सार्वजनिक जग्गा हिनामिना र भ्रष्टाचारमा किन बोल्दैन सरकार ?

पत्रपत्रिकाबाट

मंगलबार, ०८ पुस २०७६, ०६ : ५४
सार्वजनिक जग्गा हिनामिना र भ्रष्टाचारमा किन बोल्दैन सरकार ?

काठमाडौँ । नेपाल ट्रस्टको सार्वजनिक जग्गा हिनामिना र भ्रष्टाचारमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको प्रत्यक्ष संलग्नता रहेको भन्ने सन्देश जनतामा जान लागेको कांग्रेस सांसद राधेश्याम अधिकारीले बताएका छन् ।

संघीय संसद राष्ट्रियसभाको सोमबारको बैठकमा सांसद अधिकारीले नेपाल ट्रष्टको सार्वजनिक जग्गा निजी कम्पनीलाई भाडामा दिएको बारे आएका समाचारमा प्रधानमन्त्री र सरकारको तहबाट कुनै पनि प्रतिक्रिया नआउँदा उनीहरू पनि संलग्नता हो कि भन्ने सन्देश गएको बताए ।  नेपाल ट्रष्टको जग्गा भाडामा निजी कम्पनीलाई दिनु र सोही कम्पनीका मालिकलाई ट्रष्टी बनाउनुले प्रधानमन्त्री र उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको पनि संलग्नता हो कि भन्ने आशंका उब्जिएको अधिकारीको भनाइ थियो। यसबारेमा सत्यतथ्य संसदमा आएर जानकारी गराउन पनि उनले सरकारसँग माग गरेका थिए।

नेपाल ट्रष्टसम्बन्धी ऐनको संशोधन विधेयकमाथि छलफलकै क्रममा बदनियत साथ आएको र नीतिगत भ्रष्टाचारको मुहान खोल्ने र विधेयकमा समर्थन गर्नेहरू सबैले नीतिगत भ्रष्टाचार गरेको ठहर हुनेछ भनेर रोष्ट्रमबाटै भनेको स्मरण गराउँदै अधिकारीले सार्वजनिक सम्पत्ति व्यक्तिगत लाभका लागि एउटा व्यापारिक समूहलाई हस्तान्तरण गर्नुको औचित्य पुष्टि गर्न सरकारलाई चुनौती दिए। ट्रष्टसम्बन्धी कानुनमा ट्रष्टको सम्पत्तिमा हकाधिकार र भोगाधिकार पनि बन्देज गरिएकोमा त्यसको अपचलन गर्ने मनसायका साथ विगतमा कानुन संशाेधन गरिएको दाबी उनले गरेका थिए।

अधिकारीले भने, 'साविक कानुनबमोजिम नेपाल ट्रष्टको सम्पत्ति व्यावसायिक प्रयोजनका लागि दिने अवस्था थिएन तर नेपाल ट्रष्टमाथि हक जमाउन खोज्ने गिद्धे दृष्टिलाई यो असैह्य थियो। उनीहरू यति शक्तिशाली थिए।  तिनले सत्ताको बागडोर लिएको पार्टीलाई नै कानुन संशोधन गर्न बाध्य पारे। जब व्यवसायी र सरकारबीचको लक्ष्मण रेखा मेटिन्छ तब भ्रष्टाचार मौलाउँछ।'  भ्रष्टाचारका सम्बन्धमा प्रधानमन्त्रीको भनाइ र गराइमा भिन्नता देखिएको भन्दै ट्रष्टको जग्गा विवादमा प्रधानमन्त्री र उपप्रधानमन्त्री दुवैको संलग्नताको आशंका उत्पन्न भएको टिप्पणी गरेका थिए।

'म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न पनि दिन्न भन्ने सम्माननीय प्रधानमन्त्रीज्यूको भनाइको जगहँसाइ भएको छ। सत्तामा बस्दा जनता के सोच्दछन् ? के भन्दछन् ? सायद प्रधानमन्त्रीज्यूलाई थाहा नहुन सक्दछ', अधिकारीले भने, 'त्यसैले सदनमार्फत म जनप्रतिनिधिका हैसियतमा सरकारलाई खबरदारी गर्न चाहन्छु। नेपाल ट्रष्टको सम्पत्ति हिनामिना र भ्रष्टाचारमा यो सरकारका प्रधानमन्त्री र उपप्रधानमन्त्री दुवैको प्रत्यक्ष संलग्नता छ भन्ने धारणा विकसित हुँदैछ।'कान्तिपुर दैनिकमा खबर छ ।