नेकपा बैठकको रोचक दृश्य

पत्रपत्रिकाबाट

सोमबार, ०७ पुस २०७६, ०६ : ५२
नेकपा बैठकको रोचक दृश्य

काठमाडौँ । एक वर्षपछि बसेको सत्तारुढ नेकपाको स्थायी समिति बैठकमा थरीथरीका दृश्य देखिए । मंसिर २९ मा सुरु भई पुस ६ गते सकिएको नेकपा बैठकका यस्ता रहे १३ रोचक प्रसंग । 

मंसिर २९ देखि मंसिर २९ सम्म
२०७५ मंसिर २९ गतेपछि नेकपाको स्थायी समिति बैठक २०७६ मंसिर २९ मै बस्यो। अर्थात ठीक एक वर्षमा बैठक बस्यो। एक वर्षपछि स्थायी समितिका सदस्य एकै ठाउँ भए। बैठक बस्न ढिला भएकोमा राजनीतिक प्रतिवेदनमा गल्ती नै स्वीकार गरियो।
त्यसैले राजनीतिक प्रतिवेदनको सुरुमै लेखियो, ‘स्थायी समिति बैठकका बीचको लामो दूरीले विचारको गति र सिर्जना एवं विधिको पालना र परिमार्जनका प्रश्नमा रहेको गम्भीर कमजोरी र विचलनको संकेतका रुपमा आत्मसात गरी भविष्यमा यसप्रकारका कमजोरी दोहोरिन नदिने प्रतिबद्धतासहित यो बैठकमा प्रवेश गर्न आवश्यक छ।’ आइतबारबाट सुरु भएको बैठक आइतबार नै समापान भयो।
ओली अनुपस्थित पहिलो बैठक
दुई अध्यक्ष रहेको नेकपामा पुष्पकमल दाहालले अध्यक्षता गरेको स्थायी समितिको यो पहिलो बैठक बन्यो। मंसिर ४ गते दुइ अध्यक्षको जिम्मेवारीसँगै दाहालले मंसिर १८ र २३ गतेको सचिवालयको बैठकको अध्यक्षता गरेका थिए। तर, स्थायी वा केन्द्रीय समितिको बैठकको अध्यक्षता गर्न पाएका थिएनन्। कार्यकारी भूमिका पाउनु अगाडि भदौ ९ गते दाहालले आफ्नो अध्यक्षतामा सचिवालय बैठक बसालेका थिए, त्यसबेला अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर थिए। दाहालले अध्यक्षता गरेको यो स्थायी समितिमा स्वास्थ्यका कारण प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएनन्।
झलनाथ पाँच मिनेट ढिला
मंसिर २९ गते स्थायी समितिको बैठक सुरु भएपछि अध्यक्ष दाहालको दायाँतिरको कुर्सी खाली रहेको तस्बिर सार्वजनिक भयो। धेरैले अनुमान गरे, अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कुर्सी खाली रह्यो। तर, खासमा त्यो कुर्सी तेस्रो बरियताका नेता झलनाथ खनालको थियो। बैठक औपचारिक रुपमा सुरु हुनुभन्दा अगाडि सञ्चारमाध्यमलाई तस्बिर र भिडियो खिच्न दिइयो। त्यतिन्जेल खनाल बैठकस्थल पुगेका थिएनन्। र, कुर्सी खाली देखियो। बैठक सुरु भएको पाँच मिनेटपछि नेता खनाल पुगेका थिए।
वामदेव पहिला बोले
पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन राखेको अर्को दिन वामदेव गौतम बोले। सचिवालयका अन्य सदस्यहरु बैठकको अन्तिम–अन्तिमतिर बोले पनि गौतमचाहिँ दोस्रो दिन नै बोले। उनले आफ्नो धारणा लिखित रुपमै राखेका थिए। पार्टी प्रतिवेदनमा ‘सम्मानीय’ शब्द प्रयोग भएकोमा गौतमले आपत्ति जनाएका थिए।
दाहाल सहयोगीसँग रिसाए
बैठकको चौथो दिन दाहाल आफ्ना सहयोगीसँग रिसाए। सञ्चारमाध्यममलाई एकैपटक भिडियो र तस्बिरका लागि बैठक कक्षमा ल्याउनुको साटो पालैपालो भित्र पसाएको भन्दै उनी रिसाएका थिए।
ईश्वर बोल्दाबोल्दै अरु उठे
पुस ३ गते सचिवालयका सदस्यहरु बोल्नेक्रममा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल पनि बोले। नेपाल ट्रस्टको अध्यक्षसमेत रहेका पोखरेलले गोकर्ण रिसोर्टको जग्गा कानुन अनुसार यती समूहलाई दिइएको दाबी गरे। तत्कालै माधवकुमार नेपाल, भीम रावल, रघुजी पन्त, पम्फा भुसाललगायतले आपत्ति जनाए। पोखरेल बोल्दाबोल्दै अरु नेता उठेर प्रश्न गरे, ‘पुरानो सम्झौता सकिन ६ वर्ष बाँकी छँदै किन नवीकरणको हतार भयो?’ पोखरेलले फेरि पनि कानुन अनुसार नै भएको छ भनेर जवाफ दिए। पोखरेलले बोल्दा–बोल्दै नेपाललगायतका नेता उठेर आपत्ति जनाएपछि उनी अलमलमा परेका थिए।
