सभामुख, उपसभामुख चयनमा नेकपा नेतृत्व अन्यौलमा

पत्रपत्रिकाबाट

शुक्रबार, ११ पुस २०७६, ०७ : २५
सभामुख, उपसभामुख चयनमा नेकपा नेतृत्व अन्यौलमा

काठमाडौँ  । सभामुख र उपसभामुख निर्वाचनका विषयमा सत्तारुढ नेकपाभित्र अन्योल छ । सभामुख उम्मेदवार र उपसभामुख पद खाली गराउनेबारे नेकपा नेताहरूले निर्णय गर्न सकेका छैनन् ।संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयासको आरोप लागेका कृष्णबहादुर महराले असोज १४ गते राजीनामा दिएपछि सभामुख पद खाली छ। जसमा नेकपाले स्वाभाविक दाबी रहेको बताइरहेको छ। तर, कसलाई सभामुख बनाउने भन्नेबारे निर्वाचन प्रक्रिया सुरु हुन एक दिनमात्रै बाँकी रहँदा पनि यकिन भएको छैन।

उपसभामुख शिवमाया तुम्वाहाङ्फेले पनि राजीनामा नदिएकाले नेकपाको नेतृत्वलाई सभामुखबारे निर्णय गर्न असहज भएको हो। सभामुखको निर्वाचन प्रक्रिया शुक्रबारबाट अगाडि बढ्दैछ। बिहीबारको कार्यव्यवस्था परामर्श समिति बैठकले भोलिको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची जारी गरेको छ। जसको पहिलो नम्बरमा सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउने लेखिएको छ।

सभामुख पूर्वएमाले कि पूर्वमाओवादी?

सभामुख कसलाई बनाउने भन्नेमा नेकपा पूर्वएमाले र पूर्वमाओवादीमा विभाजितछ। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वएमालेबाट सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउन चाहेको उनीनिकट नेताहरूले बताउने गरेका छन्। निर्वाचन आउन लागेको र संसदकाअबका बैठक झन् पेचिला बन्ने आँकलनका साथ आफूलाई काम गर्न सहज हुने भएकाले ओलीले नेम्वाङलाई पठाउन खोजेका हुन्। जसको 'ग्रिन सिग्नल' ओलीले नेम्वाङलाई दिइसकेका छन्। आफू छैटौंपटक सभामुख बन्न तयार रहेको पनि नेम्वाङले यसअघि नै बताइसकेका छन्।

अर्का अध्यक्ष पुष्पकमल दाहालले भने आफूनिकट नेताहरूलाई पूर्वमाओवादीबाट नै सभामुख बन्ने बताउने गरेका छन्। त्यस्तो अवस्थामा अग्नी सापकोटालाई अगाडि सार्ने उनको तयारी छ। पूर्वमाओवादीका नेताहरूमा दाहालले अन्तिममा नेम्वाङका नाममा सहमतिजनाउने हुन् कि भन्ने आशंका पनि छ। अध्यक्ष दाहालले सबै पद छोड्दै जाने हो भने संगठनको तल्लो तहसम्मका पूर्वमाओवादी कार्यकर्ताहरूमा नकरात्मक सन्देश जाने नेताहरूले चिन्ता व्यक्त गर्ने गरेका छन्। दाहालले यसअघि आफू कार्यकारी अध्यक्ष भएर ओलीलाई पाँच वर्षका लागि प्रधानमन्त्रीमा स्वीकार गरेका छन्।

नेकपा संसदीय दलका उपनेता नेम्वाङले भने पार्टी एकीकरण भइसकेपछि पूर्वएमाले र पूर्वमाओवादी भनेर नभइ क्षमताका र आवश्यकताका आधारमा जिम्मेवारी बाँडफाट गरिने बताएका छन्। पूर्वमाओवादीका नेताहरू भने सिद्धान्तमा पार्टी एक भइसकेको भने पनि व्यवहारमा त्यस्तो नभएको तर्क गर्छन्। सभामुख प्रत्यासी अग्नी सापकोटाले पनि यो कुरा बताइसकेका छन्। संगठनको एकतादेखि मन्त्रीको जिम्मेवारी दिँदासम्म पूर्वएमाले र पूर्वमाओवादी भन्ने गरेकाले सभामुख पूर्वमाओवादीबाटै हुनुपर्ने उनीहरूले तर्क गर्छन्।

सभामुख कसलाई बनाउने भन्नेबारे नेकपाका अध्यक्षद्वय ओली र दाहालबीच आज साँझ बालुवाटारमा छलफल गर्ने तय भएको थियो। तर, अध्यक्ष दाहाल चितवनबाट नफर्किएकाले भोलिमात्रै छलफल हुने भएको छ।

राजीनामाका लागि ओली-दाहालसामू उपसभामुखको शर्त

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफूलाई सभामुख बनाउनुपर्ने सार्वजनिक अभिव्यक्ति दिइरहेकी छन्। सभामुख महराले गल्ती गरेको र त्यसको सजाय आफूलाई पनि हुन नहुने उनको तर्क छ।

नेकपाले सभामुखमा उम्मेदवारी दिनका लागि उपसभामुख पद खाली हुनुपर्छ। तुम्बाहाङ्फे नेकपाबाट उपसभामुख भएकी हुन्। सभामुख र उपसभामुख फरक-फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ।

उपसभामुखले राजीनामा नदिने भए नेकपाले सभामुखमा उम्मेदवारी दिन नहुने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता रमेश लेखकले बताएका छन्। नेता लेखकले यो विषयमा नेकपाका अध्यक्ष दाहाल र उपनेता नेम्वाङसँग कुरा भएको जानकारी दिए।कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस