खानेपानी मन्त्री बिना मगरद्वारा मतदान

सफल खबर संवाददाता

शनिबार, १४ मंसिर २०७६, १३ : ४५
खानेपानी मन्त्री बिना मगरद्वारा मतदान

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ मा शनिबार भइरहेको उपनिर्वाचनमा नेपाल सरकारका खानेपानी मन्त्री बिना मगरले पनि मतदान गर्नुभएको छ । मन्त्री मगरले गोरखा माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा पुगेर बिहान करीब साढे ९ बजेको समयमा मतदान गर्नुभएको उहाँका प्रमुख स्वकीय सचिव प्रकाश मगरले जानकारी दिनुभयो ।

बिहान ७ बजेर २७ मिनेट देखि शुरु भएको मतदान कार्यक्रममा जिल्ला विकास समितिका पूर्व सदस्य क्षेत्र लामाले पहिलो मतदान गर्नुभएको थियो । उपनिर्वाचनको सुरक्षाका लागि करीब तीन सय सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ ।

जम्मा एक हजार १ सय ९९ जना मतदाता रहेको वडामा पुरुष ५५९ र महिला मतदाता ६४० रहेका छन् । दुई मतदान केन्द्र निर्धारण गरिएको उक्त मतदान स्थलमा क मतदान केन्द्रमा ६१६ र ख मतदान केन्द्रमा ५८३ मतदाताले मतदान गर्ने गरी केन्द्र निर्धारण गरिएको मुख्य निर्वाचन अधिकृत गोपाल प्रसाद बास्तोलाले जानकारी दिनुभयो ।

वि.संं. २०७४ सालको असारमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट सो वडामा निर्वाचित वडाध्यक्ष फैरू तामाङ जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा नियुक्त भएपछि उक्त वडाको अध्यक्ष पद रिक्त रहेको थियो । उक्त पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कृष्ण बहादुर तामाङ, नेपाली कांग्रेसका दीप बहादुर तामाङ, समाजवादी पार्टीका भीम तामाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका पदम शाही उम्मेदवार रहनुभएको छ ।