काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलन ७७ वर्ष पूरा गरेर ७८ औं वर्षमा प्रवेश गरेको उल्लेख गर्दै यस अवधिमा धेरै अप्ठ्याराहरू, विभाजनका पीडाहरू, एकताका उत्साहहरू र पराजयका चुनौतीपूर्ण क्षणहरूको अनुभव गरेको बताउनु भयो ।
उहाँले पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य लगायतका संस्थापक नेताहरूप्रति सम्मान व्यक्त गर्दै शहीदहरू र योद्धाका परिवारजनप्रति श्रद्धा प्रकट गर्नुभयो । उहाँले ६ महिनाभित्र पार्टीको महाधिवेशन सम्पन्न गने, युवा नेतृत्वलाई तलदेखि माथिसम्म प्राथमिकता दिने, गल्ती स्वीकार्दै नयाँ सिराबाट पार्टी पुनर्गठन गर्ने, अन्तर्राष्ट्रिय परिस्थितिको ठोस विश्लेषण र समाजवादी मोर्चा निर्माण गर्ने बताउनु भयो । लेनिन जयन्तीको महत्वबारे चर्चा गर्दै प्रचण्डले साम्राज्यवादले फेरि युद्धको सहारा लिन खोजेको र विश्व तेस्रो विश्वयुद्धको सन्त्रासमा रहेको बताउनु भयो । उहाँले रुस–युक्रेन, प्यालेस्टाइन–इजरायल युद्ध र इरान–अमेरिका तनावको चर्चा गर्दै कम्युनिष्टहरूको अन्तर्राष्ट्रिय दायित्व थपिएकोमा जोड दिनुभयो ।
लेनिनको एक कदम अगाडि, दुई कदम पछाडि सिद्धान्तलाई उद्धृत गर्दै प्रचण्डले विगतका गल्ती कमजोरीहरूको आत्मचिन्तन भइरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले जहाँ कमजोरी भयो त्यसको वस्तुवादी समीक्षा गर्नै पर्दछ । गल्ती कमजोरीहरू सफा गर्ने अवसर पनि हो । जनताले हामीलाई घृणा गरेको होइन, सबक सिकाएको हो ।’
आगामी असोजभित्र महाधिवेशन सम्पन्न गर्ने र पार्टीलाई नयाँ ढङ्गले पुनर्गठन गर्ने योजना प्रचण्डले सुनाउनु भयो । नयाँ युवाहरूलाई प्राथमिकता दिने र पुरानो पुस्ताले पनि नयाँ भूमिकामा आफूलाई प्रस्तुत गर्ने उहाँको भनाइ थियो । कम्युनिष्ट आन्दोलनको पुनर्गठनको नेतृत्व आफ्नो पार्टीले लिने उहाँले दाबी गर्नुभयो ।
नयाँ भनिएका शक्तिहरूले प्राप्त गरेको जनमतलाई सम्मान गर्दै उहाँले वर्तमान संविधान र गणतान्त्रिक व्यवस्था स्थापनामा कम्युनिष्टहरूको निर्णायक भूमिका नबिर्सन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नयाँ साथीहरूले यो कुरा ख्याल गर्नुपर्छ कि तपाईँहरू जुन संविधान भित्रबाट आउनुभएको छ, त्यो हिजोको जनयुद्ध र जनआन्दोलनको बलमा सम्भव भएको हो ।’
प्रचण्डले निराशालाई त्याग्न र छिट्टै आउने आन्दोलनको नयाँ लहरका लागि तयार रहन कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो ।
कम्युनिस्ट आन्दोलन गम्भीर संकटमा, ७७ वर्षे इतिहासको निर्मम समीक्षा जरुरीः नेपाल
नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलन गम्भीर संकटमा रहेको बताउनु भयो । वि.सं. २००६ साल वैशाख ९ गते कलकत्ताको श्यामबजारमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको इतिहासलाई सम्झिँदै नेता नेपालले संस्थापकहरूको संख्याबारे जारी बहसलाई स्पष्ट पार्नुभयो ।
उहाँले पुष्पलाल श्रेष्ठ, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र निरन्जन गोविन्द वैद्यसँगै महिला नेतृ मोतीदेवीलाई पनि संस्थापक मान्नुपर्ने धारणा राख्नुभयो ।
