दानबहादुरले छाडेको चितवनमा अब प्रहरी प्रमुख को ?

गृहमन्त्री चीनबाट फर्के लगत्तै निर्णय

शुक्रबार, २५ पुस २०७६, ०८ : ५०
दानबहादुरले छाडेको चितवनमा अब प्रहरी प्रमुख को ?

काठमाडौं । दानबहादुर मल्लले अन्ततः छोडेपछि चितवनमा अबको एसपी को भन्ने बहस चर्चामा छ । प्रहरी प्रधान कार्यालयले ४ पुसमा प्रहरी उपरीक्षक मल्ललाई चितवनवाट सरूवा गरेर उनको ठाँउमा गंगा पन्तलाई चितवन पठाउने निर्णय लिएको थियो ।

गंगा विवादित एसपी हुन् । उनले नेकपा अध्यक्ष प्रचण्डलाई सामाजिक सन्जालमै अमर्यादित शब्दमा कमेन्ट गरेपछि उनी विवादित बनेकी थिइन् । प्रचण्ड प्रति अत्यन्त पूर्वाग्राही सोचकी पन्तलाई प्रचण्डकै गृहजिल्लामा एसपी बनाउने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्णयभित्र ‘कुनियत’ लुकेको हुन सक्ने ठानी यसको प्रहरी संगठनभित्रै आलोचना हुंदै आएको थियो ।

सामान्यतयाः भिआईपी नेताका जिल्लाका प्रहरी प्रमुख सरुवा गर्दा सम्बन्धित नेतासँग समेत परामर्श गर्ने गरिन्छ । तर पन्तलाई चितवन पठाउने विषयमा आईजिपी खनालले कुनै परामर्श नगरी गृह मन्त्रालयलाई समेत ढाटेको थाहा लागेपछि चितवन एसपी सरुवा प्रकरण विवादमा परेको थियो । त्यसो त शुरुमा सरुवा भईसकेका एसपी दानबहादुर मल्लले आफ्नो रवाना बुझेका थिएनन् ।

उनी अहिले रवाना बुझेर हिडेका छन् । तर पन्तलाई चितवनको सरुवा पत्र गृहले रोकेपछि अहिले चितवन पठाउने सर्वेन्द्रको योजनामा ब्रेक लागेको छ । पन्त अहिले इन्टरपोल शाखामा कार्यरत छिन् । पन्तलाई चितवन पठाउन गृहले नै रोकेपछि अब उनको स्थानमा कसलाई चितवन पठाउने भन्नेमा प्रहरी संगठन भित्र छलफल शुरु भएको छ । अबको दुई तिन दिनमै प्रहरी प्रधान कार्यालयले यस विषयमा निर्णय लिने तयारीमा प्रहरी प्रधान कार्यालय पुगेको छ ।

चितवन अहिले प्रहरी प्रमुख विहिन अवस्थामा छ । त्यहाँ विकल्पका रुपमा कृष्ण पंगेनी, नवराज अधिकारी र अनुपम शमशेर जबरा पठाउने चर्चामा छन् । त्यसमध्ये पंगेनीलाई पठाउने सम्भावना बलियो रहेको प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ ।

यद्यपी यस बारेमा निर्णय भने प्रहरी प्रधान कार्यालयले लिएको छैन् । गृहमन्त्री रामबहादुर थापाको पनि गृह जिल्ला भएकोले र यस अगाडी प्रहरी महानिरीक्षकले गृहलाई समेत ठाटेर गंगा पन्तलाई चितवन एसपीका रुपमा सरुवा गर्ने निर्णय गरेपछि यसमा गृहमन्त्री स्यवंले पनि चासो देखाएका छन् ।

थापा अहिले चिन भ्रमणमा छन् । उनी फर्केलगत्तै पंगेनी, अधिकारी र राणामध्येबाटै एकलाई चितवन एसपीका रुपमा पठाउने तयारी भईरहेको स्रोत बताउँछ । ‘सम्भवतः पंगेनी चितवन एसपी भएर जान्छन् होला,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो, ‘गृहमन्त्री चिनवाट फर्केपछि यो निर्णय हुन्छ ।’