‘शिक्षा क्षेत्रको समग्र सुधारका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यक’ : मन्त्री पोखरेल

सफल खबर संवाददाता

सोमबार, २१ बैशाख २०८३, २० : ३७
‘शिक्षा क्षेत्रको समग्र सुधारका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यक’ : मन्त्री पोखरेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रको समग्र सुधारका लागि तीन तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताएका छन् । 

शुल्क निर्धारणका सम्बन्धमा आज मन्त्रालयमा आयोजित छलफलमा उनले शिक्षामा सुधारका लागि तीन तहका सरकारबीच बलियो समन्वय र सहकार्य जरुरी रहेको बताएका हुन् । उनले स्थानीय सरकारले नेतृत्व लिएमा शिक्षा क्षेत्रका धेरै समस्या समाधान हुने र त्यसमा सहयोग गर्न मन्त्रालय तयार रहेको बताए । 

सरकारका प्रवक्तासमेत रहेका मन्त्री पोखरेलले शुल्क निर्धारण र छात्रवृत्तिका विषयमा मन्त्रालयमा गुनासो आएको भन्दै छात्रवृत्ति वितरण पारदर्शी बनाउन आग्रह गरे । उनले संस्थागत विद्यालयमा शुल्क नियमन, मन्त्रालयमा आएका शुल्कसम्बन्धी गुनासा पालिकामै पठाइदिने संयन्त्र बनाइएको जानकारी दिँदै आवश्यक सहजीकरणको लागि मन्त्रालय तयार रहेको बताए । 

मन्त्री पोखरेलले स्थायी रूपमै दुई दिन सार्वजनिक बिदा दिने विषयमा आवश्यक अध्ययन र पाठ्यक्रमलगायत विषयमा गृहकार्य भइरहेको जानकारी दिए। स्थानीय सरकारले शिक्षा क्षेत्रका असल अभ्यासहरू एक अर्कासँग सिक्नुपर्नेमा पनि उनले जोड दिए ।