भरतपुर महानगरपालिकालाई ‘स्मोक फ्री सिटी’ बनाउने प्रमुख रेनु दाहालको प्रतिबद्धता

सफल खबर संवाददाता

सोमबार, ०५ फागुन २०७६, १५ : ०४
भरतपुर महानगरपालिकालाई ‘स्मोक फ्री सिटी’ बनाउने प्रमुख रेनु दाहालको प्रतिबद्धता

चितवन । भरतपुर महानगर प्रमुख रेनु दाहालले ‘स्मोक फ्री सिटी’ बनाउने प्रतिबद्धता गर्नुभएको छ । गत साता इन्डोनेसियाको बोगर नगरमा भएको कार्यक्रममा उहाँले भरतपुर महानगरलाई स्मोक फ्री सिटी बनाउने प्रतिबद्धता गर्नुभएको हो । 

बोगरमा भएको कार्यक्रममा १२ देशका ४० नगरका प्रमुखहरुको सहभागिता थियो । नेपालबाट भरतपुर महानगर प्रमुख रेनु दाहालको उपस्थिति थियो ।  कार्यक्रमको अन्तिम दिन घोषणापत्र जारी गर्दै प्रमुख रेनु दाहालले स्मोक फ्री बनाउने प्रतिबद्धता गर्नुभएको थियो । 

बोगरमा भएको प्रतिबद्धतालाई कार्यान्वयनमा ल्याइने महानगर प्रमुख दाहालले बताउनुभयो । उहाँले सूचना प्रकाशित गरी भरतपुर महानगरमा सुर्तीजन्य पदार्थको प्रयोग तथा विक्री वितरणमा निषेध गरिएको बताउनुभयो । भरतपुर महानगरपालिकाले विभिन्न सञ्चारमाध्यमहरुमा सूचना प्रकाशन गरी महानगरभरि सुर्तीजन्य पदार्थको प्रयोग तथा विक्री वितरणमा निषेध गरिएको जनाएको छ । 

भरतपुर महानगरपालिका प्रमुख दाहालका अनुसार सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐनको दफा ४ अनुसार भरतपुर महानगरपालिका सार्वजनिक स्थलहरु : सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक सवारी साधन, बालगृह, सार्वजनिक शौचालय, उद्योग कलकारखाना, मनोरञ्जन स्थल, होटल रेष्टुरेन्ट, खेलकुद स्थल, व्यवसाय स्थल, धार्मिक स्थल, सार्वजनिक सवारी साधन, प्रतीक्षालय, तथा धुमपान र सूर्तीजन्य पदार्थ सेवन गर्न पूर्णत : निषेध गरिएको छ ।  

उहाँका अनुसार ऐनको दफा ११ अनुसार कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय र नेपाल सरकारले नेपाल राजपथमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा पनि एक सय मिटर परिधिभित्रका घर, पसल आदिबाट सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न गराउन पाइने छैन । 

अठार वर्ष उमेर नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न वा गर्न लगाउन नपाइने व्यवस्था महानगरले गरेको छ । महानगरले लगाएको नियमविरुद्ध जाने जोकसैलाई पनि कानुनबमोजिम सजायँ हुने महानगर प्रमुख दाहालको भनाइ छ ।  

पर्यटकीय हिसाबले रमणीय र हरियाली शहरलाई अझ बढी स्वस्थ बनाउन स्मोक फ्री सिटी बनाउन लागिएको उहाँले बताउनु्भयो । नेपालमा सुर्तीजन्य पदार्थ सेवनका कारण बर्सेनि २७ हजार मानिसले ज्यान गुमाइरहेको भन्दै दाहालले आफ्नो महानगरमा यो रोगबाट बच्न र नगरवासीलाई यस रोगबाट बचाउन सूर्तीजन्य पदार्थ नियन्त्रण गर्न आवश्यक भएको बताउनुभयो । 

‘आगामी वर्ष एपीक्याट सम्मेलन भरतपुर महानगरले गर्नेछ । यही सेरोफेरोमा हामी अब भरतपुरलाई स्मोक फ्री सिटी बनाउन गतिविधिहरू अघि बढाउँछौँँ’, उहाँले भन्नुभयो ,  ‘कानुन छ त्यसको कार्यान्वयन पक्षलाई मजबुत बनाउनैपर्छ। यो हामी सबैको दायित्व हो ।’

दाहालले भ्रमण वर्ष २०२० मा भरतपुरले सुर्तीजन्य पदार्थ र नसर्ने रोग नियन्त्रणसम्बन्धी सिटिज अलायन्सको अन्तर्राष्ट्रिय कार्यक्रम गर्न पाउनु ठूलो अवसर भएको उहाँले बताउनुभयो । स्मोक फ्री सिटी हुनुले भ्रमण वर्षमा आउने पर्यटकका लागि पनि सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ ।  द युनियनको आह्वानमा नसर्ने रोग र यसको प्रमुख कारक मानिएको सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न एसिया प्रशान्त क्षेत्रका १२ देशका नगर, महानगर प्रमुखको अलायन्स बनाइएको छ । त्यसमा भरतपुर महानगर पनि सदस्य रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस