चौकिडाँडा हिल स्टेशनको रुपमा विकास हुन्छ : प्रमुख रेनु दाहाल

सफल खबर संवाददाता

सोमबार, १९ फागुन २०७६, १८ : १८
चौकिडाँडा हिल स्टेशनको रुपमा विकास हुन्छ : प्रमुख रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले छुट्टै विशेषता बोकेको रमणीय ठाउँ चौकिडाँडा हिल स्टेशनको रुपमा विकास हुने बताउनु भएको छ । 

आज सोमबार पात्लेवास चौकिडाँडा सडक ट्रयाकको उद्घाटन गर्दै प्रमुख दाहालले यस्तो बतउनु भएको हो । उहाँले यस सडकले चौकिडाँडा आवागमनमा सहजता ल्याउने बताउनुभयो । यो सडक महानगरको मतहातमा ल्यायर आगामी वर्षमा नगर स्तरीय बजेटबाट थप काम अगाडि बढाइने उहाँले बताउनु भयो । 

यस सडक निर्माणमा देखिएको उत्साहजनक जनसहभागिताले आफूलाई उत्साहित पारेको बताउँदै उहाँले महानगरपालिकाको २० लाख र स्थानीय जनसहभागिता ३१ लाख गरी कुल ५१ लाख रुपैयाँको लागतमा काम सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले यस बाटो निर्माणले यस क्षेत्रको विकासमा कोसे ढुङ्गा हुने बताउनु भयो । 

प्रमुख दाहालले महानगर, प्रदेश र संघ सरकारको लगानीमा सडक पूर्वाधार, खानेपानी, एतिहासिक चौकी गढी संरक्षण, चौकिडाँडा भ्यू टावर आदी गरी करिव ८ करोड रुपैयाँ बराबरका आयोजनाहरु यसै आर्थिक वर्षमा काम भैरहेको बताउँदै चौकिडाँडा ढोडेनी पर्यटकीय विकासको महत्वपूर्ण स्थान बन्ने बताउनु भयो । 

अधिकांश भूभाग पहाडी क्षेत्र समेटिएको यस वडामा विकास चुनौतिपूर्ण रहेपनि महानगरपालिकाले यस वडालाई रणनैतिक ढंगले विकासका गतिविधिहरु सञ्चालन गर्ने बताउनुभयो । यस वडाको मुख्य समस्या शुद्ध पिउने पानी रहेकोमा चौकिडाँडा खानेपानी आयोजना र ढोडेनी खानेपानी आयोजना भैरहेको भन्दै उहाँले यसै आर्थिक वर्षमा यस क्षेत्रका बासिन्दाहरुले शद्ध पिउनेपानी पाउने बताउनु भयो । 

प्रमुख दाहालले विकास सबैको सहकार्यमा मात्र सम्भव हुने बताउँदै यस क्षेत्रमा पर्यटकीय पूर्वाधारहरु निर्माण गरी यसलाई मौलिक ढंगको पर्यटकीय केन्द्र निर्माणमा लगानी गर्न नीजि क्षेत्रलाई आग्रह गर्नुभयो । प्रमुख दाहालले वडाभित्र रहेका ऐलेनी सार्वजनिक जग्गाको खोजविन र संरक्षण गर्न वडा अध्यक्ष मानबहादुर रानालाई निर्देशन दिनुभयो । 

कार्यक्रममा वडा अध्यक्ष मनबहादुर राना, बाटो निर्माण समितिका संयोजक सुर्यबहादुर गुरुङ्गले बाटो निर्माणको आयव्यय सार्वजनिक गर्नु भएको थियो । 

राजमार्ग जुगेडीदेखि चौकीडाँडसम्म ७ किमी मध्य ४ किमी नयाँ ट्रयाक निर्माण गरिएको बाटो निर्माण समितिका सदस्य सुजन शर्माले बताउनुभयो । यस बाटो निर्माण सम्पन्न भएसँगै चोकीडाँडासम्म आइपुग्नका लागि १५ किमी छोटो भएको छ ।
 

प्रतिक्रिया दिनुहोस