देउवाको पेलाइमा परे रामचन्द्र

आइतबार, १३ पुस २०७६, ०७ : ५३
देउवाको पेलाइमा परे रामचन्द्र

काठमाडौं । बहुमतको बलमा सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको कार्यकाल एक वर्ष थप गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको विवाद उत्कर्षमा पुगेको छ ।

२६ मंसिरबाट सुरु केन्द्रीय समिति बैठकलाई वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले निरन्तर बहिष्कार गर्दै आएपछि संस्थापन समूहले शुक्रबार बहुमतका आधारमा केन्द्रीय समितिको कार्यकाल एक वर्ष थप गर्ने र २०७७ फागुनमा १४औं महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, कांग्रेसभित्रको संस्थापनबाहेकका नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूह भने कांग्रेस इतिहासमा नै पहिलोपटक बहुमतका बलमा केन्द्रीय समितिको कार्यकाल थप गरेको र यसले पार्टीलाई दुर्घटनातर्फ लैजाने भन्दै निर्णयप्रति असन्तुष्ट छन् ।

उनीहरूले निर्णय फिर्ता लिन मागसमेत गरेका छन् । देउवाले उनीहरूको अनुपस्थितिमा नै केन्द्रीय कार्यसमितिको कार्यकाल थप गर्नेलगायतका महŒवपूर्ण निर्णय गरेपछि पौडेल समूह सोविरुद्ध रणनीति बनाएर नै प्रतिरोध गर्ने गृहकार्यमा जुटेको छ । शुक्रबार केन्द्रीय समितिले गरेको निर्णयप्रति रणनीति बनाउन भन्दै महामन्त्री शशांक कोइरालाको निवास महाराजगन्जमा असन्तुष्ट समूहको बैठक बसेको थियो । बैठकले संस्थापन समूहको निर्णयले पार्टीलाई संकटतर्फ लैजाने भन्दै निर्णय तत्काल सच्याउन माग गरेको छ । असन्तुष्ट समूहको नेतृत्व गर्दै आइरहेका नेता पौडेलले निर्णय नसच्चाए आफूहरू कार्यकर्तामाझ जाने बताए । राजधानी दैनिकमा खबर छ ।