फर्छ्यौट हुन नसकेका फाइलबारे गुनासो टिपाउन प्रधानमन्त्री कार्यालयको आह्वान

सफल खबर संवाददाता

बुधबार, ०९ बैशाख २०८३, २१ : ३९
फर्छ्यौट हुन नसकेका फाइलबारे गुनासो टिपाउन प्रधानमन्त्री कार्यालयको आह्वान

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विभिन्न सरकारी निकायमा लामो समयदेखि अड्किएर रहेका तथा फर्छ्यौट हुन नसकेका फाइलसम्बन्धी समस्या उजागर गर्न नागरिकसँग गुनासो माग गरेको छ।

कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यसहित अड्किएका फाइलहरूको यथाशीघ्र फर्छ्यौट गर्ने प्रक्रिया अघि बढाइएको जनाएको छ। सोही सन्दर्भमा नागरिकका गुनासो संकलन गरी समाधान प्रक्रियालाई थप प्रभावकारी बनाउन आह्वान गरिएको हो।

यसअघि २०८२ चैत ३० गतेदेखि २०८३ वैशाख ७ गतेसम्म ‘शून्य बाँकी फाइल सप्ताह अभियान’ सञ्चालन गरिएको थियो। अभियानका क्रममा विभिन्न निकायमा लामो समयदेखि निर्णयविहीन अवस्थामा रहेका फाइलहरूको पहिचान तथा फर्छ्यौटमा जोड दिइएको कार्यालयले जनाएको छ।

सूचनामा सेवाग्राहीले आफ्ना फाइलसम्बन्धी समस्या वा गुनासो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको ‘हेलो सरकार’ सेवा, टोल फ्री नम्बर वा अनलाइन पोर्टलमार्फत दर्ता गर्न सक्ने व्यवस्था रहेको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस