यातनाविरुद्ध खुल्न थाले महिला

पत्रपत्रिकाबाट

सोमबार, १६ मंसिर २०७६, ०७ : ३६
यातनाविरुद्ध खुल्न थाले महिला

काठमाडौं ।  उच्च शिक्षाका लागि काठमाडौं आएका सुदूरपश्चिमका युवक आफ्नै कक्षाकी युवतीसँग नजिकिए  । युवतीले पनि मन पराउन थालिन्  । उनीहरूबीच प्रेमसम्बन्ध झाँगिँदै गयो, विवाह गर्ने प्रतिबद्धता गरे । त्यसपछि सँगै (लिभिङ टुगेदर) बस्न थाले । यसबीच युवती पटक–पटक गर्भवती हुने र गर्भपतन गर्ने क्रम चलिरह्यो ।

‘लिभिङ टुगेदर’ मा बसेको ८ वर्षपछि खटपट सुरु भयो । युवकले बिस्तारै बेवास्ता गर्न थाले । युवतीले बिहेको कुरा झिक्दा छाड्ने धम्की दिन थाले । मनमुटाव बढ्दै गएपछि युवती ‘डिप्रेसन’ मा परिन् । युवक अर्कै केटीसँग सम्बन्धमा रहेको थाहा पाएपछि उनले विष सेवन गरिन् तर युवकले अस्पताल पुर्‍याएर बचाए । त्यस घटनापछि केही दिन सम्बन्ध सुमधुर बने पनि फेरि उस्तै व्यवहार दोहोरियो ।

युवकले पटक–पटक धम्क्याएर आफूलाई छाड्न दबाब दिन थालेपछि युवतीले महिला आयोगमा उजुरी दिइन् । ‘म उसैको कारण शारीरिक, मानसिक रूपमा कमजोर भइसकेको थिएँ, परिवार र आफन्तले थाहा पाए भने बेइज्जत हुन्छ भन्ने डर थियो,’ उनले आयोगकी एक कर्मचारीलाई भनेकी थिइन्, ‘आत्महत्या गर्न खोज्दा बचायो, फेरि उसैले छाड्न बाध्य गराएपछि यहाँ आइपुगें ।’

आयोगले युवकलाई बोलाएर कुराकानी गर्‍यो । उसले गल्ती स्विकार्‍यो पनि । युवतीलाई आयोगका मनोसामाजिक परामर्शकर्ताले निरन्तर ६ महिनासम्म परामर्श दिइरहे । भविष्यमाथि खेलबाड गर्ने केटालाई हदैसम्मको कारबाही माग गर्दै आयोग पुगेकी युवतीमा आत्मबल बढ्दै गयो । ‘मलाई छाड्यो भनेर जिन्दगीबाट हार खाइसकेकी उनी मनोपरामर्शपछि किन ज्यान फाल्ने भन्न सक्ने भइन्,’ आयोगकी एक मनोपरामर्शकर्ताले भनिन्, ‘मानसिक रूपमा एकदमै कमजोर अवस्थामा पुगेकी उनमा मनोबल बढेपछि युवकले इर्ष्या गरेको थियो ।’

आयोगमा पछिल्लो समय मानसिक यातनाविरुद्ध उजुरी गर्ने बढेका छन् । पछिल्ला २० महिनामा २ हजार २ सय ५२ उजुरी परेका छन् । ‘पहिले पीडित भौतिक आक्रमण गरेर क्षतविक्षत अवस्थामा पुगेपछि न्याय चाहियो भन्दै आउँथे, पछिल्लो समय खान, लगाउन, बस्न दिए पनि पतिले आफूसँग राम्ररी नबोलेर मानसिक समस्या भएको भन्दै समेत उजुरी गर्न आउँछन्,’ आयोगमा हेल्पलाइन कार्यक्रम व्यवस्थापक पलिता थापाले बताइन् । बहुप्रकृतिका हिंसाले गर्दा पीडितहरू मानसिक रूपमा कमजोर बन्ने गरेका छन् । त्यसमध्ये धेरै घरेलु हिंसाबाट पीडित हुनेहरू मानसिक रूपमा समस्याग्रस्त हुने गरेको आयोगकी अर्की मनोसामाजिक परामर्शकर्ता पार्वती सुवेदीले बताइन् ।

मानसिक, आर्थिक, शारीरिक र यौनहिंसा गरेर पीडकले पीडितलाई मानसिक यातना दिने गरेका छन् । मानसिक यातनाका केसहरू सबैभन्दा बढी घरेलु हिंसासँग जोडिने गरेका छन् । मानसिक यातनाका २ हजार २ सय ५२ उजुरीमध्ये ८६ प्रतिशत अर्थात् १ हजार ९ सय ३६ उजुरी घरेलु हिंसाका छन् । आयोगमा आउने उजुरी सबैभन्दा बढी महिला हिंसाविरुद्धका छन् । बितेको २० महिनामा आयोगमा परेका ८ हजार १ सय १० केसमध्ये ९८ प्रतिशत पीडित महिला थिए ।