दुई बुँदेको तरंग
नियमित कार्यसूची र छलफलमा केन्द्रित स्थायी समितिको बैठक नेकपा–राजपा दुई बुँदे सम्झौताले पनि तात्यो। पुस २ गते साँझ नेकपा र राजपाबीच राष्ट्रियसभाको चुनावमा तालमेल गर्ने र राष्ट्रिय महत्वका विषयमा सहकार्य गर्दै जाने सहमति भएको थियो। अर्को दिन स्थायी समितिको बैठकको सुरुमै महत्वपूर्ण बैठक चलेका बेला पार्टीभित्र छलफल नगरी राजपासँग किन रातारात सहमति भयो भनेर नेताहरुले दाहाललाई प्रश्न गरे। यस्तो प्रश्न गर्नेमा भीम रावल, रघुजी पन्त, अष्टलक्ष्मी शाक्यलगाएत थिए। रावलले त प्रश्नसँगै कविता नै वाचन गरे।
महिनाको एक मिनेट समय पाउँ
सकेसम्म दुई दिनमै बैठक सकाउने नेकपाको तयारी थियो। यसका लागि बैठकमा पेस भएका पाँच एजेन्डामा दस–दस मिनेट बोल्न दिने नेतृत्वको योजना थियो। तर, सदस्यहरुले एक बर्षपछि बसेको बैठकमा दस मिनेटमा धारणा राख्न अपुग हुने बताए।
महिनाको एक मिनेट दिए पनि १२ मिनेट त यसै हुन्छ, सदस्यहरुको भनाइ थियो। खुलेर कुरा राख्न पाउँ भन्ने माग भएपछि राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, केन्द्रीय समिति बैठक, नेपाल–भारत सीमा विवाद र विविध गरी पाँच एजेन्डामा सदस्यहरुलाई बोल्न बीस मिनेट समय दिने निर्णय भयो।
महासचिवलाई घण्टीको जिम्मा
हरेक सदस्यले बीस मिनेटको सयम पाएपछि त्यसको हिसाबकिताबको जिम्मा महासचिव विष्णु पौडललाई आयो। महासचिव पौडेलले हरेक २० मिनेटमा घण्टी बजाएर समय सकिएको सूचना दिन्थे। घण्टी बजेपछि सदस्यहले आफ्नो धारणा टुंगाउनु पर्दथ्यो।
धेरै नेता ढिला आएपछि दाहाल कड्कीए
पाँचौ दिनको बैठक ढिला गरी सुरु भयो। किनकी स्थायी समिति रोकेरबीचमै सचिवालय बैठक बसेको थियो। ढिला गरी सुरु भएको बैठकमा दश नेता गायब थिए। यद्यपि ती नेताहरु कहाँ छन् र कोसँग छलफल गरिरहेका छन् भन्ने सूचना अध्यक्ष दाहाल र महासचिव पौडेलसँग पुगिसकेको थियो। दस नेतामध्ये एकजनाले दाहाललाई सूचना दिएका थिए। ४५ सदस्यीय स्थायी समिति मध्ये एकै पटक दस जना नेता बैठक हलमा प्रवेश गरे। बैठकमा सहभागी अरु नेताले अचानक एक हूल नेता हलमा पसेको देखेर अचम्म माने। तर, अध्यक्ष दाहाल भने कड्किए। र ती नेताहरुलाई सिधै प्रश्न सोधे, ‘तपाईंहरु बैठकमा किन ढिला आउनुभयो? कहाँ जानुभएको थियो? मलाई जानकारी भएअनुसार राष्ट्रपति कहाँ जानुभएको थियो। यसबारे अध्यक्षलाई जानकारी दिनु पर्दथ्यो कि पर्दैनथ्यो? बैठक चलिरहेको छ, एकैपटक यति नेता जाँदा औपचारिक रुपमा नभनी हिँड्ने? यो के हो? यो विधिको कुरा हो कि हैन?’
दाहालले एकपछि अर्को प्रश्न तेर्साएपछि राष्ट्रपतिलाई भेट्न गएकामध्ये प्रदीप ज्ञवालीले ढिला भएकोमा र अध्यक्षलाई जानकारी नदिएकोमा माफी मागे। ज्ञवालीले माफी मागेपछि दाहालले नियमित कार्यसूचिमै बैठक अगाडि बढाउन खोजे।तर, अरु नेताले भने मानेनन्। ज्ञवाली बोलेलगत्तै भीम रावल, अष्टलक्ष्मी शाक्य, रघुजी पन्तलगाएतका नेताहरु बैठकमा कड्किए। ‘जे मन लाग्यो त्यही गर्न पाईन्छ राष्ट्रपतिले?’ रावलले प्रश्न तेर्साए। त्यतिबेला बैठकमा निकै हल्लाख्ल्ला भयो। र, पछि अध्यक्ष दाहालल नै हस्तक्षेप गरे र नियमित एजेण्डा तर्फ ध्यान केन्द्रित गराएका थिए।
बैठकको अन्तिम दिन रावलको ‘नोट अफ डिसेन्ट’

