निर्माण व्यवसायी र निर्माण उपकरणहरुलाई सुरक्षाको पूर्ण प्रत्याभूति : गृहमन्त्री थापा

सफल खबर संवाददाता

मंगलबार, ०७ माघ २०७६, १६ : ४६
निर्माण व्यवसायी र निर्माण उपकरणहरुलाई सुरक्षाको पूर्ण प्रत्याभूति : गृहमन्त्री थापा

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले बढ्दो असुरक्षाका कारण निर्माण व्यवसायीहरुले काम गर्ने वातावरण नभएको भन्दै गृहमन्त्री रामबहादुर थापा 'बादल'को गम्भीर ध्यानाकर्षण गराएको छ । महासंघका महासचिव रोशन दाहाल नेतृत्वको प्रतिनिधिमण्डलले मंगलवार गृहमन्त्री थापा समक्ष दिनहुँजसो व्यवसायीका उपकरण जलाइएकोमा कडा आपत्ति जनाउँदै भरपर्दो सुरक्षाको माग गरेको हो ।

जवाफमा गृहमन्त्री थापाले निर्माण व्यवसायी र उनीहरुका उपकरणलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिइने आश्वासन दिनु भएको महासंघका प्रवक्ता टंकप्रसाद चौलागाईले जानकारी दिनुभयो । मन्त्री थापाले अज्ञात समुहका आपराधिक गतिविधि धरै नियन्त्रणमा आइसकेको भन्दै त्यस्ता गतिविधिलाई अब पूर्ण नियन्त्रण गरिने बताउनुभयो । साथै उहाँले जलाइएका उपकरणको क्षतिपूर्ति दिन सरकारले नीति नै ल्याउन लागेको जानकारी दिनु भएको प्रवक्ता चौलागाईले उल्लेख गर्नुभयो । महासंघ प्रतिनिधिमण्डलले मंगलवार नै विकास समितिका सभापति कल्याणी खड्कालाई समेत निर्माण व्यवसायी र उनीहरुका उपकरण माथिको सुरक्षा चिन्ता बारे अवगत गराएको छ । जवाफमा खड्काले विकास समितिको बैठकमा यस विषयमा छलफल गरिने जानकारी दिनुभयो । महासंघ प्रतिनिमिण्डलमा महासंघका मानार्थ सदस्य समेत रहनु भएका सांसद जीप छिरिङ लामा शेर्पा, महासंघका पूर्व अध्यक्ष तथा सल्लाहकार रमेश शर्मा, महासंघ कार्य समिति सदस्य मंगल शाही , निर्माण व्यवसायीहरु कमल गौतम, सहदेव खड्का, कार्यालय प्रमुख प्रेमसिंह ऐर लगायत रहनु भएको थियो ।  

अज्ञात समुहले आइतबार मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका अन्र्तगत आइतबारेमा तीन वटा एस्क्साभेटरमा आगजनी गर्दा ३ करोड ५० लाख रुपैया भन्दा बढीको क्षति भएको महासंघले जनाएको छ । महासंघका अनुसार किसानचोक–रमिते–आइतबारे–टाँडी सडक खण्ड निर्माणमा प्रयोग भइरहेको शर्मा–भिमेश्वर जेभी कम्पनीको एक्साभेटरमा आगजनी गरिएको थियो । त्यस्तै झापा जिल्लाको सेतुमारीमा पनि आइतबार अज्ञात समुहले शर्मा एण्ड कम्पनीको स्वामित्वमा रहेको एउटा एस्काभेटर र ब्याक्हो लोडरमा आगजनी गरेको महासंघले जनाएको छ । त्यस्तै केही समय अघि बेनी नगरपालिका बगुवखोला नजिक निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण घर्ती क्षेत्रीको स्वामित्वमा रहेका तीन वटा स्काभेटरमा आगजनी गरिएको थियो ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिइएको मध्यपहाडी लोकमार्ग अन्र्तगत भोजपुर दिक्तेल सडकखण्ड निर्माण कार्य गरिरहेको गोल्डेन गुड शेर्पा कन्स्ट्रक्सन प्रा।लि।को स्वामित्वमा रहेको ४ वटा एक्साभेटरमा पनि केही समय अघि आगजनी हुँदा करीब ४ करोड रुपँैया बराबराको क्षति भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस