चितनव । बेल्जियमकी राजकुमारी एस्ट्रिड यतिबेला चितवन राष्ट्रिय निकुञ्जमा रमाउँदै छिन। बुधबार साँझ निकुञ्जको एउटा प्रवेशद्वार मेघौलीमा राजकुमारी एस्ट्रिडको वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भरतपुर महानगरपालिकाले स्वागत गरेको थियो ।
साँझ नै प्रदेश सरकारको आतिथ्यतामा एस्ट्रिडलाई रात्रिभोज दिइएको थियो । सो अवसरमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले राजकुमारी एस्ट्रिडलाई चितवन राष्ट्रिय निकुञ्जसँगै प्रदेशका पर्यटकीय क्षेत्रका बारेमा अवगत गराएका थिए ।
मन्त्रीका स्वकीय सचिव नवराज पुडासैनीका अनुसार भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै प्रदेश सरकारको आतिथ्यतामा राजकुमारीलाई यहाँ भ्रमण गराउने प्रबन्ध मिलाइएको छ । रात्रिभोजमा महानगरपालिकाका प्रमुख रेनु दाहाल, राजकुमारी एस्ट्रिडका श्रीमान् लोरेन्जसहित विभिन्न व्यक्ति, सङ्घीय सरकारका पर्यटन मन्त्रालयका प्रतिनिधि, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापालगायतको उपस्थिति रहेको पुडासैनीले जानकारी दिए ।
राजदूत थापाका अनुसार राजकुमारी एस्ट्रिडसहित बेल्जियमबाट आएको उच्च अधिकारीको समूहको आज दिनभर निकुञ्जमा निजी भ्रमण रहेको छ । डुङ्गा सयर, जीप सयरलगायतका गतिविधिमा राजकुमारी सहभागी भई वन र वन्यजन्तुको अवलोकन गर्ने निजी कार्यक्रम रहेको उहाँले बताउनुभयो । निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, घडियाल गोही, विभिन्न प्रजातिका चराचुरुङ्गी, ठूला र आकर्षक तालतलैया देख्न सकिन्छ ।
निजी भ्रमण भएकाले सरकारी अधिकारीले राजकुमारीको भ्रमणका बारेमा विस्तृत विवरण सार्वजनिक गरेका छैनन् । राजकुमारी एस्ट्रिड एक साताका लागि नेपाल भ्रमणमा आएकी हुन । शुक्रबार काठमाडौँ फर्किएर शनिबार त्यहाँबाट बेल्जियम फर्कने कार्यक्रम छ । उहाँ जनवरी १९ तारिखमा नेपाल आउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ माघ २०७६, १३ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत सुरु
३८ वर्षमा १०९ गैँडा स्थानान्तरण, विभिन्न देशलाई २६ उपहार
नदी प्रदूषण निकुञ्जको पारिस्थितिकीय प्रणालीकै लागि जोखिम
सातवटा गैँडालाई आन्तरिक स्थानान्तरण गरियो
निकुञ्ज क्षेत्रमा वन्यजन्तु आक्रमणका तीन सय १५ घटना
सौराहा आउने पर्यटकका रोजाइमा ढुङ्ग्रेखोलामा डुङ्गा शयर