काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको आदर्शप्रति मन, बचन र कर्मले निष्ठावान रहन देशवासीलाई आह्वान गरेका छन्। नव वर्ष २०८३ को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई शुभकामना सन्देश जारी गर्दै उनले मुलुक र नागरिकको हितबाहेक राज्यको अर्को कुनै स्वार्थ हुन नहुने कुरामा जोड दिएका हुन्।
राष्ट्रपतिले जुनसुकै कठिन परिस्थितिमा पनि देशको स्वाधीनता र सार्वभौमिकतालाई झुक्न नदिने दृढ संकल्प गर्न सम्पूर्ण नेपालीलाई अपिल समेत गरेका छन्।
नयाँ वर्षलाई विगतको समीक्षा गर्ने र आगामी दिनका लागि नयाँ लक्ष्य निर्धारण गर्ने महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गर्दै राष्ट्रपतिले हाम्रा संवत्हरू इतिहास र सभ्यताका अभिन्न अंग भएको उल्लेख गरेका छन्।
उनले हाम्रा गौरवमय परम्परा र संस्कृतिले नै हामीलाई उन्नत भविष्यतर्फ अगाडि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्। विशेषगरी हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपछि देशले नयाँ जनादेश पाएको र यसले विधिको शासन, सुशासन र समृद्धिको जनचाहनालाई स्पष्ट पारेको उनको भनाइ छ।
राष्ट्रपति पौडेलले राजनीति र राजकाजलाई नैतिकता, निष्ठा र आदर्शको सीमाभित्र राख्नुपर्नेमा जोड दिँदै सुशासनप्रति सबैको प्रतिबद्धता आवश्यक रहेको बताएका छन्। उनले समावेशीकरण र सामाजिक न्यायलाई आत्मसात गर्दै विभिन्न जाति, भाषा र धर्मबीचको एकतालाई अझ मजबुत बनाउनुपर्ने धारणा राखेका छन्। नागरिकलाई सधैं केन्द्रमा राखेर राज्यका हरेक संयन्त्र परिचालित हुनुपर्ने र नागरिकको स्वतन्त्रता नै राज्यको प्राथमिक स्वार्थ हुनुपर्नेमा उनले स्पष्ट पारेका छन्।
भविष्यका सन्ततिले हाम्रा पुर्खाहरूले लोकतन्त्रको मार्ग रोजेर सही निर्णय गरेकोमा गर्व गर्ने वातावरण बनाउनु आजको आवश्यकता रहेको राष्ट्रपतिको सन्देशमा उल्लेख छ। कुनै पनि राष्ट्रिय लक्ष्य प्राप्तिका लागि संकल्प र साधना अनिवार्य हुने भन्दै उनले सामाजिक एकता र आपसी सम्मानलाई नेपालीको सांस्कृतिक चरित्र बनाउनुपर्ने बताएका छन्।
अन्त्यमा, नयाँ वर्षले सबै नेपालीमा परस्पर विश्वास र सद्भाव बढाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने शक्ति प्रदान गरोस् भन्दै उनले सबैको सुख, शान्ति र दीर्घायुको कामना गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ बैशाख २०८३, ०६ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे दुई विधेयक
मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता : राष्ट्रपति पौडेल
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ
राष्ट्रपतिले आह्वान गरे संसद्का दुवै सदनको अधिवेशन
राष्ट्रपतिको ‘सेफल्यान्डिङ’ रोडम्याप !
राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै राजनीतिक नियुक्ति पाएका १ हजार ५९४ पदाधिकारी पदमुक्त