नागढुंगा सुरुङमार्ग साउनको दोस्रो हप्ताभित्र सञ्चालनमा ल्याइसक्न संसदीय समितिको निर्देशन

सफल खबर संवाददाता

सोमबार, २१ बैशाख २०८३, १८ : ४३
नागढुंगा सुरुङमार्ग साउनको दोस्रो हप्ताभित्र सञ्चालनमा ल्याइसक्न संसदीय समितिको निर्देशन

काठमाडौं। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले नागढुङ्गा सुरुङमार्ग साउनको दोस्रो हप्ताबाट सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । 

सोमवार नागढुङ्गा सुरुङमार्गको अनुगमन गर्दै समिति सभापति आशिष गजुरेलले उक्त निर्देशन दिनुभएको हो । समिति सभापति गजुरेलले कुनैपनि बहानामा अब सुरुङमार्ग सञ्चालनमा ढिलाई गर्न नहुने बताउनु भयो । उहाँले पूर्वनिर्धारित समयमै परियोजना सञ्चालन गर्न नसकिएकोप्रति पनि असन्तुष्टी जनाउनु भयो । परियोजनाले २०८२ माघमा सुरुङमार्ग सञ्चालनमा ल्याउने बताएपनि फेरि साउनको दोस्रो हप्तामा भाका सारेको उहाँको भनाई छ । उहाँले आफँै सीमा तोक्ने र आफैँ ६ महिना ढिला गर्ने प्रवृत्ति अब स्वीकार्य नहुने बताउनु भयो । उहाँले परियोजनामा आवश्यक भौतिक पूर्वाधार निर्माण सम्पन्न भइसकेको, सञ्चालनका लागि निजी क्षेत्र छनोट भइसकेको तथा कार्यविधि र दररेटसमेत तय भइसकेको अवस्थामा अब ढिलाइ गर्न नहुने बताउनु भयो । उहाँले आयोजनाको सेवा सञ्चालनको तयारीमा देखिएको कमजोरीप्रति पनि उहाँले असन्तुष्टी जनाउनु भयो । उहाँकाअनुसार यदि २०२६ जनवरी १ मा सञ्चालन गर्ने लक्ष्य लिइएको थियो भने निजी क्षेत्र छनोट प्रक्रिया एक वर्षअघि नै शुरु हुनुपथ्र्यो । गजुरेलले समयमै निजी क्षेत्र छनोट गर्न नसक्दा तयार भइसकेको परियोजना पनि सञ्चालनमा आउन नसकेको बताउनु भयो । यसले राज्यलाई ठूलो आर्थिक नोक्सानी पु¥याएको उहाँको दाबी छ । 

उहाँले भन्नुभयो, ‘साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउने भन्नुभएको छ । खास तपाईहरुको योजना २०८२ माघबाट सञ्चालन गर्ने भन्ने थियो । साउनको दोस्रो हप्तामा सञ्चालन गर्दाखेरि हामी ६ महिना ढिलो भइसक्यौँ । आफै टार्गेट राख्ने अनि आफैँ ६ महिना ढिलो गर्ने ? फेरि साउनको दोस्रो महिनामा पनि यस्तै ताल हो भने त्यो समयमा पनि सञ्चालन नहोला, त्यो याद गर्नुहोला । केही समस्या भएमा भन्नुहोला, तपाईहरुले साउनको दोस्रो हप्ता सञ्चालन गर्ने भनेपछि हामी त्यही मिति मानेर गयौँ, त्यतिखेर चाहीँ जुनै हालतमा पनि चल्नुपर्छ । यत्रो लगानी गरेर पूर्वाधार बनिसकेको छ । संचालन गर्नको लागी रेडीछ, अपरेशन गर्नको लागी निजी क्षेत्र छनौट पनि भईसकेको छ, सञ्चालनको लागि कार्यविधि, दररेट सबै बनिसकेको छ, भन्नुहुन्छ । सबै भईसकेको छ भने अब कुनै बहानामा यसलाई ढिलो गर्न भएन । अलि हेलचेक्र्याँई भयो, जस्तो जनवरी फस्ट २०२६ मा चलाउँछु भनेर टार्गेट लिएपछि निजी क्षेत्र छनौट गर्न जनवरी १ २०२५ मा शुरु गर्नुपर्छ नी त । हामी काम नगरेर के कुरेर बस्छौँ, बस्छौँ, यसले गर्दा समस्या भयो । यसलाई लेसनको रुपमा लिएर सुधार गरौँ । तयारी एकदमै फितलो भयो, साउनमा चलाउने भनेपछि एकवर्ष अगाडीदेखि तयारी थाल्नुपर्छ नी, एक डेढ वर्ष अगाडी निजी क्षेत्रको छनौट गर्नसक्थ्यौँ नी । समयमा निजि क्षेत्रको छनौट गर्न नसक्दा पनि यो प्रोजेक्ट रेडी भएर पनि संचालन गर्न सकेनौँ । आफू गर्न नसक्ने, निजी क्षेत्रलाई दिने भन्ने, निजी क्षेत्रको छनौट पनि समयमा नगर्ने हुँदा प्रोजेक्टको संचालनमा नै ढिला भयो ।’

सभापति गजुरेलले विगतका कमजोरीलाई पाठका रूपमा लिँदै आगामी दिनमा योजना व्यवस्थापन र कार्यान्वयनमा सुधार गर्न आयोजनालाई निर्देशन दिनुभयो । सोमवार सुरुङमार्गको अनुगमन गर्न समितिको प्रतिनिधि निर्माण स्थल पुगेको थियो । समितिलाई नागढुंग्गा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले सुरुङमार्गका बारेमा जानकारी गराउनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस