पुष्पलालले पाँच जनाबाट सुरु गरेको कम्युनिष्ट उकाली–ओराली छिचोल्दै एकीकृत : नेता नेपाल

सफल खबर संवाददाता

शुक्रबार, २७ मंसिर २०७६, १५ : ०८
पुष्पलालले पाँच जनाबाट सुरु गरेको कम्युनिष्ट उकाली–ओराली छिचोल्दै  एकीकृत : नेता नेपाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालका नाममा स्थापित पुष्पलाल स्मृति प्रतिष्ठानको २५ औँ साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।

कीर्तिपुर नगरपालिका– ४, चम्पादेवी स्मृति प्रतिष्ठानको केन्द्रीय कार्यालयमा आयोजित साधारणभामा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुका साथै प्रदेश तथा जिल्ला शाखाका प्रतिनिधिहरुको सहभागिता थियो ।

साधारण सभाको उद्घाटन गर्दै प्रतिष्ठानका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पुष्पलालले स्थापना गरेको नेपाल कम्युनिस्ट पार्टी अनेक उकाली–ओराली छिचोल्दै पुनः एकीकृत भएकाले यसको महत्व तथा जिम्मेवारी थप बढेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पुष्पलालले पाँच जनाबाट सुरु गरेको कम्युनिस्ट पार्टी आज लोकप्रिय र विश्वासिलो शक्तिका रुपमा विकास भएको छ । जनताको बढ्दो अपेक्षा र भरोषालाई पूरा गर्नका लागि सबै तहका सरकारहरुले पार्टीको घोषणापत्र अनुसार काम गर्नुपर्दछ ।

सरकार सञ्चालनसम्बन्धी विगतमा अनुभवहरुलाई ध्यानमा राख्दै परिवर्तनको अनुभूति गराउने गरी काम गर्न सक्दा हामी जनताका बीचमा लोकप्रिय भइरहन्छौँ ।’

गुट, टुटफुट र एकताका अनेक श्रृंखला भोग्दै नेपाल कम्युनिस्ट पार्टी आजको अवस्थामा आइपुगेकाले विगतबाट शिक्षा लिँदै र भविष्यका लागि आशावादी बन्दै अघि बढ्नुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, ‘जनताका आकांक्षा र परिवर्तनको सपनालाई सार्थक पार्नु नै हाम्रो यतिबेलाको प्रमुख कार्यभार हो । यो कार्यभार राम्ररी पूरा गर्न सक्दा मात्रै संस्थापक महासचिव पुष्पलालप्रति सच्चा श्रद्धाञ्जली ठहर्छ ।’

साधारणसभामा प्रतिष्ठानका महासचिव गंगालाल तुलाधारले हालसम्म भएका कामहरुको विवरण पेस गर्नुका साथै आगामी बर्षका लागि कार्यक्रमहरु प्रस्ताव गर्नुभएको थियो ।

प्रतिष्ठानले आगामी बर्ष संस्थापक महासचिव पुष्पलालको आधिकारिक जीवन प्रकाशन गर्ने, पार्टी स्थापनादेखि सबै महाधिवेशनहरुलाई समेत समेटेर ऐतिहासिक तस्वीर संग्रह प्रकाशन गर्ने, निर्माणाधीन पुस्तकालय भवनलाई पूर्णता दिने, रामेछापको भँगेरीमा पुष्पलालको पूर्ण कदको शालिक स्थापना गर्ने, कम्युनिस्ट आन्दोलनका दस्तावेजहरुको छैटौँ संग्रह प्रकाशन गर्ने, मुखपत्रका रुपमा नयाँ जनवाद प्रकाशन गर्ने जस्ता कार्यक्रम तय गरेको छ । 

प्रतिष्ठानका उपाध्यक्ष लोककृष्ण भट्टराईले स्वागत गरेको साधारणसभामा कोषाध्यक्ष मोहनबहादुर केसीले आर्थिक विवरण पेश गर्नुभएको थियो । साधारणसभामा प्रतिष्ठानको एक नम्बर प्रदेशका उपाध्यक्ष भवानी खापुङ, दुई नम्बर प्रदेशका अध्यक्ष रामकुमार भट्टराई, गण्डकी प्रदेशका अध्यक्ष तुलबहादुर गुरुङ, कर्णाली प्रदेशका अध्यक्ष चन्द्रबहादुर शाहीका साथै जिल्लाका प्रतिनिधहरुले धारणा राख्नुभएको थियो ।

प्रतिष्ठानका सचिव विष्णु रिजालका अनुसार, तीन बर्षमा नेतृत्व चयन हुने प्रतिष्ठानमा साधारणसभा चाहिँ हरेक बर्ष हुने गर्दछ । ०५१ सालमा स्थापित प्रतिष्ठानमा अहिले २३ सदस्यीय कार्य समिति छ । 
 

प्रतिक्रिया दिनुहोस