प्रचण्डलाई भेटेको भोलिपल्ट राष्ट्रपतिले किन भेटिन् माधव नेपाल ?

सफल खबर संवाददाता

शुक्रबार, ३० फागुन २०७६, १२ : १९
प्रचण्डलाई भेटेको भोलिपल्ट राष्ट्रपतिले किन भेटिन् माधव नेपाल ?

काठमाडौं । सत्तारुढ दल नेकपामा यतिबेला सन्नटा छाएको छ । पार्टीका एउटा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली मर्गाैला पुनः प्रत्यारोपणका लागि अस्पताल भर्ना भए यता नेकपामा खास गतिविधि देखिएको छैन । प्रधानमन्त्री २१ फागुनदेखि अस्पताल भर्ना भएका हुन् ।

नेकपाभित्र १४ फागुनको निर्णयले धु्रबीकरण बढाइरहेका बेला प्रधानमन्त्रीको अस्पताल बसाइँले पनि गतिविधिमा सन्नटा छाएको हो । पार्टीका दुई अध्यक्ष छन् । प्रचण्ड कार्यकारी अध्यक्ष छन् ।

तर पार्टीमा अध्यक्ष प्रचण्डले पनि पार्टी काम गर्दा प्रधानमन्त्रीसँगको पनि सल्लाहमा मात्र काम अगाडि बढाउने र सरकारको नेतृत्व गरेका प्रधानमन्त्रीले पनि पार्टीको कार्यकारी अध्यक्ष प्रचण्डसँगको सल्लाहमा मात्र काम अगाडि बढाउने समझदारी ४ मंसिरको सचिवालयले दुई अध्यक्षको अधिकार बाँडफाँडमा निर्णय लिएका थिए ।

प्रधानमन्त्री ओलीले १४ फागुनको निर्णय कार्यान्वयन गरेका छैनन् । उक्त बैठकले उपाध्यक्ष बामदेव गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित गर्ने रिक्त कोटामा राष्ट्रिय सभा सदस्यका रुपमा पठाउने निर्णय गरेको थियो । यो निर्णय कार्यान्वयन नगर्दै प्रधानमन्त्री ओली अस्पताल भर्ना हुन पुगेपछि यो निर्णय त्यतिकै थन्किएर बसेको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो अस्पताल बसाइँका बेला पार्टी काम अगाडि बढाउन कार्यकारी अध्यक्ष प्रचण्डलाई कुनै संकेत नगरी मृर्गाैला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुन गएका थिए ।

प्रचण्डले पनि प्रधानमन्त्री तथा अध्यक्षको स्वीकृत बिना पार्टी बैठक राख्ने, एकताका काम सक्ने कामका लागि बैठक वोलाएका छैनन् । केही दिनभित्रै प्रधानमन्त्री डिस्चार्ज भए आपसी सहमतिमै पार्टी बैठक बोलाउने तयारीका साथ प्रचण्डले अहिले बैठक नवोलाएको उनी निकट नेताहरुको भनाइ छ ।

तर यो बीचमा नेताहरुका भित्री दौडाह भने रोकिएको छैन । ओली पक्षका नेताहरुले निरन्तर माधव नेपाललाई भेट्ने, पूर्वएमाले खेमाका नेताहरु एकै ठाउँमा उभिनु पर्ने जस्ता सन्देश प्रवाह गरिरहेका छन् । तर नेपाल अहिलेसम्म प्रचण्डसँगै नजिक रहेर पार्टीभित्रको विधि र विद्यानका पक्षमा नै कुरा उठाइरहेका छन् ।

१० फागुनमा राष्ट्रपति भेटेका प्रचण्डले बुधबार राष्टपति विद्यादेवी भण्डारीसँग झण्डै एक घण्टा छलफल गरेका थिए । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था, कोरोना सजगताका लागि नेपालको तयारीलगायतका विषयमा प्रचण्डले राष्ट्रपति भण्डारीसँग छलफल गरेको बताइएको छ ।

प्रचण्डले राष्ट्रपति भेटेको भोलिपल्टै माधव नेपालले पनि राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेको उच्च स्रोतले बताएको छ । उनले हिजो दिउँसो राष्टपति भण्डारीसँग छलफल गरेको नेपाल निकट स्रोतको भनाइ छ । नेपाललाई राष्ट्रपति आफैले फोन गरी भेटन बोलाएकी थिइन् ।

नेकपाको आन्तरिक राजनीतिमा अदृश्य रुपमा बेला बेला हस्तक्षेपकारी भूमिका खेल्दै आएकी राष्टपति भण्डारीले प्रचण्डलाई भेटेको भोलिपल्टै अर्थात् बिहीबार किन माधव नेपालसँग भेट गरिन् ? राजनीतिक वृत्तमा अहिले यो विषय चर्चामा छ ।

नेपाललाई ओली पक्षधर नेताहरुले फकाउन अनेक प्रलोभनसतिका प्रस्ताव लिएर उनकै निवासमा जानु, प्रचण्डले राष्टपति भेटेको भोलिपल्टै राष्ट्रपतिकै बोलावटमा माधव नेपाल शितल निवास पुग्नु संयोग मात्र नभएको विश्लेषण राजनीतिक वृत्तमा गरिन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस