श्रीमानले फिलिपिनी महिलासँग विवाह गरेर घरजम गरेपछि ...

पत्रपत्रिकाबाट

मंगलबार, ०१ पुस २०७६, ०७ : ४२
श्रीमानले फिलिपिनी महिलासँग विवाह गरेर घरजम गरेपछि ...

काठमाडौँ। ‘मेरो श्रीमान् (सुप्ले राई) रोजगारीका लागि मलेसिया गएको १० वर्ष भो । दुई वर्षदेखि जिउँदो मरेको केही पत्तो छैन खोजिदिन प¥यो, म कहाँ जाउँ कसलाई भनौँ, यो भनिरहँदा सिन्धुलीकी सविता राईको गला अवरुद्ध मात्रै भएको थिएन, आँखाबाट बरबर आँसु बगिरहेको थियो ।

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी विपद् व्यवस्थापन विभाग र प्रवासी नेपाली समन्वय समितिले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले आफ्नो पीडा सुनाएकी हुन् । श्रीमान् सुप्ले मलेसियामा रहेकी फिलिपिन्स महिलासँग विवाह गरेर घरजम गरी बसेकाले सम्पर्कमा नआएको भन्ने सूचना श्रीमती सवितालाई थाहा छ तर कुन ठाउँमा के काम गर्छन् के कस्तो अवस्थामा छन् त्यो पनि थाहा छैन ।

तीन छोराछोरी र श्रीमतीलाई स्वदेशमा छोडेर उज्ज्वल भविष्यका लागि मलेसिया हानिएका सुप्ले एकाएक सम्पर्कविहीन भएपछि छोरोछोरीको लालनपालनको सम्पूर्ण जिम्मा अहिले सविताको थाप्लोमा छ । काठमाडौँको कोठा भाडा तिर्न नसकेर सडकमा आउनु पर्ने अवस्था आएको भन्दै सविताले भन्नुभयो, मेरो श्रीमान्लाई जसरी हुन्छ नेपाल झिकाइदिनुहोस् । वैदेशिक रोजगारीका क्रममा विदेश गएर बेपत्ता भएका घटना धेरै छन । अझ पछिल्लो समयमा युरोप अमेरिकाको सपना देखेर लाखौँ रकम खर्चेर भएका घटना र सङ्ख्या अझै डर लाग्दो छ तर यसको आधिकारिक तथ्याङ्क कुनै पनि सरकारी गैरसरकारी निकायसँग छैन । गोरखापत्रमा खबर छ ।