काठमाडौँ। नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले पार्टी उपाध्यक्ष रामबहादुर थापा बादललाई समानुपातिक सूची त्यागेर प्रत्यक्ष चुनाव लड्न सुझाव दिएका छन् ।
बादलले २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमाले र काँग्रेस मिलेर लड्नुपर्ने धारणा व्यक्त गरेको भोलिपल्ट बास्कोटाले उनलाई समानुपातिक छाडेर प्रत्यक्ष लड्न सुझाव दिएका हुन् ।
मदन-आश्रित प्रतिष्ठानले मंगलबार राजधानीमा आयोजना गरेको एउटा कार्यक्रममा बादलले काँग्रेस र एमालेको सहकार्यले नै देशको राष्ट्रिय स्वाधिनता र अस्तित्वलाई टिकाउन सक्ने भन्दै चुनावी गठबन्धन गर्दा आधा-आधा सिट भागबण्डा गरेर जान सकिने बताएका थिए ।
त्यसको एमालेकै कतिपय नेताले विरोध जनाएका छन् । सोही अभिव्यक्तितर्फ संकेत गर्दै बास्कोटाले ‘आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता नै समानुपातिक कोटामा पटक–पटक बसेपछि यो प्रणालीको विरोध हुनु ठिक’ भएको बताएका छन् ।
एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्द सूचीमा उपाध्यक्ष रामबहादुर थापा बादलसहितका नेताहरूको नाम छ । आदिवासी जनजाति तर्फको कलस्टर अन्तर्गत बादलको नाम पहिलो नम्बरमा छ ।
बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अझ तिनै रुख र सूर्य मिलेर चुनावमा जानु पर्छ भन्छन् । रुख-सूर्य मिलेपछि चुनाव लडे भो त । अहिले नाम फिर्ता लिए हुन्छ पटके समानुपातिकले समावेशीताकै बेइज्जत नगर के-त्यो पनि पुरुषले ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ पुस २०८२, १२ : ३८
लेखकबाट थप