काठमाडौं । सामान्यतया : आम नागरिक न्याय खोज्न प्रहरी कार्यालय जान्छन् । शान्ति सेवा सुरक्षणमको मर्मअनुसार काम गर्ने प्रहरीले न्याय दिलाउँछ भन्ने विश्वास पनि उत्तिकै छ । तर प्रहरीले नै न्याय दिएन भने त्यो विश्वास कहाँ बाँकी रहला । यस्तै भएको छ, एक सेवाग्राहीलाई । ठगीमा परे भन्दै प्रहरी समक्ष पुगेका एक सेवाग्राहीसँग उल्टै घुस मागेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय अपराध महाशाखा काठमाडौँका प्रहरी निरीक्षक जय नेपाल थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
महाशाखामा दर्ता रही जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भई प्रतिवादी उपर कानूनबमोजिम पक्राउ गर्नुपर्नेमा त्यसो नगरी ठगी भएको रकम असुल गराउने वातावरण मिलाइदिएवापत थापाले सेवाग्राहीसँग रु ४० हजार घुस मागेको आयोगको भनाइ छ । आयोगको कार्यालय टङ्गालबाट गएको टोलीले प्रहरी निरीक्षक थापालाई घुस लिँदालिँदै पक्राउ गरेको थियो ।
आफ्नो जिम्मेवारी र पदीय दायित्वविपरित ठगी मुद्दामा ठगी भएको रकम उठाइदिन वकिललाई दिनुपर्ने रकम भनी पीडितबाट पैसा मागेको अनुसन्धानबाट खुलेको आयोगको भनाइ छ । आयोगले बिगो अनुसार कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।
यस्तै आयोगले गुठी संस्थान शाखा कार्यालय जनकपुरका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डेसहित छ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । धनुषा जिल्लाका साविक भरतपुर गाविसमा नेपाली सेनाका लागि अधिग्रहण गरिएको गुठीको जग्गाको स्वामित्वमा रहेको जग्गामा कीर्ते मोही कायम गरी मुआब्जा वितरण गरी अनियमितता गरेको पाइएको छ । सो कार्यमा गुठी संस्थान शाखा कार्यालय जनकपुरका तत्कालीन कार्यालय प्रमुख पाण्डेले मोहीलाई विचौलियामार्फत रु १९ लाख ३० हजार भ्रष्टाचार गरेको पाइएको छ ।
यस्तै आयोगले सोही कार्यालयका सहायक प्रशासक मनोजकुमार आचार्यविरुद्ध रु छ लाख ५० हजार, वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसालविरुद्ध रु चार लाख ३० हजार, मोही भनिने सुमनकान्त ठाकुरले मोहीबाट पटकपटक लिएको रु ६३ लाख ३६ हजार ६६७ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ ।
यस्तै मोही भनिएकी शत्रुधन जयसवाल रु सात लाख ३५ हजार, मोही गायत्री देवी जयसवालविरुद्ध रु ५६ लाख एक हजार ६६७ बराबरको भ्रष्टाचार गरेको अभियोगमा आयोगले मुद्दा दायर गरेको छ । आरोपी सबैबाट बिगो असुल गरी हदैसम्मको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
यस्तै सामाजिक सुृरक्षाभत्ता दुरुपयोग गरेको अभियोगमा साविक जयमङ्गलापुर गाविस पर्साका तत्कालीन गाविस सचिव राजेन्द्र महतोविरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दायर छ । आयोगका अनुसार महत्तोले रु ५५ हजार ९०० बराबरको सरकारी रकम दुरुपयोग गरेको पाइएको छ । आरोपी महतोविरुद्ध बिगो असुल गरी कारवाहीको माग गरिएको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २० पुस २०७६, १९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु
प्रहरीले सबैसँग शिष्ट र मर्यादित व्यवहार गर्नुपर्ने गरी ऐन संशोधन
झडपमा परी ६३ जना शिक्षकहरू घाइते
प्रहरीसँगको झडपपछि शिक्षकहरूले मागे गृहमन्त्रीको राजीनामा
माइतीघरमा आन्दोलनरत डाक्टर र प्रहरीबीच धकेलाधकेल
नेपाल प्रहरीले माग्यो १४५ जना कर्मचारी (सूचनासहित)