मुस्ताङ । चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ । बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ । चिसोका कारण उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङका खोला र धारामा पानी जमेको स्थानीय तिलक विकले बताए ।
उनका अनुसार उपल्लो मुस्ताङमा न्यूनतम तापक्रम माइनल १५ डिग्री सेल्सियस पुगेको छ । खाना पकाउन, गाईवस्तुलाई खुवाउन, सरसफाइ र घरायसी प्रयोजनका लागि आगो र ग्यासमा पानी तताउन थालिएको छ । पानी जमेर धारामा आउन छाडेको छ । यसैगरी सदरमुकाम जोमसोम नजिकै घरपझोङ गाउँपालिका–५ मा रहेको धुम्बा तालमा पनि पानी जमेको छ ।
तालमा पानी जमेको हेर्ने पर्यटकको चहलपहल बढेको वडाध्यक्ष वीरेन्द्र थकालीले बताए । बिहीबार रातिदेखि हिउँ पर्न थालेको छ । स्थानीयवासी चिसोका कारण घरबाहिरको काम गर्न सकेका छैनन् । गाईवस्तु गोठमै राखेर भण्डारण गरिएको सुख्खा घाँस खुवाइएको छ । जोमसोम–कोरला सडकलगायत विकास आयोजना चिसोले प्रभावित भएका छन् । उपकरण र मजदूरले काम गर्न सकेका छैनन् । जाडो छल्न लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका अधिकांश बासिन्दा पोखरा, काठमाडौँ, म्याग्दी, बुटवल, चितवनलगायत ठाउँमा गएका छन् । गाउँमा घर कुरुवा राखेर स्थानीयवासी न्यानो ठाउँमा गएका छन् ।
उनीहरु गर्मी बढेपछि फागुनमा मात्र घर फर्कने जनाइएको छ । स्थानीय तह, वडा र सरकारी कार्यालयका कर्मचारी, जनप्रतिनिधि पनि अधिकांश पोखरा गएका छन् । लोघेकर दामोदरकुण्ड गाउँपालिकाका कर्मचारीले पोखरामा सम्पर्क कार्यालय राखेर सेवा दिएका छन् । उपल्लो मुस्ताङका विद्यालयहरु पनि पोखरामा घुम्ती कक्षा सञ्चालन गरिएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
एघार महिनामा सात लाख पर्यटक मुस्ताङ पुगे
दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
मुस्ताङका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति
निर्वाचन तयारीबारे जानकारी लिन प्रधानमन्त्री कार्की मुस्ताङ भ्रमणमा
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प