काठमाडौं । पूर्व पञ्चहरुको पार्टी हिजोदेखि फेरि एक भएका छन् । पटक पटक जुट्दै र फुट्दै आएका पूर्वपञ्चहरुको पार्टीले दक्षिणपन्थी धाराको नेतृत्व लिनका लागि पार्टी एकता गरेका हुन् ।
एकताका क्रममा कमल थापा, पशुपति शम्शेर जवरादेखि प्रकाशचन्द्र लोहनीसम्म त एक भए , तर सूर्यबहादुर थापाको विरासत मानिएका उनकै छोरा सुनिलबहादुर थापा भने एकता सभामा सहभागी भएनन् । अर्थात भनौं, उनले पूर्व पञ्चहरुको त्यो एकतासभालाई वहिष्कार गरिदिए ।
सुनिल पूर्व मन्त्री तथा धनकुटाका सूर्यबहादुरकै विरासतमा राजनीति गर्दै आएका नेता हुन् । संविधान निर्माण गर्दा उनी सांसद थिए । धनुकटाबाट त्यसबेला उनी प्रत्यक्ष निर्वाचित सांसद नै थिए ।
पूर्व पञ्चहरुको पार्टीले अहिले फेरि अवसानमा पुगिसकेको राजसंस्थाको वकालत गर्ने गरी एकताका एजेण्डा बोकेर आएपछि उनी त्यससँग सहमत छैनन् । आफैले हस्ताक्षर गरेको संविधानविपरित अहिले अवसानमा पुगिसकेको राजसंस्थाको मुद्दा उठाएर हिड्नु गलत हुने उनको ठम्याई छ ।
त्यही कारण पनि उनले राप्रपाको एकता सभा वहिष्कार गरे । पशुपति सम्शेर राणाले हिजो नै उनलाई एकतासभा वहिष्कार नगर्न आफ्नै निवास महाराजगञ्ज बोलाएर मनाउने अनेकन प्रयास पनि गरे । तर उनले मानेनन् ।
थापाको भनाई थियो,– ‘अहिले संविधानविरुद्ध जाने होइन, संविधानलाई संस्थागत गरी जनताको जनादेशको सम्मान गर्दै अगाडि जानुपर्छ । अवसान भइसकेको राजसंस्थालाई अब पनि बोकेर हिँड्न सकिंदैन् ।’
पार्टीले लिएको एजेण्डामै विमति रहेपछि अब के थापा त्यही असन्तुष्टि जारी राखिरहन्छन् ? या उनले फेरि पार्टी आफ्नै नेतृत्वमा बनाउँछन् या अन्य कुनै पार्टीमा प्रवेश गर्छन् ?
उनका सामु अब तीन विकल्प छ । तर उनी निकट नेता किरण गिरी अहिले थापा पर्ख र हेरको रणनीतिमा रहेको जिकिर गर्छन ।
तर कतिपयले अब उनले काग्रेस प्रवेशको तयारी गरेको बताउन थालेका छन् । उनी निकट केही नेताले त्यसको खुलासा पनि गरेका छन् । ‘नयाँ पार्टी खोलेर अहिले स्थापित हुन गाह्रो छ, मुद्दै नमिलेपछि र एकतासभा नै वहष्किार गरेपछि फेरि राप्रपामा बसिरहन पनि अप्ठायारो छ, अब विकल्प मुख्य पार्टी छान्ने हो, त्यसमा सहजता कांग्रेस हुन्छ, कांग्रेससाग दुई चार चरण कुरा पनि भएको छ,’ उनी निकट एक नेताले भने,– ‘कांग्रेस प्रवेश गर्दा एक्लै प्रवेश गर्ने होइन, हामी सहित जाने हो ।’
तत्कालका लागि कांग्रेस प्रवेश गर्दा पदीय हैसियत स्पष्ट नगरी प्रवेश गर्ने र पछि मात्र यस बारेमा टुंगोमा पुगिने विषयमा पनि कांग्रेस सभापति सहितसँग कुरा चलेको ती नेताले बताए । तर त्यसको मिति भने टुंग्गिसकेको छैन ।
प्रतिक्रिया दिनुहोस