काठमाडौं । प्रमुख प्रतिपक्ष कांग्रेसले अदालतमा पुगेको मुद्दामा संसद अवरुद्ध गरेर संविधानको उल्लंघन गरिरहेको छ । पार्टीका उपसभापति विजय गच्छेदारलाई भूमाफियासँग मिलेर सरकारी जग्गा हिनामिनाको आरोपमा अख्तियारले अदालतमा मुद्दा दर्ता गरेपछि उसले सडकदेखि सदनसम्म अवरोध पु-याउने काम गदै आइरहेको छ ।
कांग्रेसको यो कदमले उसकै पार्टीभित्रै आलोचना बढ्न थालेको छ । पूर्वसभामुख दमननाथ ढुंगानाले संवैधानिक अंगको निर्णयमा बिमति भए अदालत र जनतामा जानुपर्नेमा सदन अवरोध गरेर गल्ती गरिरहेको बताएका छन् ।
सामाजिक सन्जालमा उनले अख्तियारको निर्णयमा सदन अवरुद्द गर्ने कांग्रेस कदमबारे मेरो मत भन्दै ढुंगानाले यस्तो लेखेका छन्, ‘कांग्रेसले संसदीय प्रक्रिया र लोकतान्त्रिक तौरतरिकासँग अमिल्दो काम ग-यो । के अब मुद्दाको टुंगो नलाग्दासम्म संसद् अवरोध गरिरहने ? संवैधानिक अंगको निर्णयमा विमति भए अदालत र जनतामा जाने हो ।’
त्यसो त उसले संविधानको धारा १०५ को आफैँ उल्लंघन समेत गरिरहेको छ । उक्त धारामा नेपालको कुनै अदालतमा विचाराधीन मुद्दाहरुको सम्बन्धमा न्याय निरुपणमा प्रतिकुल असर पार्ने विषय तथा न्यायाधीसले कर्तव्य पालनाको सिलसिलामा गरेको न्यायिक कार्यका सम्बन्धमा संघीय संसदको कुनै सदनमा छलफल गरिने छैन । तर महाअभियोगको प्रस्तावमा छलफल गर्दा न्यायाधिसको आचरणको सम्बन्धमा कुनै कुरा व्यक्त गर्न यस धाराले बाधा पु-याएको मानिने छैन भनी उल्लेख गरिएको छ ।
(हेर्नुहोस संविधानको धारा १०५)
तर कांग्रेसले नियमतिजसो सदनको बैठक अवरोध गरेर यो संविधानको धाराको उल्लंघन गरिरहेको छ । आफूलाई प्रजातान्त्रिक पार्टी बताउने कांग्रेसले गरेको सदन अवरोधका कारण भोलि दिउँसो १ बजेसम्मलाई सदन स्थगित छ । सभामुख अग्निप्रसाद सापकोटाले यो विषय अदालतमा पुगेको र अदालतमा पुगेको विषयमा सदन अवरुद्ध नगर्न गरेको आग्रहलाई समेत कांग्रेसले अटेरी गर्दै आइरहेको छ ।
ललिता निवास प्रकरणमा संवैधानिक अंगका रुपमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान अयोगले काग्रेसका उपसभापतिसमेत रहेका विजय गच्छेदारसहित १७५ जनाविरुद्ध मुद्दा दर्ता गराएको छ । सरकारी जग्गा भू–माफियासँग मिलेर मोही कायम गरी बिक्री वितरणमा संलग्न रहेको आरोपमा अख्तियारले गच्छेदारसहितलाई मुद्दा दर्ता गराएको हो ।
कांग्रेस संसदीय दलका उपनेतासमेत रहेका गच्छेदार मुद्दा दर्तासँगै सांसद पदबाट निलम्बन भइसकेका छन् । कांग्रेसले दलको बैठकबाटै सदन अवरोध गर्ने निर्णय गरेको थियो भने भातृ संस्थालाई सडकमा उतारेर विरोध प्रदर्शन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ माघ २०७६, १० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसद्वारा मन्त्री अधिकारीको ३२ लाख घुसको अडिओबारे छानबिन गर्न माग
काँग्रेसमा अनुशासन समितिको निर्णयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन माग
कांग्रेसमा अनुशासन समितिको निर्णयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन माग
प्रदेश सरकारसँग असमझदारी हटाउन प्रतिनिधि खटाउने काँग्रेसको निर्णय
उद्धार र राहतमा युद्धस्तरमा लाग्न कांग्रेसको आग्रह
कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने