अर्घाखाँची बस दुर्घटनामा १९ जनाको मृत्यु, ११ जनाको सनाखत

सफल खबर संवाददाता

विहीबार, १२ मंसिर २०७६, ०९ : ५४
अर्घाखाँची बस दुर्घटनामा १९ जनाको मृत्यु, ११ जनाको सनाखत

बुटवल । अर्घाखाँची जिल्लाको सन्धीखर्क नगरपालिका  ६ नरपानी रातामाटामा बुधबार सांझ बस दुर्घटना परी मृत्यु भएका १९ जना मध्ये ११ जनाको सनाखत भएको छ । सोही दुर्घटनामा एकै परिवारका दुई जनाको मृत्यु समेत भएको छ । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलका अनुसार सदरमुकामवाट गोरीसिगे आउँदै गरेको बसमा १९ जनाको मृत्यु १७ जना घाइते भएका छन् । दुर्घटनामा ७ जना गम्भीर घाइते  छन् । । दुर्घटनामा १७ जनाको दुर्घटनास्थलमै मृत्यु भएको थियो अन्य दुइजनाको उपचारको क्रममा निधन भएको थियो । मृतक ११ जनाको सनाखत भएको छ। 

मृत्यु हुनेमा अर्घाखाँची सन्धिखर्क ७ डिहिडाँडा कालीचौरका १८ वर्षीया माया पुरी, सोही ठाँउका १० वर्षीया मोनिका खड्का, शितगंगा २ सितापुर झिर्रा घर भई हाल कपिलवस्तुको चप्परगाँउ बस्ने गाढी धनी ३७ वर्षीय शन्त बहादुर बस्नेत, शितगंगा–२ सितापुर झिर्रा बस्ने उनको भाई बुहारी २७ वर्षीया सिता बस्नेत , कपिलवस्तु बुद्धभुमी बाँसगढीका बस चालक  ३६ वर्षीय ओमबहादुर थापा क्षेत्री, अर्घाखाँची सन्धिखर्क ७ डिहीडाँडाका ५६ वर्षीय शिवलाल भट्टराई, सोही ठाँउका ५४ वर्षीय बलाराम भट्टराई, भुमिकास्थान नगरपालीका ९ का २७ वर्षीय शैलेस थापा , सन्धिखर्क १० का छबिलाल गैरे, गुल्मी धुर्कोट २ घर भई हाल रुपन्देहीमा कार्यरत शसस्त्र प्रहरी जवान राजकुमार महत र एक छ महिनाका बालक रहेका छन्। अन्य ८ जना मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । अन्य घाईतेहरुको बुटवल र भैरहवाका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ । 

लु २ ख २१४८ नम्बरको बस सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटनाग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । प्रहरीका अनुसार प्रारम्भीक अनुसन्धानले दुर्घटनाको कारण एक्कासी जोडले ब्रेक थिच्दा बस अनियन्त्रीत भई सडक तल खसेको हो ।