राष्ट्र जोगाउने जिम्मा काँग्रेसको काँधमा : सभापति देउवा

सोमबार, १२ फागुन २०७६, १७ : २६
राष्ट्र जोगाउने जिम्मा काँग्रेसको काँधमा : सभापति देउवा

लुम्बिनी । नेपाली काँग्रेसका सभापति एवं पूर्बप्रधानमन्त्री शेरबहादुर देउवाले  विगतको कमी कमजोरी सच्चाउँदै राष्ट्र र राष्ट्रियता जोगाउन काँग्रेसको काँधमा आएको बताएका छन् ।

उनले सो कुरा रुपन्देहीको लुम्बिनी सांंस्कृतिक नगरपालिका वडा नम्बर १० महिलवारमा आयोजित मनोनित राष्ट्रियसभा सांसद स्व.दुर्गाप्रसाद उपाध्यायको शोक सभालाई सम्बोद्धन गर्दै बताएका हुन्. ।

पूर्वप्रधानमन्त्री देउवाले अडियो काण्ड तथा मिडिया माथिको हस्ताक्षेपले राष्ट्रियतालाई कमजोर बनाएको हुँदा सरकारको भ्रष्टाचारविरुद्ध कांग्रेस एक ढिक्का भई अघि बढनु पर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस सचेतक बालकृष्ण खाँडले झुक्किएर जनताले सत्तामा पु¥याउँदा कम्युनिष्ट सरकारले सेना र कर्मचारीलाई गलत ढंगबाट प्रयोग गरी तानाशाही बाटोमा अग्रसर भई लोकतन्त्रलाई मास्न खोजेको आरोप लगाए । 

उनले दुई तिहाई बहुमत दम्भमा सरकार एकपछि अर्को काण्डमा फस्दै गएको हुँदा सरकारलाई जबाफदेही बनाउन बाध्य पारी अर्को चुनावमार्फत लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी प्रमुख प्रतिपक्षी दल काँग्रेसको काँधमा जनताले सुम्पेको बताए ।

समारोहका वक्ता संघीय सार्वजनिक लेखा समिति संयोजक भरतकुमार शाहले सरकारले गरेको भ्रष्टाचारको लेखाजोखा आफूले राखेको जनता समक्ष सार्वजनिक गरिदिने चेतावनी समेत दिए । 

सांसद शाहले होनहार कार्यकर्ता सांसद उपाध्यायको स्वर्गारोहणले कांग्रेसलाई स्तब्ध तुल्याएको हुँदा निजको शोकाकुल परिवारलाई भरणपोषणको जिम्मा पार्टीले लिनु पर्ने बताए । 

सो अवसरमा पूर्वराजदूत द्वीपकुमार उपाध्याय, रुपन्देही जिल्ला सभापति अब्दुलरज्जाक लगायतले शोक वक्तव्य व्यक्त गरेका थिए ।