‘उपस्थितिको हिसावले ४ जना भए पनि मोतीदेवी सहित ५ जनालाई नै संस्थापक मान्नुपर्छ, यसमा हामीले तथ्यको आधारमा एउटा निस्कर्षमा पुग्नै पर्छ ।’ उहाँले भन्नुभयो ।
पछिल्लो निर्वाचनको नतिजाले कम्युनिष्ट आन्दोलनलाई ठूलो धक्का दिएको नेता नेपालको विश्लेषण छ । कम्युनिष्ट आन्दोलन अहिले गम्भीर संकटमा उभिएको भन्दै उहाँले ७७ वर्षको समग्र सिंहावलोकन गर्नुपर्ने बेला आएको बताउनु भयो । २०२६ सालमा पुष्पलालले १८ वर्षको सिंहावलोकन गरे जस्तै अहिलेको अवस्थामा समग्र कम्युनिष्ट आन्दोलन कसरी उकालो र ओरालोको बाटो हुँदै अगाडि बढ्यो भन्ने कुराको गहन समीक्षा जरुरी रहेकोमा उहाँले जोड दिनुभयो ।
असफलताबाट नआत्तिन आग्रह गर्दै उहाँले विश्व कम्युनिस्ट इतिहासको समीक्षा गर्नुभयो । रुसी अक्टोबर क्रान्तिदेखि चीनको आर्थिक उत्थानसम्मको उदाहरण दिँदै उहाँले भन्नुभयो, ‘देङ सियाओपिङले अगुवाइ गरेपछि चीनले जसरी आर्थिक छलाङ मा¥यो, त्यो हाम्रा लागि प्रेरणा हो । आज चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्रको रूपमा उभिएको छ ।’ पराजयलाई विजयमा बदल्न नयाँ सिराबाट धुलो टक्टक्याएर उठ्नुपर्ने माओत्सेतुङको भनाइलाई उहाँले उद्धृत गर्नुभयो । वर्तमान सरकारले जनताको भावना बुझ्न नसकेको नेता नेपालको आरोप छ ।
उहाँले भन्नुभयो, ‘मर्निङ शोज द डे भनिन्छ, तर सरकारको लक्षण राम्रो देखिँदैन। जनतामा सन्तुष्टि छैन ।’
भ्रष्टाचार, विसंगति र बेथिति अन्त्य गर्न कम्युनिस्टहरूले नै पहलकदमी लिनुपर्ने भए पनि पहिले आफ्नै पार्टीभित्रको व्यक्तिवाद र स्वार्थलाई त्याग्नुपर्ने उहाँको धारणा थियो ।
पार्टी एकता र साङ्गठनिक सुदृढीकरणको काममा विलम्ब भएको उहाँले स्वीकार गर्नुभयो । कार्यकर्ताहरूलाई ठोस जिम्मेवारी दिन नसकेको कुरालाई कमजोरीका रूपमा लिँदै अब छिट्टै कार्यविभाजन र संगठन एकीकरणको काम सम्पन्न गरिने आश्वासन दिनुभयो । इमानदार र निष्ठावान भएर अगाडि बढे मात्रै जनताको विश्वास जित्न सकिने उहाँको दाबी छ । नेता नेपालले कम्युनिस्ट पार्टी सधैं राष्ट्रियताको पहरेदार भएको र देशभक्तिको झण्डा दृढताका साथ बुलन्द गर्नुपर्ने बताउनु भयो ।
दक्षिणपन्थी अवसरवाद र अराजकतालाई परास्त गरेर मात्रै समाजवाद सम्भवः उपाध्यक्ष बादल
नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापाले नेपाली कम्युनिष्ट आन्दोलनमा देखिएको दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकतालाई परास्त नगरी समाजवादको लक्ष्य हासिल हुन नसक्ने बताउनु भयो । उपाध्यक्ष बादलले २००६ सालमा रोपिएको कम्युनिष्ट आन्दोलनको बिरुवा आज विशाल वृक्षको रूपमा स्थापित भएको बताउनु भयो । २००७ सालको राजनीतिक परिवर्तनदेखि संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणसम्म एमालेले निर्णायक र नेतृत्वदायी भुमिका खेलेको उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘आज नेपालको झन्डै दुई तिहाइ जनमत कम्युनिष्टहरूको प्रभावमा छ र नेकपा (एमाले) यसको मूलधारको रूपमा स्थापित भएको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ बैशाख २०८३, १८ : १८
लेखकबाट थप