काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्यहीन, आधारहीन तथा भ्रमपूर्ण सामग्री प्रकाशन तथा प्रसारण नगर्न सञ्चार माध्यम र पत्रकारलाई कडा निर्देशन दिएको छ ।
काउन्सिलले आज ध्यानाकर्षण पत्र जारी गर्दै प्रेस स्वतन्त्रता कायम राख्दै जिम्मेवार, विश्वसनीय र आचारसंहिताअनुरूप पत्रकारिता प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएको छ ।
काउन्सिलले जारी गरेको ध्यानाकर्षण सूचनामा पछिल्लो समय सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत् अपुष्ट तथा भ्रामक सामग्री सम्प्रेषण भइरहेकोप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ । यस्ता सामग्रीले पत्रकारिताको विश्वसनीयतामा असर पार्नुका साथै व्यक्ति तथा संस्थाको प्रतिष्ठामा नकारात्मक प्रभाव पार्ने उल्लेख गरिएको छ ।
सूचनामा विभिन्न सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्रीका सम्बन्धमा उजुरी तथा जनगुनासो बढ्दै गएको जनाउँदै प्राप्त उजुरीमाथि आचारसंहिताबमोजिम अनुगमन तथा कारबाही प्रक्रिया अघि बढाइएको जनाइएको छ ।
काउन्सिलले सत्य, तथ्य र निष्पक्षतामा आधारित पत्रकारिता नै लोकतन्त्रको आधार भएको उल्लेख गर्दै कुनै पनि सामग्री प्रकाशन वा प्रसारणअघि त्यसको सत्यता र विश्वसनीयता परीक्षण गर्नुपर्ने जनाएको छ । साथै सामाजिक सञ्जालमार्फत् गालीगलौज, धम्की र मानहानी गर्ने प्रवृत्ति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविपरीत हुने स्पष्ट पारेको छ।
युट्युब, टिकटकलगायत डिजिटल माध्यममार्फत् अपुष्ट सामग्री फैलाउने तथा अतिरञ्जित प्रस्तुति गर्ने प्रवृत्तिप्रति पनि काउन्सिलले ध्यानाकर्षण गराएको छ । यस्ता कार्य पत्रकार आचारसंहिता विपरीत हुने जनाउँदै आवश्यक परे कारबाही गरिने चेतावनी दिएको छ ।
काउन्सिलले गलत सामग्रीबाट प्रभावित व्यक्ति वा संस्थाले उजुरी दिनसक्ने व्यवस्था रहेको जानकारी गराउँदै सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई जिम्मेवार र मर्यादित पत्रकारिता अभ्यास गर्न आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० बैशाख २०८३, २० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार
प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी
प्रेस काउन्सिलका अध्यक्ष आचार्यलाई नियुक्ति पत्र प्रदान
प्रेस काउन्सिल अध्यक्षको योग्यता बदल्ने प्रस्ताव हट्यो