मकवानपुर । पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले अमेरिकी सरकारसँगको सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान सहायता नेपालले स्वीकार गर्नु नहुने बताएका छन् ।
मंगलबार हेटौंडामा पार्टीका वडा कमिटी सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा नेपालले पाँच वर्षभित्र नेपालमा करिब ५५ अर्ब रुपैयाँ खर्च गर्ने गरी अन्तरदेशीय प्रसारणलाइन तथा अन्य संरचना निर्माणको लागि आउन लागेको अनुदान रकम स्वीकार गर्नु नेपालकै लागि घातक हुने दाबी गरे। नेता नेपालले एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग भएको भन्दै त्यसलाई स्वीकार गर्नु असंलग्न परराष्ट्र नीति विपरीत हुने दाबी गरे।
एमसीसी संसदबाट अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे नेकपामा बहस चलिरहेकै बेला नेपालले भने, ‘एमसीसी परियोजना इन्डो प्यासिफिक रणनीतिसँग जोडिएको छ र यो रणनीति उत्तर कोरिया, चीन र रुसविरुद्ध उभिएको छ। यसरी कसैको विरुद्ध खडा भएको गठबन्धनको अनुदान हामीले स्वीकार गर्नु हामीलाई घातक हुन्छ।’ उनले इन्डो प्यासिफिक रणनीति भनेको अरुलाई पराजित गरी अमेरिकालाई शक्तिशाली बनाउने रणनीतिमा बनेको गठबन्धन भएको दाबी गरे।
नेपालको आन्तरिक मामिलामा अरुको हस्तक्षेप स्वीकार नभएको भन्दै नेता नेपालले आफूहरुले एमसीसीबाट अनुदान लिए दीर्घकालीन समस्या देखा पर्ने दाबी गरे। एउटाको विरुद्धमा अर्काको पक्षमा लाग्न नहुने भन्दै उनले एमसीसी कसैको विरुद्ध नभई आर्थिक विकासको निम्ति मात्रै हो भने मात्र स्वीकार गर्न सकिने बताए।
नेता नेपालले अर्को प्रसंगमा लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालकै भूभाग भएको भन्दै भारतले उक्त भूमि नक्साबाट हटाउनुपर्ने बताए।नेपालको भूमि फिर्ता गराउनेबारे नेपाली कांग्रेस पनि सकारात्मक रहेको भन्दै उसलाई पनि सँगै लिएर राष्ट्रियताको लडाईं लड्नुपर्ने उनको भनाइ थियो। कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १६ पुस २०७६, ०७ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार नेपाल
राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई माधव नेपालको सुझाव