सामाजिक सन्जालको बढ्दो दुरुपयोगले समेत मानसिक यातनाको सिकार हुनेहरू बढ्दै गएका छन् । जस्तो, एक जोडी प्रेमसम्बन्धमा थिए । प्रेमी वैदेशिक रोजगारीमा गए । बेला–बेला प्रेमिकालाई पैसा पठाइदिन्थे । केही वर्षपछि प्रेमीले प्रेमिकाविरुद्ध नकारात्मक व्यवहार देखाए । सुरुमा उनले केटीपट्टिका परिवार, आफन्त र चिनेका साथीभाइलाई फेसबुकमा साथी बनाए । त्यसपछि केटीले पैसा खाइदिएको भन्दै गालीगलौज गरेर फेसबुकमा लाइभ गरिदिए । केटीलाई चिनेजानेका सबैले उल्टै गाली गर्न थाले । फेसबुक लाइभको स्पष्टीकरण कति जनालाई दिने ? साध्य नभएपछि प्रेमिका महिला आयोग पुगिन् ।

मानसिक यातनाविरुद्धको उजुरी गर्ने चेतना बढ्दै गए पनि केस व्यवस्थापन गर्न आयोगलाई समस्या छ । आयोगमा दुई जनामात्र मनोसामाजिक परामर्शकर्ता छन् । उनीहरूले दैनिक एक सय बढी सेवाग्राहीलाई परामर्श दिनुपर्छ । मानसिक यातनाका पीडितहरू अधिकांशले आत्महत्या प्रयास गरेका हुन्छन् । जोखिम अवस्थाका पीडितहरूलाई ‘मेन्टल रिह्याब सेन्टर’ मा राखेर परामर्श तथा उपचार गर्नुपर्ने हुन्छ ।

आयोगमा यो व्यवस्था छैन । परामर्शकर्ता सुवेदी भन्छिन्, ‘विभिन्न संघसंस्थाले पुनःस्थापना केन्द्रहरू चलाइरहेको भए पनि मानसिक समस्यासँगै सम्बन्धित छैनन् ।’ उनकै भनाइमा ‘हाई रिस्क’ मा रहेका पीडितहरूलाई घरमा ख्याल गरिदिने मान्छे नभए आयोगले परामर्श दिँदादिँदै पनि कुनै न कुनै बेला दुर्घटना निम्तिने सम्भावना हुन्छ ।

हेल्पलाइनले सजिलो
बूढानीलकण्ठकी एक युवतीलाई पतिले पटक–पटक शारीरिक यातना दिए । एक रात कुटपिट गर्न थालेपछि युवतीले काकालाई फोन गरेर जानकारी दिइन् । त्यसपछि युवतीको फोनै लागेन । काकाले महिला आयोगको हेल्पलाइन नं. ११४५ मा जानकारी गराए । आयोगले बूढानीलकण्ठस्थित प्रहरीलाई खबर गरी युवतीको उद्धार गरे ।

गत चैत अन्तिम साता धनगढीबाट एक महिलाले ‘ज्यान जोगाइपाऊँ’ भन्दै मध्यरातमा आयोगको हेल्पलाइनमा फोन गरिन् । उनलाई अबेर राति रक्सी पिएर आएका पतिले कुटपिट गर्न थालेपछि भागेर साथीको घर पुगेकी थिइन् । उनले फोन गर्नेबित्तिकै आयोगले स्थानीय प्रहरीलाई खबर गर्‍यो । प्रहरीले घटनास्थल पुगेर महिलाकी पतिलाई सम्झाइबुझाइ गरी सहजीकरण गराए ।

महिला आयोगमा रहेको सम्बोधन परियोजनाको हेल्पलाइनबाट सेवा लिनेको संख्या बढेको छ भने हेल्पलाइन सेवाले सेवाग्राहीलाई पनि सजिलो भएको छ । सन् २०१७ नोभेम्बरदेखि सुरु भएको हेल्पलाइन सेवा ७७ वटै जिल्लाका सेवाग्राहीले उपयोग गरेका छन् । आयोगको तथ्यांकअनुसार सन् २०१८ यता १८ महिनाको अवधिमा २ हजार २६ जनाले हेल्पलाइनमार्फत आयोगमा उजुरी गरेर सेवा लिएका छन् । त्यसअघिका सेवाग्राही ४ सय २० जना मात्रै थिए । कान्तिपुर दैनिकमा खबर छ ।

सन् २०१८ देखि हेल्पलाइन सेवा देशैभर खुला गरिएपछि सेवाग्राही बढेका छन् । हेल्पलाइन सेवाले मानसिक रूपमा पीडितलाई फोनबाटै परामर्श दिन सहज भएको मनोसामाजिक परामर्शकर्ताहरूले बताए । सुवेदी भन्छिन्, ‘परिवार/गाउँलेले हेल्पलाइनमार्फत जानकारी दिएकै आधारमा आत्महत्या गर्न जंगल पुगेकाहरूलाई पनि सम्झाइबुझाइ गरेर बचाएका छौं ।’कान्तिपुर दैनिकमा खबर छ ।