बैठकको अन्तिम दिन अर्थात आइतबार बैठक सुरु भएको केहीबेरमै रावलले मेरो ‘नोट अफ डिसेन्ट’ छ भनेर बोल्ने समय मागे। उनले ‘नोट अफ डिसेन्ट’ छ भन्दा अरु सदस्यले अचम्म मानेका थिए।रावलले समय मागेपछि उनलाई बोल्न दिइयो। र उनले १० बुँदे ‘नोट अफ डिसेन्ट’ पढेर सुनाए। त्यसपछि दाहाल बोले। ‘नोट अफ डिसेन्टमा सबै सहमत भएको र मतभेद नै नभएको कुरा पनि लेख्नु भएछ। त्यसलाई ‘नोट अफ डिसेन्ट’ भन्न मिलेन। दोस्रो, तपाईंहरुले उठाएका केही विषयमा छलफल गर्दैछौं। सचिवालयमा पनि कुरा गर्छौं। केन्द्रिय समिति बैठकसम्म पुग्दा तपाईंले उठाएका विषयमा कुनै पहलकदमी भएन भने छुट्टै कुरा। तर, अहिले चाहीँ किन नोट अफ डिसेन्ट भनेर राख्नु पर्‍यो?’ दाहालले रावललाई भने। त्यसपछि रावलले आफ्नो ‘नोट अफ डिसेन्ट’ लाई दस बुँदे सुझावको रुपमा अध्यक्ष दाहाललाई बुझाएका थिए। उनले राष्ट्रियता र १९५० को सन्धिलगाएतका विषय नोट अफ डिसेन्टमा लेखेका थिए।
घनश्यामको त्यो प्रश्न
बैठकको अन्तिम दिन बैठक चलिरहेको बेला मन्त्री घनश्याम भुसाल जुरुक्क उठे। र एउटा प्रश्न गरे। ‘केही पहिला नै सचिवालयवालयले गरेको निर्णय भइहाल्यो। बाँकी विषय केन्द्रीय कमिटीमा लैजाने भइहाल्यौं। स्थायी समितिको बैठकले एउटामात्रै निर्णय गर्‍यो, पार्टीको आइडी कार्ड छाप्ने र पार्टी सदस्यताको पत्र छाप्ने। यत्ति हैन त?’
भुसालले यो प्रश्न गर्दा बैठकमा अन्य नेताले अचम्म मानेका थिए।
भुसाललाई दाहालले जावाफ दिए, ‘यसरी बैठकलाई ‘मिनिमाइज’ गर्ने काम नगरौं न। हामी सबैले चाहेको कुरा अहिले नै पूरा हुँदैन। यो प्रस्थान विन्दु हो।’ दाहालले भुसाल र रावललाई जावाफ दिएपछि प्रतिवेदन पारित भएको थियो।
कुर्सी साना भए 

एक हप्ता चलेको बैठक हलमा रहेका कुर्सीमा पनि केही नेताहरुले आपत्ति जनाएका थिए। साना कुर्सी रहेको र दिउँसभरी बस्दा असहज भएको भन्दै कार्यालयका कर्मचारीलाई केही नेताहरुले गुनासो गरेका थिए। विद्यार्थी बस्ने जस्ता कुर्सीमा बस्न असहज भएको र स्वास्थयमा समस्या आएको भन्दै नेताहरुले ठुला कुर्सीको माग गरेका थिए। आगामि बैठकमा ठूला कुर्सी हुने आश्वासन ती नेताहरुले पाएका छन्। कान्तिपुर दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस