपाली सेनाका पूर्वफोर्स कमान्डर रथी भिक्ट्रीशम्सेर जवरा (अप्रा) अन्तरराष्ट्रिय जगत्मा मिसन हाँक्ने गरी द्वन्द्वरत मुलुकमा फोर्स कमान्डर भएर जान पाउनु देश र सङ्गठनका लागि ठूलो अवसर भएको प्रतिक्रिया दिन्छन् । उनले भने, ‘त्यसबेला त्यहाँ युरोप, अष्ट्रेलिया, अर्जेनटिनालगायत १५ मुलुकका करिब एक हजार ७०० जति शान्ति सैनिक परिचालित थिए । फोर्स कमान्डरका हैसियतले त्यसको नेतृत्वको जिम्मेवारी थियो ।’

नेपाली शान्ति सैनिकको कर्तव्यप्रति निष्ठा र उत्कृष्ट कार्यसम्पादनको राष्ट्रसंघलगायत निकायबाट उच्च प्रशंसा हुँदै आएको छ । विश्व शान्ति स्थापना कार्यमा परिचालित हुँदा हालसम्म ७४ नेपाली शान्ति सैनिकको वीरगति प्राप्त गरेका छन् भने ७७ जना गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस