काठमाडौँ । श्रीमान्को हत्या अभियोगमा पक्राउ परेकी श्रीमतीलाई तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–३ कृष्णमन्दिर बस्ने ६० वर्षीय रामबहादुर कार्कीको हत्या अभियोगमा पक्राउ परेकी ४० वर्षीया सम्झना कार्कीलाई अदालतले आज पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
थुनछेक बहस सकिएपछि जिल्ला न्यायाधीश वासुदेव पौडेलको आदेशबाट सम्झना पुर्पक्षमा लागि थुनामा गएको जिल्ला स्रेस्तेदार सुदर्शन खनालले जानकारी दिनुभयो । सम्झनालाई प्रहरीले गत फागुन ८ गते पक्राउ गरेको थियो । रामबहादुरको गत माघ १७ गते हत्या भएको थियो । गत माघ १७ गते भएको घटनामा मृतककी श्रीमतीको संलग्नता देखिएपछि उनलाई पक्राउ गरेर मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिनुभयो ।
माघ १८ गते बिहान रामबहादुर कार्की घरमै सुतिरहेको अवस्थामा मृतावस्थामा फेला परेका थिए । श्रीमान् मृतावस्थामा फेला परेपछि श्रीमती सम्झनाले नै प्रहरीमा खबर गरेकी थिइन् । प्रहरीले उक्त घटनामा मृतककी श्रीमती सम्झनाले प्रयोग गर्ने मोबाइलको ‘कल डिटेल रेकर्ड’ लगायतको विवरण निकालेर अनुसन्धान गर्दा आफ्नै श्रीमान्लाई कर्तव्य गरी मारेको अनुसन्धानबाट खुल्न आएको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार घटनामा अन्य व्यक्तिको पनि संलग्नता हुन सक्ने भएकाले थप अनुसन्धान भइरहेको छ ।
मृतक रामबहादुरले दैनिक मदिरा सेवन गर्ने गरेका थिए । घटनाको दिन पनि उनले मदिरा सेवन गरेर सुतेका थिए । मृतावस्थामा फेला परेका उनको घाँटीमा नीलो डाम देखिएपछि हत्या भएको हुन सक्ने प्रहरीलाई शङ्का थियो । उनको शवपरीक्षणमा सामान्य मृत्यु नदेखिएकाले प्रहरीले विस्तृतरुपमा घटनाको अनुसन्धान थालेको थियो । मृतकको घाँटी थिचेर हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
श्रीमान्को मृत्युपछि सम्झनाले १३ दिने काजकिरियासमेत गरिसेककी थिइन् । घटना घटेपछि शुरुमा सम्झनाले मृतकको शवपरीक्षण गर्न आनाकानी गरेकी थिइन् । मृतकका अन्य आफन्तले शवपरीक्षण गर्नुपर्ने बताएपछि मृतकको शवपरीक्षण भएको थियो । प्रहरीले सम्झनालाई विभिन्न चरणमा सोधपुछ गर्दा निजले घटना स्वीकार गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०४ चैत्र २०७६, २० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या