काठमाडौं । सरकारका गतिविधिमाथि निगरानी गर्न भन्दै ‘छाया सरकार’ बनाएको कांग्रेसले आफ्नो गतिलाई थप सशक्त बनाउने तयारी गरेको छ । सरकारले संविधान, विधि र प्रक्रिया मिचेर काम गरिरहेको, अनियमितता, महँगी र भ्रष्टाचार बढेको तथा जनताका पक्षमा काम गर्न नसकेको, मन्त्रीका गतिविधि दिनदिनै विवादित बन्न थालेको भन्दै कांग्रेसले ‘छाया सरकार’को स्वरूपलाई सशक्त बनाउन लागेको हो ।
त्यसका लागि कांग्रेसले छाया सरकारमा रहेका संयोजक र सदस्यसहितको बैठक आइतबार (आज)का लागि बोलाएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा डाकिएको बैठकमा सरकारका गतिविधि, पार्टीले संसद्मा खेल्ने भूमिका र समग्र राजनीतिक अवस्थासहितका विषयमा छलफल हुने प्रतिनिधिसभा सदस्यसमेत रहेकी कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले जानकारी दिइन् । बैठकमार्फत कांग्रेसले ‘छाया सरकार’मा रहेका संयोजक र सदस्यहरूलाई जिम्मेवारीअनुसार सक्रियता देखाउन निर्देशनसमेत दिने तयारी गरेको छ ।
कांग्रेस संसदीय दलले सरकारका गतिविधिमाथि निगरानी गर्न भन्दै दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा छाया सरकारका रूपमा काम गर्न गत ६ जेठमा २१ जना संयोजक र ३७ जना सहयोगी सदस्य तोकेर स्वरूप तयार गरेको थियो । हरेक मन्त्रालयस्तरीय समन्वय समितिमा संयोजक र दुई सदस्य छन् । उनीहरूलाई मन्त्रालयको काम कारबाहीको सूक्ष्म रूपमा निरगानी र खबरदारी गर्ने अधिकार छ । कांग्रेसबाट हाल प्रतिनिधिसभामा प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४० गरी ६३ सांसद छन् ।
छाया सरकारमार्फत मन्त्रालयगत कामको निगरानी, निर्णय, संवैधानिक पद्धति, प्रक्रिया र जनआकांक्षालाई ध्यानमा राखेर काम गर्ने कांग्रेसले बताउँदै आएको छ । कांग्रेसको छाया सरकारमा दिलेन्द्रप्रसाद बडु गृह मन्त्रालयस्तरीय समितिको संयोजक छन् । यस्तै, मीनेन्द्र रिजाल अर्थ, नारायण खड्का परराष्ट्र र ज्ञानेन्द्रबहादुर कार्र्की ऊर्जा संयोजकको जिम्मेवारीमा छन् ।
यसैगरी, उमाकान्त चौधरी सहरी विकास, किशोरसिंह राठौर युवा तथा खेलकुद, मीन विश्वकर्मा उद्योग, वाणिज्य तथा आपूर्ति र गगन थापा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालस्तरीय समितिको संयोजक छन् । छाया सरकारको खानेपानी मन्त्रीमा सुजाता परियार, स्वास्थ्यमा पार्वती डिसी चौधरी, पर्यटनमा देवेन्द्रराज कँडेल, श्रममा डिला संग्रौला, संचार समितिको संयोजकमा बहादुरसिंह लामा छन् ।
यसैगरी, भूमिसुधारमा लक्ष्मी परियार, संघीय मामिलामा अतहर कमाल मुसलमान, कृषिमा पद्मनारायण चौधरी, महिलामा उमा रेग्मी, रक्षामा भीमसेनदास प्रधान, भौतिक पूर्वाधारमा संजयकुमार गौतम, वनमा राजेन्द्र केसी र कानुन मन्त्रालयमा राधेश्याम अधिकारीलाई छाया मन्त्रीको जिम्मेवारी छ ।
कांग्रेसले पछिल्लो समय निवर्तमान सञ्चारमन्त्रीसँग डोडिएको विषयलाई लिएर संसद अवरुद्ध गर्दै आइरहेको छ । कांग्रेसले सोबारे प्रधानमन्त्रीले नै संसद्मा आएर जवाफ दिनुपर्ने मागसमेत राखेको छ । संसद्मा प्रधानमन्त्रीको स्पष्ट जवाफ आएपछि मात्रै संसद सुचारु गर्न दिने पक्षमा कांग्रेस छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस
प्रतीक्षा नयाँ सरकारको, चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री चयन प्रक्रियाले पूर्णता पाउने
दुई सातापछि नयाँ सरकार
राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन एवं पूजाआराधना
मुलुकमा कुनैपनि नाममा हुने हिंसा, तोडफोड, लुटपाट र धम्की स्वीकार्य हुँदैनः गृहमन्त्री अर्याल
निर्वाचित प्रतिनिधि सभालाई सरकार हस्तान्तरण गर्छौँ र आ–आफ्नो घर फर्कन्छौँः प्रधानमन्त्री कार्की