कर्मचारीको अभावले कर्णालीको  विकास हुन सकेन : इञ्चार्ज शर्मा

शनिबार, ०३ फागुन २०७६, १८ : २५
कर्मचारीको अभावले कर्णालीको  विकास हुन सकेन : इञ्चार्ज शर्मा

रुकुमपश्चिम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश इञ्चार्ज जनार्दन शर्माले न्यायिक समानताविना स्वतन्त्रताको अर्थ नहुने बताउनुभएको छ । प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिको संयोजनमा आज यहाँ आयोजित पत्रकार आचारसंहिता एवं श्रमजीवी पत्रकार र सञ्चारमाध्यम विषयक ‘प्रदेशस्तरीय कार्याशाला’ लाई सम्बोधन गर्दै उहाँले स्वतन्त्रता न्याय र समानतामा आधारित हुनुपर्नेमा जोड दिनुभयो ।

    “समाचार व्यक्त हुने भाँडोको मालिक अर्कै छ”, इञ्चार्ज शर्माले भन्नुभयो, “शोषण हुने ठाउँमा स्वतन्त्रता हुन्छ र ? निष्पक्ष लेखाई र पेशाबाट मर्यादा कायम हुँदा स्वतन्त्रता मिल्छ ।” पत्रकारको लाइन नै राष्ट्र हुनुपर्ने भन्दै उहाँले विकास, समृद्धि र सुशासनमा आधारित तथ्यगत समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

    पूर्वगृहमन्त्री  शर्माले समाजको चरित्रले संस्कृतिको निर्माण गर्ने हुँदा अशल संस्कृति निर्माणमा सञ्चारकर्मीको भूमिका अहं हुने बताउनुभयो ।  उहाँले भन्नुभयोे, “अहिले कर्णाली प्रदेश सरकारलाई अवकाश हुन तीन महीना बाँकी सचिव सङ्घीय सरकारले पठाउँछ । कर्मचारीको अभावले यहाँको अपेक्षित विकास हुन सकेको छैन ।” 

    कर्णाली प्रदेश योजना आयोगका सदस्य डा.दीपेन्द्र रोकायाले पत्रकार जगत समाज रुपान्तरणको अभिन्न अङ्ग भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सूचना तथा सञ्चार प्रविधियुक्त प्रदेश बनाउन कर्णाली प्रदेश लागिरहेको छ । यसलाई डिजिटल ग्राम बनाउने सपना हामीले देखेका छौँ ।” 

    नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पत्रकार आचारसंहित र श्रमजीवी पत्रकार समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । चौरजहारी नगरपालिकाका नगरप्रमुख विशाल शर्मा, प्रेस काउन्सिल नेपाल सदस्य ईश्वरी ओझा, नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापालगायतले प्रेसलाई मर्यादित र सम्मानित जगतका रुपमा विकास गर्दै लैजानु आजको आवश्यकता रहेकोप्रति जोड दिनुभएको थियो ।  (रासस)